• होमपेज
  • विचार/ब्लग
  • सपना देख्नु नराम्रो होइन, तर…

सपना देख्नु नराम्रो होइन, तर…

  • बुधबार, साउन ९, २०७५
सपना देख्नु नराम्रो होइन, तर…

निर्भीकजंग रायमाझी । सपना निदाएको अवस्थामा मात्र देखिँदैन, जागृत अवस्थामा पनि देखिन्छ । यद्यपि निदाएको अवस्थामा देखिने सपना र अन्य अवस्थामा देखिने सपनाबीच धेरै भिन्नता हुने गर्दछ । निदाएको बखत देखिने सपनामा सोच्दै नसोचेका क्षणहरू वा घटना आइपर्न सक्छन् तर, जागृत अवस्थामा देखिने सपनामा भने त्यसो हुँदैन । यसमा त आफ्ना सीमाहरूको ख्याल राखेर योजनासहितको रेखाचित्र देखिन्छ ।

अहिले नेपाली राजनीतिमा देखिएको खैलाबैला पनि यही सपना देख्न हुने र नहुने, कस्तो देख्ने र किन देख्ने भन्नेकै सेरोफेरोमा घुमिरहेको छ । वास्तवमा सपना भनेको त अनायास देखिन सक्ने कुरा न हो । म सपना नै देख्छु भनेर सुत्यो भने सपना नदेखिन सक्छ तर, केही न केही कुरा एकचित्त भई कल्पना गरेर सुत्यो भने सपना देखिने सम्भावना रहन्छ ।

अझ पूर्वीय धर्मसंस्कृति तथा मनोविज्ञान दुवैले सपनाको प्रभाव मानव जीवनमा सहजै पर्ने कुरा उल्लेख गरेका छन् । वर्तमान प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीलाई विगत केही वर्षयता लागेको आरोप सपनाको नै हो । अर्थात् उनी जे विषयमा पनि सपना खडा गरिहाल्छन् । तीव्र महत्त्वकांक्षा दर्शाइहाल्छन् ।

नेपालको संविधान घोषणापछि २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा ओलीले तत्कालीन भारतीय नाकाबन्दीका विरुद्धमा जे कदम चाले त्यसले उनलाई लोकप्रिय पनि बनायो । त्यसैबेलादेखि उनले ‘समृद्धि’ नामक शब्दलाई आफ्नो भाषणहरूमा प्राथमिकतामा राख्न थाले ।

देशको अबको आधार भनेकै समृद्धिको आधार भएको बताउँदै आएका उनले बिस्तारै पानीजहाज र रेलको कुरा पनि उठाउन थाले । यो क्रम २०७४ सालमा भएको आम निर्वाचनसम्म आइपुग्दा यति उत्कर्षमा पुग्यो कि अध्यक्ष ओली आफैँलाई यसको भार सहन गर्न गाह्रो पर्यो ।

हरेकपटक रेल र पानीजहाजको कुरा गरिरहँदा देशको विभिन्न भूभागमा बाढी र पानीले क्षति पुर्याइरहेको छ । स–साना समस्याहरू नै निराकरण गर्न नसकिरहेको यस सरकारले पानीजहाज र रेलको कुरा गरिरहनुले आम नागरिकलाई झर्को लाग्नु स्वभाविक नै हो ।

जलस्रोतको भर्सेज पानीजहाज
राजनीतिक नाराहरूमा नेपालको विकासका लागि अनेक अवधारणाहरू अघि सारिएका छन् । ती अवधारणा सामान्य नेपालीले पनि बुझेका विषय हुन् । तर, त्यस अवधारणाहरूमा ठोस काम भने पटक्कै हुने गर्दैनन् । यस्तैमा परेको विषय हो– जलस्रोत ।

जलस्रोतको विकास गर्ने र देशलाई समृद्ध बनाउने सन्दर्भमा राजनीतिक नेतृत्वदेखि विद्वत्वर्ग समेत सहमत छन् । तर, जलस्रोतको विकास कसरी र कसका लागि गर्ने भन्ने सवालमा मनोगत र निर्देशित आवाजहरूले निकै प्राथमिकता पाइरहेको छ ।

८३ हजार मेघावाट जलविद्युत उत्पादनको क्षमता भएको भनिएको नेपालको जलस्रोतको मात्रै विकास गर्न सके कम्तिमा दक्षिण एसियामा समृद्ध मुलुकको श्रेणीमा नेपालको स्थान निश्चित हुनेछ । तर अहिलेसम्म भएका गतिविधि, कार्यान्वयन भएका योजना र यसले बोकाएको भारी अनि जलविद्युत् उत्पादनमा भैरहेको नौटंकीले नेपालको जलविद्युतको क्षमता र स्रोतलाई नै व्यंग गरिरहेको छ ।

नेपालका कोसी, गण्डकी र कर्णाली नदीमा अन्तरदेशीय स्थलीय जलमार्ग सञ्चालनको सम्भावना छ । नेपालका ठूला नदी हुँदै गंगासम्म र गंगाबाट हल्दियासम्म जोडिने जलमार्गमा सामान ढुवानीका लागि प्रयोग हुने छ । भारतले हल्दियाबाट इलाहाबादसम्म गंगा नदीमा जलमार्ग निर्माण गरिरहेको छ ।

नेसनल वाटरवेज–१ नाम दिइएको सो जलमार्गको वाराणसीसम्मको खण्ड सन् २०१८ को अन्त्यसम्ममा सम्पन्न हुने लक्ष्य राखिएको छ । निर्माण सम्पन्न भएपछि वाराणसीसम्म १५ सयदेखि २ हजार टनसम्मका पानीजहाज आउन सक्ने बताइएको छ । तर, नेपालका नदीमा कुन आकारको जहाज आउन सक्छन् भन्ने कुराको प्रारम्भिक अध्ययनसमेत भएको छैन ।

जलस्रोतको उपयुक्त राष्ट्रिय नीति नै तयार हुन नसकेको अवस्थामा जलस्रोतको विकास गरी नेपालको पुनःसंरचना गर्ने कस्तो सपना बुनिएको हो अस्पष्ट छ । ऊर्जा संकट बढेपछि ऊर्जा संकटकाल घोषणा गरेर विद्युत उत्पादन गर्ने लक्ष्य राखिन्छ ।

तर निर्माण थालिएका आयोजनाहरूमा उत्पन्न समस्या समाधानतिर ध्यानै छैन । राजनीतिक प्रतिबद्धताको ठूलो अभाव छ । यस्तो अस्पष्ट स्थितमा एकोहोरोसँग जानीजहाजको कुरा मात्र गरिरहनुले सरकार महत्त्वपूर्ण सवालहरूबाट जनताको ध्यान अन्तै मोड्न तल्लीन रहेको संकेत स्पष्ट छ ।

यातायात भर्सेज रेल
सन् १९२४ को हिउँदमा कोलकत्ताको मार्टिन एन्ड कम्पनीले भारतीय सीमा क्षेत्रबाट नेपालको बीचको (अमलेखगन्ज) सम्म रेल्वेको सर्भे गरेको थियो । जसको निर्माण कार्य सन् १९२६ को मार्च महिनामा सुरु भएको थियो र नेपाल सरकारले रेल्वे १६ फेब्रअरी १९२७ खोलेको थियो ।

रेल्वेमा सातवटा स्टिम लोकोमोटिव इन्जिन बाह्रवटा कोच र ८२ वटा रेलको डब्बा (वैगन) रहेका थिए । यो संयुक्त अधिराज्य बेलायतको बेयर, मयूर र कम्पनीद्वारा निर्मित जलवाष्प सञ्चालित गैराट लोकोमोटिव इन्जिनबाट सञ्चालनमा ल्याइएको थियो ।

नेपाल सरकार रेल्वे सेवा भने सन् १९६५ सम्म सञ्चालनमा थियो । तर आधुनिक पूर्वपश्चिम राजमार्गको ट्«याक खुलेपछि त्यसको निर्माण कार्यले त्यो बन्द हुन पुग्यो । राजमार्ग निर्माण हुनुअघिसम्म, अमलेखगन्ज–रक्शौल रेल्वे सेवा राजधानी काठमाडौंबाट भारत जोड्ने एकमात्र मार्ग थियो ।

काठमाडौंबाट यात्रीहरू पहाडमा पैदल यात्रा गर्दै डाँडाकाँडा छिचोलेपछि गोरुगाडा चढेर अमलेखगन्ज पुगेपछि रेलमार्फत भारत जाने गर्थे । सन् १९५६ मा त्रिभुवन राजपथको निर्माण सम्पन्न भएपश्चात् भने काठमाडौंबाट अमलेखगन्जसम्मको पैदल यात्राको अन्त्य भयो । नेपाल परिवहन सेवा नामको एक निजी कम्पनीले १९५९ मा पहिलो दैनिक बस सेवा सुरु गरेको थियो ।

वास्तवमा यातायातका लागि विद्युतीय रेलबाट यात्रा गर्दा अटोमोबाइलभन्दा २० गुणा बढी उर्जा बचत र किफायती रहने गर्छ । तीव्र गतिका यस्ता यातायात साधनहरूले लामो दुरीको सडक वा हवाइ उडानलाई पनि प्रतिस्थापन गर्ने देखिन्छ । ठूलो मात्रामा कृषि सामग्री, कोइला, विविध समान तथा पार्ट पुर्जाहरू उत्पादन केन्द्रजस्तै खानी र कृषि क्षेत्रबाट बन्दरगाह र विमानस्थालमा ढुवानी गर्नुपर्दा रेल्वेमा बढी उर्जा किफायती हुन्छ । यसो भन्दैमा देशको सबैठाउँमा रेल नै हुनुपर्छ भन्ने पनि होइन ।

देशको भौगोलिक अवस्थिति, जनसंख्याको बनोट र प्राकृतिक सम्पदा आदिलाई मध्यनजर गरेर मात्र यातायातका पूर्वाधारहरू निर्माण गरिनुपर्छ । नभएका कुरामा रहर गरिरहनु हाम्रो बानी भएको छ । अनि केही चिज पाउन सकिएन भने पनि त्यसलाई सपनाको रूप दिने संस्कार हामीमा छ । आफूसँग जे छैन त्यही मात्र राम्रो र प्रिय लाग्ने यस किसिमको लहडी प्रवृत्तिले हामी स्वयंलाई एकदिन अवश्य धोका दिनेछ । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि