• होमपेज
  • विकास
  • आधा सकियो दरबार हाइस्कूल पुनःनिर्माण

आधा सकियो दरबार हाइस्कूल पुनःनिर्माण

  • सोमवार, फाल्गुन १३, २०७५
आधा सकियो दरबार हाइस्कूल पुनःनिर्माण

निर्धारित समयमै काम सक्ने गरी रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय)को पुनःनिर्माण ५० प्रतिशत सकिएको छ ।

चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्सट्रक्सनले लिएको छ । रु ८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण गर्न लागिएको यो विद्यालयको भवन चार तले र ४० कक्षाकोठो हुने भएको छ । यस भवनको नमूना ‘चाइना एभिएसन प्लानिङ एण्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण शुरु भएको १९ महीनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम अघि बढिरहेको बताउनुुभयो ।

विसं २०७२ मा गोरखा भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको उक्त हाइस्कूल को पुनःनिर्माणको शिलान्यास गत साउन १८ गते भएको थियो ।

विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो । विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा २०४८ सालदेखि अन्य विषय पनि पाउने भएका थिए ।

विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हँुदै आएको छ । अहिले विद्यालय निर्माण गर्दा बाहिरी आवरण यसअघिको जस्तै देखिए पनि भित्र आधुनिक सामग्री प्रयोग गरिने बताइएको छ । केही चीनका र केही नेपालका सामग्री निर्माणमा प्रयोग गरिएको छ ।

शुरुमा निर्माण गर्दा माटो, इँटा र सुर्खी, माटो र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । पुरानो विद्यालय भए पनि पछिल्लो समय पहिले जतिको महत्व अहिले नभएको विद्यालयले स्वीकारेको छ । पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र विद्यालयमा अध्ययन गर्न आउने गरेको संस्कृत माविका प्राध्यापक बद्री दाहालले बताउनुभयो ।

सो भवनमा संस्कृत मावि पनि सञ्चालित थियो । हाल ती दुवै विद्यालयमा गरी ३०० विद्यार्थी अध्ययनरत र ३५ शिक्षक कार्यरत छन् । ती विद्यार्थीलाई अहिले वाल्मीकि विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठनपाठन गराइएको छ ।

लामो समय काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछिमात्रै यस विद्यालयको पुनःनिर्माणको काम शुरु भएको हो । अहिलेको पुनःनिर्माणको प्रगतिलाई हेर्ने हो भने निर्धारित समयमा नै काम सक्ने पक्का भएको व्यवस्थापक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माणका लागि अहिले नेपाली र चिनियाँ गरी दैनिक १२० ले काम गरिरहेका छन् ।

दुई भागमा विभाजन गरी निर्माण कार्य गरिएकामा हालसम्म तीन वटा ढलानको काम सकिएको र अब केही ढलान र साजसज्जाको काम बाँकी भएको उहाँको भनाइ थियो ।

गाभिने तयारीमा भानु र संस्कृति मावि

कामपाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार भानु र संस्कृति माविलाई एकापसमा गाभी भानु–संस्कृति माध्यमिक विद्यालय (दरबार हाइ स्कूल) बनाउने तयारी गरिएको छ ।

एउटा मावि सञ्चालन हुनका लागि ग्रामीण क्षेत्रको प्रत्येक कक्षामा ४० र शहरमा ५५ विद्यार्थी रहनुपर्ने कानूनी व्यवस्था रहे पनि यी दुवै विद्यालयमा यस किसिमको समयस्या छैन ।

यसअघि पनि एउटै भवनमा पठनपाठन गराइरहेका यी दुई विद्यालयमा कम विद्यार्थीे सङ्ख्या र अन्य व्यवस्थापनको पाटोलाई समेत दृष्टिगत गरी यस किसिमको अभ्यास गर्न लागिएको हो । प्रमुख कोइरालाले यस विषयमा मन्त्रालयसँग पनि सकारात्मक छलफल भइरहेको पनि बताउनुुभयो ।

चिनियाँ सरकारसँग भूकम्पका कारण अतिप्रभावित १४ जिल्लाका एक–एक र अन्य तीन जिल्लामा गरी १७ विद्यालय निर्माण गर्ने सहमति भएको थियो । गोर्खा भूकम्पका कारण सात हजार ५०० विद्यालयमा क्षति पुगेको र हालसम्म तीन हजार ६०० विद्यालय भवन निर्माण भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएकोे छ ।(रासस)

Facebook Comments

सम्बन्धित समाचार