नेपालको बैकिङ इतिहास ५ दशकभन्दा लामो छैन । ५० वर्षको बीचमा आजसम्म २८ वाणिज्य बैंकहरूको जन्म भएको देखिन्छ । करिब २ वर्ष अगाडिदेखि वाणिज्य बैंकहरूमा चर्को तरलता अभाव देखिँदै आएको छ । अहिले वाणिज्य बैंकहरू बीच डिपोजिटमा १२ प्रतिशत ब्याजदरको होडबाजी सुरु भएको छ ।
केही महिना अगाडि ११ प्रतिशतभन्दा बढी ब्याज नदिने बैंकर्सबीच सहमती भए पनि केही दिन अगाडि यो सहमती तोडिएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाको दादागिरी धेरै समय टिक्न सकेन ।
विवादास्पद बैंकर्स संघका अध्यक्ष ढुंगानाकै कारण एनआइसी एशिया बैंकका सीइओ लक्ष्मण रिसालले राजीनामा दिए ब्याजदर ११ प्रतिशत राख्ने निर्णयकै कारण तर, फेरि ब्याजदर बजारले निर्णय गर्ने भन्दै ११ प्रतिशतको ब्याजदर कायम गर्ने निर्णय बैकर्स संघले खारेज गरेको छ । यो निर्णय लगत्तै एनआइसी एशिया बैंक र सेञ्चुरी बैंक लिमिटेडले १२ प्रतिशत ब्याजदरको नयाँ प्रोडक्ट बजारमा ल्याएका छन् ।
अरू बैंकहरूले पनि १२÷१३ प्रतिशतका डिपोजिट प्रोडक्ट ल्याउने तयारीमा रहेको देखिन्छ । २८ वाणिज्य बैंकका सीइओहरू बीच नै ब्याजदरमा विवाद भएपछि नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना पछि हटेका हुन् । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेना, नेपाल टेलिकमको अर्बभन्दा बढीका डिपोजिट ल्याउने होडबाजीमा बैंकहरू बीच चर्को विवाद ब्याजदरमा भएपछि ११ प्रतिशतको ढुंगानाको एकाधिकारको अन्त्य भएको एक सीइओले बताए । नेपालका आधा दर्जन वाणिज्य बैंकहरूले अझै ८ अर्ब पूँजी पु¥याएका छैनन् ।
हिमालयन बैंक, सिभिल बैंक, एनएमएबी बैंक, एनसीसी बैंक, बैंक अफ काठमाण्डु, एनबी बैंकको ८ अर्ब चुक्ता पूँजी अझै पुगेको छैन । बजारमा चर्को तरलता अभाव र कर्जाको उठ्ने ब्याजदर समयमै नउठेका कारण बैंकहरू अहिले थलापरेको बैंकर किशोर महर्जनले बताए ।
उनले थपे, ‘केही वर्षदेखि बैंक र वित्तीय बजारमा चर्को तरलता अभाव देखियो । दुवैतर्फ ब्याज बढ्न थाले । कर्जाको ब्याज बढ्न थाले । कर्जाको ब्याज बढेपछि समयमै रकम बैंकमा आएन । यसैवेला पूँजी वृद्धि भएन । फेरि यसैवेला पूँजी वृद्धिको नाममा हकप्रद शेयरको बाढी नै आयो । यी र यस्ता कारणले वाणिज्य बैंक थला परेका हुन् । अरू कारण छैन ।’
ब्याजदरको असरले वित्तीय बजारमा कस्तो असर पर्ला भनी सोधिएको प्रश्नमा उनले भने, ‘१२÷१३ प्रतिशतमा तानेर चोरबाटो प्रयोग गरी ल्याएको पैसा १५÷१६ प्रतिशतमा लगानी गर्नुपर्ने बाध्यता बैंकहरूमा छ, यो राम्रो संकेत होइन । यसले बैंकिङ इतिहास नै तहसनहस गर्न पनि सक्दछ नि !’ नेपाली वित्तीय बजारमा आएको ब्याजदर होडबाजीले देशको अर्थतन्त्रमा समेत असर पर्ने भएकाले राज्यले समयमै सचेतता बन्नु पर्ने अवस्था देखिन्छ ।
यो समाचार तयार बनाउँदासम्म आधा दर्जन वाणिज्य बैंकले १२ र १२.२२ प्रतिशतका प्रोडक्ट बजारमा ल्याएर लुटको होडबाजी सुरु गरेका छन् । निरीह राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपाल टुलुटुलु हेरी बसेका छन् । हेरौं कसले कस्तो प्रोडक्ट ल्याए त !
एनआइसी एशिया बैंकको मुद्दतिमा १२ प्रतिशत व्याज
सहमति खारेज भएको दिन नै एनआइसी एशिया बैंकले मासिक रूपमा ब्याज दिने गरी १२ प्रतिशत वार्षिक व्याजदर भएको धनवर्षा मुद्दति निक्षेप योजना सार्वजनिक ग¥यो ।
सोमबारदेखि लागु भएको यस योजनाअन्तर्गत देशभर रहेका एनआइसी एसिया बैंकको कुनै पनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दति निक्षेप खाता खोल्न सकिने छ । साथै एक वर्षको अवधिका लागि खोल्न सकिने यस मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशतसम्म कर्जा सुविधा समेत उपलब्ध गराउन सकिने छ ।
यसअघि पनि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च ब्याजदर सहितको धनवर्षा मुद्दति निक्षेप योजना ग्राहकहरूमाझ अत्यन्त लोकप्रिय भएको थियो ।
निजी क्षेत्रका बैंकहरूमध्ये २०७४ साल चैत्र मसान्तसम्मको वित्तीय विवरण बमोजिम सबैभन्दा बढी निक्षेप संकलन गर्न सफल तथा कर्जा प्रवाहको हिसाबले निजी क्षेत्रको बैंकहरूमध्ये दोश्रो ठूलो बैंकको रूपमा स्थापित भइसकेको बैंकले धनवर्षा मुद्दति निक्षेप योजनाप्रति ग्राहकहरूकोे आकर्षण र लोकप्रियताबाट उत्साहित भएर पुनः यो योजना ल्याएको जनाएको छ । यसपटक पनि यस योजनाबाट बढीभन्दा बढी व्यक्तिगत एवम् संस्थागत ग्राहकहरूले लाभ उठाउने विश्वास बैंकले लिएको छ ।
सिभिलको मुद्दतिमा १४ प्रतिशत र बचतमा १० प्रतिशत
एनआइसी एशिया बैंकलाई पनि उछिन्दै सिभिल बैंक लिमिटेडले सोमबारदेखि नै लागु हुने गरी ब्याजदर बढायो । बैंकले मुद्दतिमा मात्र नभएर बचत खातामा समेत ब्याजदर बढाएको छ ।
सिभिलले बचतकर्तालाई उच्च प्रतिफल दिने भन्दै २२२ दिने मुद्दति खातामा १२.२२ प्रतिशत र चन्द्रसूर्य बचत खातामा १० प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बचत खातामा न्यूनतम १० हजार र मुद्दति बचतमा तीन लाख रुपैयाँ मौज्दात हुनुपर्ने छ ।
बैंकले साधारण बचत खातामा १० प्रतिशत वार्षिक ब्याजदरका अतिरिक्त निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एसएमएस र मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा शतप्रतिशत छुट तथा पाँच लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु र अपाङ्गताको निःशुल्क बीमा ग्राहकहरूकै घरदैलोमा सेवा प्रदान गर्ने जनाएको छ ।
सिभिल बैंकले आफ्ना ग्राहकहरूलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा तथा योजनाहरू प्रदान गर्दै जाने प्रतिबद्धता समेत जनाएको छ ।
प्राइम बैंकले पनि मुद्दतिमा १२ प्रतिशत पु¥यायो
ब्याजदर बढाउने प्रतिस्पर्धामा प्राइम कमर्सियल बैंक पनि मिसिएको छ । बैंकले मंगलबारदेखि लागु हुनेगरी एक वर्ष वा सोभन्दा बढी अवधिको मुद्दति निक्षेपमा वार्षिक १२ प्रतिशत ब्याजदर प्रदान गर्ने बताएको छ । यसका लागि न्यूनतम मौज्दात ५० हजार रुपैयाँदेखि मुद्दति खाता खोल्न सकिने बैंकले जनाएको छ ।
सेञ्चुरी बैंक पनि प्रतिस्पर्धामा
सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकलाई उच्च ब्याजदरसहितको मुद्दति निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले ३ महिनादेखि ६ महिनासम्मको मुद्दति खाताको लागि वार्षिक ब्याजदर १२ प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मको मुद्दति खाताको लागि वार्षिक ब्याजदर १२.५ प्रतिशत प्रदान गर्ने गरी दुई नयाँं योजना ल्याएको छ ।
नबिल, नेपाल इन्भेष्टमेन्ट, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकले १२÷१३ प्रतिशतमा डिपोजिट उठाउन थाले भने अरू बैंकमा चर्को तरलता अभाव हुने प्रस्टै छ । तर पनि राष्ट्र बैंक ‘चुँ’ पनि बोल्दैन । राजतिलक साप्ताहिक