२१ औं शताब्दीसँगै नेपालमा पनि बैंकिङ पहुँच बढेको छ । अधिकाशं जनता अहिले बैंकिङ पहुँच बाहिर रहेपनि नेपालको जनसख्याको करिब ४० प्रतिशत जनतासँग बैंक पुगेको तथ्य हामीसँग छ । सुरक्षित गर्न र छिटो छरितो रुपमा काम गर्न प्रविधिको प्रयोग गरिन्छ ।
नेपालमा पनि धेरै बैंकिङ प्रविधिहरु भित्रिएका छन् । तर बैंकिङ शिक्षाको कमीका कारण प्रविधिको प्रयोग गर्ने ग्राहकहरुको संख्या एकदमै कम छ । हिजोका दिनमा हामी एउटा सामान किन्न पसल पुग्दा समय बर्वाद हुने तथा आफूले चाहेको सामान जताततै नभेटिने जस्ता समस्या थिए । अहिले ठाउँठाउँमा सुपरमार्केटहरु खुलेका छन् । जसमा पैसा होइन कार्डको प्रयोग बढेको छ । यो नै प्रविधिको विकास हो ।
बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोगले समयको बचत गरेको छ, घरमै बसेर सम्पूर्ण बैंकिङ सेवा लिने अवसर प्रदान गरेको छ । त्यसैले, हामी नयाँ युगका युवाहरुले आधुनिक बैंकिङ प्रणालीलाई बुझ्न आवश्यक देखिन्छ । हिजो हामी बैंकको एउटा चेक साट्न घण्टौँसम्म लाईनमा बस्नुपर्ने अवस्था थियो ।
अहिले बैंकिङ प्रविधिका कारण हामी घरमै बसीबसी बैंकिङ कारोबार गर्न सक्छौँ । अहिले बैंकहरु प्रविधि लिएर जनतामा जानु पर्छ भन्ने उद्देश्यले गाउँगाउँमा पुगेका देखिन्छ ।
मुलुकमा अहिले अधिकांश खाद्यान्न बाहिरी मुलुकबाट आयात गरिन्छ । हाम्रो नेपाल कृषि प्रधान देश भएर पनि हामी कृषिजन्य सामान धेरैजसो बाहिरी मुलुकबाटै आयात गर्छौँ । अर्को कुरा हामी युवा वर्गहरुमा जोश, जाँगर र शक्ति छ । तर हामी जागिरलाई प्राथमिकतामा राखेर भौतारिरहेका छौं ।
अहिले कुनै ब्याचलर, मास्टर्स अध्ययन गरेका बिद्यार्थीलाई के गर्ने सोच छ भनेर सोध्ने हो भने बैंकमा जागिर खाने वा विदेश जाने सोच छ भन्ने उत्तर सहजै पाउन सकिन्छ । हामीले जागिरका बेफाइदाका बारेमा बुझ्न सकेका छैनौँ । ठूलो पदको जागिर पाउने हो भने राम्रै आम्दानी होला र केही गरिएला । नत्र, सानोतिनो जागीर खाएर सफल हुन सकिँदैन । त्यसका लागि स्वरोजगार बन्नुपर्छ ।
जागीर भनेको आफ्नै लागि मात्रै हो । हामीले कुनै व्यवसाय गर्यौँ भने हाम्रो परिवार तथा आगामी पुस्ताका साथै समाज र राष्ट्रलाई नै सहयोग पुग्छ । यसकारण उद्यमशिलताको बाटोमा हामी लाग्नु जरुरी छ । हाम्रो नेपालमा सक्षम मान्छे जागिर खान्छ, असक्षम मान्छे जागिर नभेटेर व्यवसायतिर लाग्छ, यो ठुलो कमजोरी हो । अब पढेका युवा पुस्ता नै उद्यमशिलतातिर लाग्नुपर्छ ।
युवाहरु आफैँले रोजगारी सिर्जना गरी आफ्नै मुलुकको विकासमा योगदान पुर्याउने विषयमा सोच्नु आवश्यक छ । पैसा हातमा हैन खातामा हुनुपर्छ
अहिले मुलुकको कूल ग्राहस्थ उत्पादनको एक तिहाई रेमिट्यान्सले धानेको तथ्यांकले देखाएको छ । त्यो एक तिहाई तथ्यांक पनि आधिकारिक माध्यमबाट आएको रेमिट्यान्स मात्रै हो । अनौपचारिक ढंगबाट धेरै रकम भित्रिने गरेको तथ्यांकहरु पनि आइरहेका छन् । नेपालको व्यापार घाटा दिनप्रतिदिन बढिरहेको छ । युवाहरु विलासी जिवन विताउन चाहान्छन् ।
वैदेशिक रोजगारीमा पनि धेरै समस्या देखिन थालेको छ । भोलि वैदेशिक रोजगारी ठप्प हुने हो भने र हामीले स्वदेशमै स्वरोजगार बन्न नसक्ने हो भने नराम्रो स्थिति आउन सक्छ । यस्तो अवस्थाले मुलुक अगाडी बढ्न सक्दैन । हाम्रो देशमा स्रोत र साधनहरुको कमी छैन । स्वदेशमै बसेर यहीँ भएका स्रोत र साधनको परिचालन गरेर नै मुलुक समृद्ध बन्न सक्छ ।
तर अधिकाशं नेपाली रोजगारको लागि खाडी मुलुक, एशिया, युरोप र अन्य ठाउँमा छन् । यसलाई रोक्न राज्यले कदम चाल्नु जरुरी देखिन्छ र विदेशमा कमाएको पैसा बैंक मार्फत पठाए मात्रै सुरक्षित हुने छ । हुण्डी मार्फत पठाए फस्न पनि सक्दछ भने राज्यलाई पनि राजश्व गुम्नेछ यो कुरा बुझ्न जरुरी छ । आर्थिक बजार मासिक