• होमपेज
  • अर्थ/वाणिज्य
  • चितवन दूधमा आत्मनिर्भर ,‘दसैँपछि घोषणा हुने’

चितवन दूधमा आत्मनिर्भर ,‘दसैँपछि घोषणा हुने’

  • सोमवार, भदौ १९, २०७४
चितवन दूधमा आत्मनिर्भर ,‘दसैँपछि घोषणा हुने’

किशोर खनाल,

चितवन भदौं १९-

देशकै मध्य भागमा रहेको चितवन जिल्ला दूधमा आत्मनिर्भर भएको छ । तर, घोषणा गर्न बाँकी रहेको छ । ‘दूधमा चितवन जिल्ला आत्मनिर्भर भएको छ, प्रक्रिया पु¥याएर दसैँपछि हामीले चितवन जिल्लालाई दूधमा आत्मनिर्भर भएको घोषणा गछौँ’ जिल्ला पशु सेवा कार्यालय भरतपुरका प्रमुख डिल्लीराम सेढाईंले भने । उनले विभागबाट कार्याविधि आएपछि दूधमा चितवन जिल्लालाई आत्मनिर्भर भएको घोषणा गर्ने बताए ।

चितवनमा दैनिक दुई लाख ५० हजार लिटर दूध उत्पादन भइरहेको छ । वर्षको ९० हजार मेट्रिक टन चितवनले दूध उत्पादन गरिरहेको छ ।
‘एक वर्षमा प्रतिव्यक्ति १३७ लिटर दूध चितवन जिल्लामा उपलव्ध भइरहेको छ, एक व्यक्तिलाई वर्षमा ९० लिटर दूध चाहिन्छ’ पशु सेवा कार्यालय प्रमुख सेढाईंले भने, ‘ जनसंख्याको तुलनामा चितवनमा प्रतिव्यक्ति वार्षिक ४७ लिटर दूध बढी छ ।’ उनले यसको आधारमा पनि चितवन दूधमा आत्मनिर्भर छ भन्न सकिने तर्क पेस गरे ।

सरकारले मुलकलाई नै अण्डा, मासु र दूधमा आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ । तीन वर्षभित्र दूधमा मुलुकलाई आत्मनिर्भर बनाउने योजना सरकारको छ । ‘हामीले चितवन जिल्ला दूधमा आत्मनिर्भर भएको खबर विभागमा गरिसकेका छौँ’ कार्यालय प्रमुख सेढाईंले भने ।
चितवनमा उत्पादन भएको ६५ प्रतिशत दूध जिल्ला बाहिर गइरहेको छ । ‘चितवनको दूध डीडीसी, उज्ज्वल डेरी, सीताराम डेरी, हेटौंडा डेरीलगायतले उठाउने गरेका छन्’ जिल्ला पशु सेवा कार्यालयका सूचना अधिकारी अर्जुनप्रसाद थपलियाले भने, ‘जिल्लाको उत्पादन यहीँ खपत गर्ने हो भने पनि हामी सजिलै दूधमा आत्मनिर्भर भएर बाहिर पठाउन सक्छौँ ।’ थपलियाका अनुसार चितवन जिल्लाको धेरै दूध बाहिर गइरहेको र बाहिरबाट यहाँ पनि आइरहेको बताए ।

‘भर्खर दूधको मूल्य बढेको हुनाले किसान उत्साहित छन्, किसानको लागत उठ्ने गरी मूल्य वृद्धि भएपछि किसान दूध उत्पादन गर्न आकर्षित भएका छन्’ कार्यालय प्रमुख सेढाईंले भने, ‘जिल्ला दूध उत्पादन क्रमशः बढ्दै गइरहेको छ ।’

दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिहर सुवेदीले पनि दूधमा चितवन जिल्ला आत्मनिर्भर भएको बताए । उनले चितवनको दूध काठमाडौँ, पोखरा, हेटौंडालगायतका ठाउँहरुमा गइरहेको बताए । चितवनमा दर्ता भएका दूध संकलन गर्ने १३८ वटा सहकारीहरु छन् । ‘दूधको मूल्य बढेपछि किसानहरु गाई तथा भैंसीपालनमा आकर्षित भइरहेका छन् । जसले गर्दा सहकारीहरुमा दूध संकलन हुने काम तीव्र रुपमा भइरहेको छ’ अध्यक्ष सुवेदीले भने । धेरै वर्षदेखि चितवनमा मिल्क होलिडे भएको छैन ।

अध्यक्ष सुवेदीले किसानलाई बैंकले सस्तो व्याजमा ऋण उपलव्ध नगरेको बताए । ‘किसानलाई ६/७ प्रतिशतमा ऋण दिने भनिन्छ, तर ११ प्रतिशत भन्दा कम व्याजमा ऋण पाएका छैनौँ’ अध्यक्ष सुवेदीले भने । सरकारले भनेजति ६/७ प्रतिशतको व्याजमा ऋण पाउने हो भने पशुपालनमा किसान झन् आकर्षित हुने उनको भनाइ थियो । चितवनपोष्ट दैनिकवाट साभार गरिएको ।

Facebook Comments

सम्बन्धित समाचार