निर्भीकजंग रायमाझी । समयको गतिलाई रोक्न वा बढाउन सकिन्न । यो सर्वस्विकार्य कुरा हो । तर समयलाई विभिन्न स्थितिले नाप्न सकिन्छ यानकि वर्गीकरण गर्न सकिन्छ । यसलाई हामी कालखण्ड भनेर पनि भन्दछौँ । विभिन्न कालखण्डको समष्टी रूप नै समय भएकाले यसलाई अनमोल मानिएको हो ।
आजको समय के हो ? आजको समयको आवश्यकता के हो ? आजको समयको जटिलता केके हुन् भन्ने कुरालाई जब गम्भीरतापूर्वक लिइन्छ तब मात्र समयलाई ठीक ढङ्गले सम्बोधन गर्न सकिन्छ । अन्यथा समय उम्किसकेको हुन्छ । त्यसलाई भेट्टाउन त के नाप्न पनि नसकिने हुन्छ । हाम्रो देश नेपालले अहिले भोगिरहेको समस्याहरूको प्रमुख कारण नै समयलाई चिन्न नसक्नु हो । जब समयलाई चिन्न सकिन्छ तब मात्र त्यसलाई ठीकसँगले उपयोग गर्न सकिन्छ ।
यसर्थ दीगोे विकास आजको समयको प्रमुख आवश्यकता हो । दीगोे विकासलाई उपेक्षा गर्दा हामीले ठूलो संकट भोग्नुपर्ने निश्चित छ । यहाँनिर अर्को पनि प्रश्न टड्कारो भएर आउन सक्छ, दीगोे विकास नै किन ? किनकि वर्तमान विश्वमा जे भइरहेको छ र जसकारण हामी बाँचिरहेका छौँ, त्यसको रक्षा दीगोे विकासबाट मात्र सम्भव छ ।
दीगोे विकास भन्नाले लामो समयसम्म टिकाउ हुने, अस्तित्वमा रहने वा कायम रहने र खप्ने विकासलाई जनाउँछ । पयार्वरणीय सन्तुलनमा कुनै प्रतिकूल असर नगरी दीर्घकालसम्म फाइदा दिइरहने विकास दीगोे विकास हो ।
विश्वमा दीगोे विकासको अवधारणा सन् १९८० को दशकबाट आएको र त्यस समयमा विकास र वातावरण संरक्षणका कार्यलाई सँगसँगै लैजानुपर्छ, भन्ने मान्यताको विकास भएको पाइए तापनि ‘दीगोे विकास’ शब्दको सर्वप्रथम प्रयोग ब्रन्टल्यान्ड कमिसनको पुस्तक हाम्रो ‘साझा भविष्य’ मा सन् १९८७ मा भएको थियो ।
उक्त प्रतिवेदनमाथि सन् १९८९ मा संयुक्त राष्ट्र संघको साधारणसभामा बृहत् छलफल गरी सन् १९९२ मा रियो द जनेरियोमा वातावण र विकाससम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन गर्ने निधो गर्यो । उक्त रियो शिखर सम्मेलनले वातावरण र विकाससम्बन्धी रियो घोषणालाई सर्वसम्मतीले पारित गरेपछि को ‘साझा भविष्य’ नामक प्रतिवेदनले निश्चित आकार ग्रहण गरी दीगोे विकासको अब धारणालाई उक्त रियो सम्मेलनले नयाँ उचाइमा पुर्याएको हो ।
नेपाल सरकारले पनि दीगोे विकासको अवधारणालाई स्वीकार गर्दै आफ्नो नीति तथा कार्यक्रममा यसलाई समावेश गरेको छ । राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष एवं हालका अर्थमन्त्री डा. युवराज खतिवडाले वि.सं २०७२ सालमा एक कार्यक्रमबीच दीगोे विकासका लक्ष्यहरूको प्रतिवेदन सार्वजनिक गरेका थिए । जसअनुसार दीगोे विकास लक्ष्यका योजना सन् २०१६ बाट लागू भएर सन् २०३० मा समाप्त हुने बताइएको छ ।
यसअघि यस्तै प्रकृतिको सहस्राब्दी विकास लक्ष्य सन् २००० देखि २०१५ सम्म कार्यान्वयनमा ल्याइएको थियो । दीगोे विकासका मुख्य सत्रवटा लक्ष्यहरू रहेका छन् । ती हुन् ।
१. गरिबी ५ प्रतिशतमा झार्ने ।
२. भोकमारी अन्त्य गर्ने ।
३. सबैमा स्वास्थ्य जीवनको सुनिश्चिता ।
४. सबैका लागि समावेशी र गुणस्तरीय शिक्षा ।
५. लैंगिक समानाता हासिल गर्ने ।
६. खानेपानी र सरसफाईको सबैमा पहुँच ।
७. आधुनकि ऊर्जामा सर्वसाधारणको पहुँच ।
८. समावेशी, दीगोे र फराकिलो आर्थिक वृद्धि ।
९. बलियो पूर्वाधार, दीगोे औद्योगिकीकरण ।
१०.मुलुकभित्र र अन्य देशसँगको अससमान्ता हटाउने ।
११. मानवबस्तीलाई समावेशी, सुरक्षित र दीगोे बनाउने ।
१२. दीगोे उपभोग र उत्पादनको ढाँचा सुनिश्चित ।
१३. जलवायु परिवर्तन र यसका प्रभावबारे लड्न कार्ययोजना तय गर्ने ।
१४. सामुन्द्रिक स्रोतसाधानको संरक्षण गरी दीगोे प्रयोगमा जोड ।
१५. दीगोे पर्यावरणीय प्रणालीको प्रयोग ।
१६. दीगोे विकासका लागि शान्तिपूर्ण र समावेशी समाजको निर्माण तथा न्यायमा सबैको पहुँच ।
१७. दीगोे विकास कार्यान्वयन प्रणाली मजबुत बनाउने ।
यिनै सत्रवटा लक्ष्यहरूमा हाम्रो भविष्य अल्झिएको तथ्यलाई नकार्न सकिँदैन । र यो कुनै राष्ट्रविशेष वा भूगोलविशेषसँग मात्र सम्बन्धित छैन । यो त बराबरी मात्रामा संसारका सबै मानव अस्तित्व तथा प्राणी अस्तित्वसँग जोडिएको विषय हो ।
यसैकारण वातावरण संरक्षणका लागि दीगोे विकास सबैभन्दा महत्त्वपूर्ण मानिएको हो । र दीगोे विकासको ध्येय पनि पृथ्वीका स्रोत साधन नाश नगरी आर्थिक र सामाजिक विकास गर्नु हो । दीगोे विकास सम्पूर्ण जिवित मानिसहरूको कल्याणमा केन्द्रित हुन्छ । विकास निर्माणमा वातावरण प्रतिकूल कार्य गरिए विकासबाट आशा गरिएका लक्ष्यसम्म पुग्न कठिन हुन्छ ।
साथसाथै दीगोे विकासले भोलिको दिनमा पर्न सक्ने आर्थिक संकट वा मुद्रस्फितिको बेलामा पनि राहत दिन्छ । एकतर्फी रूपले गरेको कामले कहिले पनि फाइदा गर्दैन झन् विकासको काममा त अनेकौँ आयामहरूबाट त्यसलाई हेर्नुपर्ने हुन्छ ।
नेपालमा एकतर्फी भ्रमले धेरैलाई नराम्रोसँग गाँजेको छ । उनीहरूलाई के लाग्छ भने दीगोे विकासका लक्ष्यहरू पूरा गर्न ठूलाठूला प्रोजेक्टहरूको आवश्यकता पर्छ वा बजेटको आवश्यकता पर्छ ।
तर यसको ठीक विपरित दीगोे विकासका लक्ष्यहरू स्थानीय तवरबाट नै पूरा गर्न सकिने खालका छन् । यो त स्थानीय सोचले विश्वव्यापी रूपमा नयाँ परिणाम दिने अवधारणा हो । दीगोे विकासलाई नकार्न त सकिँदै सकिँदैन तथापि यसलाई लापर्बाहीसँगले प्रयोग गरियो भने पनि त्यसले अर्को असर निम्त्याउँछ ।
स्थानीय स्तरमा हुने विकास निर्माणका कार्य तथा शिक्षा स्वास्थ्य खानेपानी लगायतका परियोजनाहरूको समष्टी जोडबाट नै राष्ट्रिय आय बन्छ । यो आय अंकमा मात्र नभएर विकासको महसुस एवं परिवर्तनको द्योतक पनि हुन्छ । यसकारण हामीले स्थानीयस्तरमा विकासका स–साना कार्य गर्दा पनि दीगोे विकासको अवधारणालाई ख्याल गरेमा त्यसले विश्व परिदृश्यमा नै दीगोे विकासलाई सबल बनाइराखेको हुन्छ ।
अहिलेको पुस्ता जटिल समयमा फसिरहेको छ । विश्वभरी नै मानवीय एवं जैविक संकट छाइरहेको छ । यस्तो समयमा दीगोे विकास नै समाधान र साध्य बन्न सक्छ । अन्यथा विश्वभरी नै ठूलाठूला संकट आइपर्न सक्छ जसको प्रत्यक्ष असर नेपाललगायतका हिमाली देशलाई पर्छ ।
तसर्थ नेपाल सरकारले र नेपाली नागरिकले दीगोे विकासका अवधारणालाई पालना गरेर विश्वलाई नै आकर्षित गर्न सक्छौँ । जसले गर्दा हाम्रो भविष्यप्रतिको विश्वास पनि मजबूत हुँदै जान्छ र हामी वर्तमानमा रमाउन सक्छौँ । राजतिलक साप्तहिक