• होमपेज
  • समाचार
  • भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन

भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन

  • बुधबार, साउन २२, २०७६
भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन

भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन भएको छ। हृदयाघातका कारण ‘अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेस’, दिल्लीमा भर्ना भएकी स्वराजको मंगलबार निधन भएको भारतीय अखबार इकोनोमिक टाइम्सले जनाएको छ।

६७ वर्षीया स्वराज इन्दिरा गान्धीपछि भारतकी पहिलो महिला विदेशमन्त्री थिइन्। स्वराज लामो समयदेखि बिरामी थिइन्। सन् २०१६ मा उनको मृगौला प्रत्यारोपण गरिएको थियो। बिरामी भएकै कारण उनी सन् २०१९ को लोकसभा चुनावमा उठिनन्।

उनी सन् २०१४ मा विदेशमन्त्री भएकी थिइन्। भारतीय जनता पार्टीको सरकारका पालामा उनी दिल्लीकै पहिलो मुख्यमन्त्री समेत भएकी थिइन्। स्वराज प्रखर र प्रभावशाली वक्ताका रूपमा पहिचान बनाउन सफल नेता हुन्। चालिस वर्षको राजनीतिक यात्रामा उनले ११ वटा चुनाव लडिन्। उनी तीन पटक विधानसभामा विजयी भएकी थिइन् भने सात पटक सा‌ंसद भइसकेकी छन्।

स्वराजको जन्म सन् १९५३ फेब्रुअरीमा अम्बाला छावनीमा भएको थियो। उनका बुबा हरदेव शर्मा राष्ट्रिय स्वयंसेवक संघका सदस्य थिए। स्वराजले एसडी कलेजबाट राजनीति शास्त्रमा स्नातक र पन्जाब विश्वविद्यालय, चंडीगढबाट ‍कानूनको डिग्री लिएकी थिइन्।

उनले आफ्नो राजनीतिक यात्रा अखिल भारतीय विद्यार्थी परिषदबाट सुरू गरेकी थिइन्। पढाइ सकेपछि उनी जयप्रकाश नारायणको आन्दोलनमा सक्रिय रूपमा सहभागी भएकी थिइन्। पछि उनी राजनीतिमा जोडिइन्।
हरियाणाबाट चुनाव जितेकी उनी २५ वर्षकै उमेरमा राज्यमन्त्री भएकी थिइन्।

उनले निधन हुनु केही घन्टाअघि मात्र ट्विट गरेर प्रधानमन्त्री नरेन्द्र मोदीलाई जम्मु र कश्मिर सम्बन्धी गरेको फैसलाका निम्ति बधाइ दिएकी थिइन्। मोदीले दुःख व्यक्त गर्दै ‘स्वराज करोडौं मान्छेका लागि प्रेरणा थिइन्’ भन्दै ट्विट गरेका छन्।

Facebook Comments

सम्बन्धित समाचार