• होमपेज
  • बीमा
  • डरलाग्दो बन्दै बीमा बजार

डरलाग्दो बन्दै बीमा बजार

  • सोमवार, साउन २७, २०७६
डरलाग्दो बन्दै बीमा बजार

बीमा के हो ? बीमाका फाइदा बेफाइदा तथा अन्य कुराहरुको जानकारीहरु तथा बीमा समबन्धी शिक्षा नेपालमा दिन प्रतिदिन बढेको र बीमितको संख्या पनि पछिल्ला वर्षहरु भन्दा धेरै राम्रो प्रगति गरेको हामीहरुले बीमा कम्पनीहरुले बेला बेलामा सार्वजनिक गर्ने विभिन्न आँकडाहरुकाट देख्न, पढ्न र सुन्न सक्छौं ।

नेपाल सरकारले पनि बीमा र बीमितहरुको संख्या बढेको तथ्याङ्ग देखाएको छ । तर पछिल्लो समय नेपालमा बीमा क्षेत्रमा नराम्रा घटनाहरु घट्दै गएका छन् । रौतहटका राम किशोर यादवले आफ्नै नावालक छोरीको हत्या गरे। एक मात्र कारण थियो बीमा। उनले पहिले नावालक छोरीको बीमा गरे । उनको हत्या गरे र अन्तमा छोरीको बीमा रकममा दाबी गरे । त्यसैगरी पोखराका रमेश नेपालीले पनि एक करोड कमाउने लोभमा श्रीमतीको हत्या गरे ।

हत्यापछि श्रीमतीको बीमा बापतको १ करोड रुपैयाँ दावी गरे । १० वर्ष अगाडि गोविन्द आचार्यले आफ्नै श्रीमतीको हत्या गरेर २५ लाख रुपैयाँको दाबी भूक्तानी लिन खोजे । तर रकम लिन नपाउँदै प्रहरीको फन्दामा परे ।

केही वर्ष अगाडि एक अनाथाश्रमले बालकको बीमा रकम प्राप्त गर्न नियोजित रुपमा नावालकलाई छतबाट खसालेर हत्या गर्यो । तर बीमा समितिले बीमा रकममाथि अनाथाश्रमको दाबीलाई अस्वीकार गरिदियो ।

विगत केही समययता बीमा बापतको रकम हत्याउने लोभमा जघन्य अपराध बढ्दै गएका छन् । के मर्दैमा वा मार्दैमा बीमाङ्ग रकम प्राप्त गर्न सकिन्छ र ? सामाजिक अपराधका यस्ता घटनातर्फ बीमा समितिले नै पनि निकै सचेत भई अध्ययन गरिनु पर्दछ । बीमाको संख्या बढाउनु भन्दा पनि आम मानिसहरुमा बीमा सम्बन्धी सही सूचना दिनु पर्दछ ।

अभिकर्ताहरुलाई पोख्त पारिनु पर्दछ । बाहिरी रुपमा बुझ्दा र हेर्दा विशेषत बीमा कम्पनीहरुले अभिकर्ताहरुलाईनै राम्रोसंग बीमा सम्बन्धी तालिम दिन चुकेका हुन की भन्ने जस्तो अनुभति गर्न सकिन्छ ।

अभिकर्ताहरुले बीमितहरुलाई जसरी बुझाए उनीहरुले त्यसरी त्यसको उपभोग गर्नु बीमितको गल्ती कदापि हुन सक्दैन । त्यसबाट हुन गएको जघन्य अपराधको जिम्मा अभिकर्ता वा बीमा कम्पनीनै हो ।

रौतहटमा बीमाको रकम पाउन आफ्नै छोरीको हत्या गत असार १६ गते रौतहटका रामकिशोर राय यादवले आफ्नै चार वर्षीया छोरी लक्ष्मी कुमारी यादवको हत्या गरे। हत्या गर्नु भन्दा एक महिना अगाडि उनले प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा २५ लाख रुपैयाँको बीमा गराएका थिए ।

लक्ष्मीको शव पोखरीमा भेटिएपछि प्रहरीले हत्या भएको शंका गर्दै छानविन गर्ने क्रममा बीमाको लागि हत्या गरिएको पत्ता लगाए। उनले जेठ १९ गते नियोजित रुपमै प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा २५ लाख रुपैयाँ पाउन बीमा गराएका थिए। उनले पहिलो किस्ता बापत कम्पनीमा पौने दुई लाख रुपैयाँ बुझाएका थिए। हत्यारा बाबुले कान्छी छोरीको हत्या गरेर २५ लाख रुपैयाँ पाउने लोभमा यस्तो आपराधिक कार्य गरेको स्वीकार गरिसकेका छन्।

१०र१२ वर्ष अघि नेपाल लाइफमा गोविन्द आचार्य भन्ने व्यक्तिले श्रीमतीको बीमा गरे। आचार्यले विवाह गरेको केही दिनमै २५ लाख रुपैयाँको बीमा गरिदिए। विवाह गर्ने वित्तीकै श्रीमानले २५ लाख रुपैयाँको बीमा गर्दा श्रीमान प्रति उनको विश्वास झन् बढ्यो। श्रीमतीलाई श्रीमानप्रति कुनै शंका भएन। श्रीमानले दुई पटकसम्म बीमा शुल्क भूक्तानी गरिदिए।

दुई पटकसम्म बीमा शुल्क भूक्तानी गरेपछि श्रीमतीको अस्पतालमा मृत्यु भयो। उनको मृत्युलाई लिएर कसैले पनि शंका गर्ने कुरा भएन। अस्पतालबाट सबै रिपोर्ट लिएर उनले बीमा कम्पनीमा दाबी गरे। शाखालाई ठूलो रकमको दाबी गर्ने अधिकार नभएको हुँदा केन्द्रमा कागजात पठायो। केन्द्रले सबै कागजात पूरा भएको पाएपछि दाबी बमोजिमको रकम दिन चेक तयार पार्यो।

बीमा कम्पनीले दाबी भूक्तानी गर्न नपाउँदै माइती पक्षले मृत्युमा शंका गर्दै प्रहरीमा उजुरी दिए। प्रहरीमा उजुरी परेपछि बीमा कम्पनीले चेक हस्तान्तरण गरेन। उजुरीसँगै प्रहरीले आफ्नो तरिकाले छानविन थाल्यो। छानविन गर्दा श्रीमानले एक वर्षदेखि नियमित रुपमा ब्लड प्रेसरको औषधी पिँधेर खुवाउने गरेको पत्ता लगायो। उसले उक्त औषधी चियामा हालेर ओभर डोज हुने गरी खुवाउने गरेको पाइयो। श्रीमतीले यस्तो औषधी खुवाउने गरेको शंकै गर्न सकिनन्।

औषधी ओभर डोज भएर विरामी हुँदा श्रीमानले नियमित अस्पताल लाने लैजाने गरेकोले कसैले शंका गर्ने मौका पाएनन्। प्रहरीले श्रीमतीको बीमा गरेको थाहा पाएपछि श्रीमानले बीमाको दाबीको लागि केही गरेको हुन सक्ने शंका गर्दै घरको खानतलासी लियो। खानतलास गर्दा भान्सा भित्र सिलौटोमा औषधी पिँधेको प्रहरीले भेट्टाए। यहि प्रमाणलाई अनुसन्धान गर्दै जाँदा श्रीमानले ब्लड प्रेसरको औषधी ओभर डोज दिने गरेको प्रहरीले पत्ता लगायो।

अनुसन्धानपछि श्रीमानले बीमाको लागि मारेको स्वीकार गरे। बीमा पोलिसीमा हकदाबीमा श्रीमानको नाम रहेको हुँदा श्रीमानको नाममा चेक काटिएको थियो। तर हकवाला नै मृत्युको कारक भएपछि कम्पनीले चेक हस्तान्तरण गरेन। श्रीमतीको माइती तथा स्थानीय अगुवाले उक्त पैसा उनको नाममा कोष बनाएर सामाजिक क्षेत्रमा खर्च गर्ने प्रस्ताव पेश गरे। अझै पनि यसको दाबी भएको छैन। यस्तो रकमलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा नयाँ बहस आवश्यक रहेको बीमा समितिका उपनिर्देशक लामिछाने बताउँछन्।

पोखराको चिप्लेढुङ्गामा व्यवसाय गर्दै आएका रमेश नेपालीले बीमाबाट रकम पाइने लोभमा श्रीमतीको हत्या गरे। उनले आफ्नी श्रीमती लक्ष्मी नेपालीको सुनियोजित रुपमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा एक करोड रुपैयाँको बीमा गरे।

श्रीमतीको मृत्युपछि बीमा बापतको पैसा आउने लोभमा एक करोड रुपैयाँको बीमा गरेका थिए। कम्पनीले धेरै बीमा शुल्क पाउने लोभमा एकै पटक एक करोड रुपैयाँको बीमा गर्न राजी भयो। यस घटनाले बीमा क्षेत्रमा अण्डर राइटिङको विषयलाई बहसमा ल्याएको छ।

बीमा कम्पनीहरु बीचमा अरुको भन्दा धेरै बीमा शुल्क आर्जन गर्ने होडबाजीमा बीमा गर्न खोज्दा यस्ता समस्या आउने गरेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई बताउँछन्। उनले भने ‘आएको बिजनेसलाई किन छोड्ने? यो साल प्रिमियम तिरिहाल्यो अर्को साल तिर्न नसके उसैले सक्दैन भन्ने चलन बढेको छ।’

धेरै बीमा शुल्क संकलन गरे भनेर बजारमा चर्चा बटुल्नलाई मात्रै देखावटी रुपमा बीमा गरियो भने यस्ता खालका घटना बढेर जान्छ। पोखराको घटनाबाट बीमितले एक करोड रुपैयाँको बीमा गर्दै गर्दा उसको आम्दानी हेर्नुपर्थ्यो। बीमा एक दुई वर्षको लागि मात्रै नभएर १५र१५ वर्षको दायित्व सिर्जना हुने व्यवसाय हो। यसले गर्दा उसले आगामी वर्षमा पनि तोकिएको बीमा शुल्क भूक्तानी गर्न सक्छ कि सक्दैन भनेर कम्पनीहरुले हेर्नुपर्छ ।

बीमा गर्नुअघि सो ब्यक्तिलाई बीमाको आवश्यकता छ कि छैन भनेर हेरिनु पर्छन । हकदाबी गर्ने व्यक्ति र बीमितको सम्बन्धलाई हेरिएन भने पनि आपराधिक गतिविधि बढ्न सक्छ । बीमा बचतसँगै जोखिमबाट सुरक्षाको लागि पनि हो । यो पक्षलाई अभिकर्ताले बीमितलाई राम्रोसंग बुझाउन सक्नु पर्छ ।

बीमितभन्दा बीमाको लाभ पाउने व्यक्ति आर्थिक रुपले, शारीरिक रुपले, सामाजिक रुपले, मानसिक रुपले बलियो छ कि कमजोर छ भन्ने पक्षहरु हेरेर बीमा गरिनु पर्दछ ।

कम्पनीहरुले व्यवसाय बढाउँदा बीमाका सर्वमान्य सिद्धान्तलाई पनि सँगसँगै पालना गर्नु पर्छ । पोलिसीमा समस्या नभएपनि बीमा गराउनेको नियतमा समस्या बढेको देखिन्छ ।

बीमा गर्दा परिवारका अन्य सदस्यकोभन्दा घरमा जसको धेरै आयस्रोत छ उसको बीमा गर्ने परिपाटी भएमा यस्ता किसिमका अपराधिक गतिविधि केही हदसम्म कम भएर जाने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईको तर्क रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि