• होमपेज
  • समाचार
  • ठग गाडि बिक्रेताहरु फन्दामा

ठग गाडि बिक्रेताहरु फन्दामा

  • शनिबार, फाल्गुन ५, २०७४
ठग गाडि बिक्रेताहरु फन्दामा

 

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले ६ वटा गाडी बिक्रेताविरुद्ध मुद्दा प्रक्रिया अघि बढाएको छ । विभागले उपभोक्ता ठगी गरेको भन्दै ती कम्पनीहरूलाई हदैसम्म कारबाही हुनेगरी मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालय (काठमाडौं) लाई पत्राचार गरेको हो ।

अनुगमन गरिएका १२ कम्पनीमध्ये जिओ अटोमोबाइल्स, इष्टर्न एजेन्सी, एड्भान्स अटोमोबाइल्स, लक्ष्मी इन्टरकन्टिनेन्टल, आइएमई मोटर्स र कन्टिनेन्टल इन्टरप्राइजेजविरुद्ध मुद्दा प्रक्रिया अघि बढाएको विभागले जानकारी दिएको छ । विभागका महानिर्देशक कुमार दाहालका अनुसार, ती बिक्रेताहरूमा अधिक कैफियत पाइएकाले मुद्दा चलाउने निर्णय गरिएको हो । बाँकी ६ कम्पनीलाई थप अनुसन्धान गरी कारबाहीको प्रक्रिया अघि बढाइने उनले बताए ।

विभागले २० प्रतिशतभन्दा बढी मुनाफा लिने गाडीलाई मुद्दा प्रक्रिया अघि बढाएको छ । ‘हामीले सामान्यतया २० प्रतिशतभन्दा बढी शुल्क लिएका बिक्रेतालाई मुद्दा चलाउन प्रक्रिया अघि बढाएका छौं,’ उनले भने, ‘बाँकी कम्पनीहरूमाथि थप छानबिन आवश्यक छ, नत्र मुद्दा कमजोर बन्न सक्छ ।’

ग्राहकले दिएको उजुरीका आधारमा विभागले अनुगमन गर्दा १३ वटा गाडी बिक्रेताले अस्वाभाविक मूल्यमा गाडी बिक्री गरिरहेको फेला पारेको थियो । एमएडब्लु अर्थमुभर्स प्रालि, एमएडब्लु इन्टरप्राइजेज, ईस्टर्न एजेन्सी प्रालि, गो अटोमोबाइल्स प्रालि, पायोनियर मोटोकर्प प्रालि, कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज, स्याकार ट्रेडिङ कम्पनी प्रालि, सिप्रदी ट्रेडिङ प्रालि, युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालि, अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स, अग्नि इन्कर्पोरेटेड, एडभान्स अटोमोबाइल्स प्रालि र आइएमई मोटर्स प्रालिमा विभागले अनुगमन गरेको थियो ।

यीमध्ये चौधरी समूहको अरुण इन्टरकन्टिनेन्टल र अग्नि इन्कर्पोरेट प्रालिलाई कारबाहीका लागि विभागले यसअघि नै प्रहरीलाई सिफारिस गरेको थियो । जनतापोस्ट दैनिक

Facebook Comments

सम्बन्धित समाचार