• होमपेज
  • अन्तरवार्ता
  • आधुनिक बैंकिङ्गमा आईटी भित्र्याउने नेपालकै पहिलो बैंक सनराइज हो

आधुनिक बैंकिङ्गमा आईटी भित्र्याउने नेपालकै पहिलो बैंक सनराइज हो

  • शनिबार, फाल्गुन १२, २०७४
आधुनिक बैंकिङ्गमा आईटी भित्र्याउने नेपालकै पहिलो बैंक सनराइज हो

 

रत्नराज बज्राचार्य बैंकिङ इतिहासमा चिनाइराख्नु पर्ने नाम होइन । दर्जनौं बैंकमा उच्च पदमा रही कार्य सम्पादन गरेका बज्राचार्य खासै मिडियामा आउन चाहँदैनन् । सनराइज बैंक लिमिटेडका सिइओ रात्नराज बज्रचार्यसँग बैंकको वित्तीय अवस्था, पूँजी वृद्धिसँगै लगानीका चुनौती, बैंकिङ प्रणालीमा देखिएको तरलता अभावबारे गरिएको कुराकानीको महत्वपूर्ण केही अंशः सम्पादक ।

तपाईंको बैंकको वित्तीय अवस्था कस्तो छ ?
राम्रो छ । बैंकको पछिल्लो प्रगति हेर्दा हाल बैंकको निक्षेप रू ६३ अर्ब तथा कर्जा ५६ अर्बको हाराहारीमा रहिआएको छ भने चुक्ता पूँजी ८ अर्ब १५ करोडसहित पूँजी कोष करिब १० अर्बको छ नि !

बैंकको व्यवस्थापनमा मुनाफाभन्दा पनि सम्पत्ति दायित्वको सन्तुलन, जोखिम व्यवस्थापनलगायतमा बढी ध्यान दिनुपर्ने भएकाले बैंकले सोही कार्यहरू प्राथमिकताका साथ अगाडि बढाएको सत्य नै हो ।

बैंक र वित्तीय संस्थामा तरलता अभाव भएकै हो त ?
अहिलेको अवस्था तरलता अभावको अवस्था नै होइन । गत वर्षकै सरह नै यो ‘कर्जा दिन योग्य पूँजीको अभाव’ को स्थिति चाहिँ हो । नेपाल राष्ट्र बैंकको निर्देशानुसार बैंकहरूले सिसिडी रेसिओ ८० भन्दा मुनि नै कायम गरी कारोबार गरिआएको एवं आवश्यक मात्रामा लगानीयोग्य स्रोत (निक्षेप) मा सोचेअनुसार वृद्धि हुन नसकेको अवस्था चाहिँ हो ।

बैंकहरूले ८ प्रतिशतमा दिएको कर्जा १५ प्रतिशत पुगेको पनि छ नि ?
यो ब्याजदर बजारले निर्धारण गर्ने कुरा हो भूपेन्द्र जी । अर्को कुरा के छ भने मेरो विचारमा, यसरी बढ्दो कर्जाको माग आपूर्तिकै निमित्त बैंकहरूमा स्रोत व्यवस्थापनको अभाव रहिआएको छ ।

यस्तै, देशमा उचित मात्रामा औद्योगीकीकरणको अभावमा आयातमुखी अर्थतन्त्र भई बाँच्नुपर्ने परिवेशमा बैंकहरूको आर्थिक स्रोत बढी मात्रामा आयात भुक्तानी धान्न नै प्रयोग हुने गरेको छ । आयातलगायत अन्य तरिकाले उठाइएको राजश्व पुनः अर्थतन्त्रमा फर्किआउने मेकानिजम नै असफल भइरहेको स्थितिमा बैंकहरूको कारोबार नियमित हुन कठिनाई भइरहेको तथ्य हो ।

तरलता अभावको दीर्घकालीन समस्याको समाधानको विकल्प के हो त सिइओ साप् ?
यो स्वाभाविक प्रकृया हो । माथि भनिएझैं बैंकहरूको पहुँचमा व्यापक विस्तार हुँदै गएको (हालै बैंकहरूले बैंक नभएका ४०० भन्दा बढी गाउँपालिकाहरूमा समेत आफ्नो सेवा विस्तार गर्ने क्रियाकलाप तीव्र बनाएको) अवस्थामा बैंकप्रति स्थानीय तहबाट समेत कर्जाको निमित्त दबाब आउने गरेको छ । तर, अर्थतन्त्रमा स्रोतको व्यवस्थापन हुन कठिनाई भइरहेको अनुमानको आधारमा भविष्यप्रति आशावान् हुनसक्ने स्थिति छैन ।

यसको अतिरिक्त, हाल विद्युत्को आपूर्तिमा आएको सहजताले औद्योगिकीकरणमा आउने विस्तार, विद्युत् परियोजनाहरू निर्माण अवस्थामा जान थालेकाले बैंकहरूले प्रतिबद्धता व्यक्त गरेको स्रोत पनि जुटाउनुपर्ने समय आइरहेकाले थप स्रोतको व्यवस्थापन जटिल हुने सहज अनुमान गर्न सकिने अवस्था छ ।

राज्य कोषको ४०० खर्ब पैसा समयमै खर्च भए यस्तो तरलता अभाव हुँदै यो बुझ्नु जरुरी छ । यसले गर्दा निक्षेप दिने संस्थाले चलनचल्तीकै ब्याजदर पाउने हुन्छ भने म्याद पुगेको निक्षेप अन्यत्र जाने डर बैंकलाई नहुने भएपछि सिसिडी व्यवस्थापन अत्यन्त सहज हुन्छ । अन्यथा, एकैचोटि ५० करोडदेखि १ अर्बसम्मको निक्षेप बाहिर जाँदा बैंकहरूको सिसिडीले थेग्न सक्दैनन् । कतिपय अवस्थामा यस्तै घटना भएको कारण बैंकहरूको अवस्था नराम्रो हुन जाने देखिएको हो । जानीजानी बढी कर्जा लगानी गरेर होइन ।

पूँजी वृद्धिसँगै लगानीका चुनौती पनि देखिएका छन् नि सिइओ साप् ?
अहिलेसम्म बैंक पुगेका गाउँपालिकामा कार्यालय खोल्दा २०/५० लाखको कर्जा नै दिन आनाकानी गर्नुपर्ने अवस्थामा बैंकहरूको छवि नराम्रो हुने त छ नै, राज्यले खोजेको असरसमेत पूरा नहुने हुन्छ ।

अतः देशले आर्थिक विकासको निमित्त रोजेको लक्ष्य प्राप्तिमा निजी क्षेत्रको योगदान सुनिश्चित गर्नका निमित्त आवश्यक वित्तीय स्रोत कहाँबाट जुटाउन सकिन्छ भन्नेतर्फ पनि राज्यले सोच्नुपर्ने समय आएको छ । बैंकहरूले कर्जा दिएन भनी आक्षेप लगाउने, कर्जा दिँदा पनि तोकिएको सीमा नाघेर अनुशासनहीन कार्य गरे भन्ने मानसिकताले समस्या समाधान होला त ?

बैंक चलाउने तपार्इंका अबका मुख्य योजना चाहिँ के के छन् ?
आगामी ४ वर्षभित्र बैंकलाई प्रथम १० बैंकको स्तरसम्म पुर्याउने लक्ष्य रहेको छ । यस कार्यमा सफलता हासिल गर्न संलग्न सबै पक्षलाई उच्च प्राथमिकतामा राखी कामहरू भएका छन् । यो तथ्यलाई स्वीकार गर्दै सक्षम जनशक्ति तयार गर्दै आफ्नो लक्ष्यमा अगाडि बढ्न बैंक लागेको छ । शाखाहरूको उपस्थितिलाई थप मजबुत बनाउँदै जाने, सँगसँगै गाउँपालिकाहरू र अन्य स्थानमा शाखाहरू थप गर्ने कामहरू पनि तदारुकताका साथ अगाडि बढाएका छौं ।

सनराइज बैंकले ‘फिनाकल–१०’ जस्तो अत्याधुनिक बैंकिङ सफ्टवेयर अपनाउनेमा हामी नेपालकै पहिलो बैंक भएका छौं भन्दा गर्व लाग्छ । साथै बैंकलाई कर्पोरेट सुशासन र उचित प्रतिफल दिन मजबुत बनाउने मेरो सपना पूरा हुँदैआएको छ ।

Facebook Comments

सम्बन्धित समाचार