पर्यटन मेला शुरु

  • सोमवार, पुस ३०, २०७५
पर्यटन मेला शुरु

बेनी नगरपालिका–३ मुसुङमा माघे सङ्क्रान्ति पर्वको अवसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई यस वर्षदेखि पर्यटन मेलाका रुपमा सञ्चालन गर्न शुरुआत भएको छ । भकिम्ली क्षेत्रमा रहेको धार्मिक, पर्यटकीय गन्तव्य, कृषि, पशुपालनलगायतको सम्भावनाको उजागर गर्न परम्परागत रुपमा लाग्दै आएको मेलालाई पर्यटन मेलाको रुपमा आयोजना गरिएको हो ।

स्थानीय स्वर्गाश्रम युवा क्लबको अगुवाइमा मुसुङमा शुरु भएको माघे सङ्क्रान्ति सांस्कृतिक एवं पर्यटन मेलाको आइतबार उद्घाटन गरिएको छ । पर्यटकीय सम्भावनायुक्त स्वर्गाश्रम, बेलढुङ्गा, डोलेलगायतका पर्यटकीयस्थलको प्रचारप्रसार र पर्यटन पूर्वाधार तयार गर्न सरोकारवालाको ध्यानाकर्षण गराउन मेलाले सहयोग पुग्ने वडाध्यक्ष पदम पुनले बताउनुभयो ।

पर्यटन मेलाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले पर्यटन क्षेत्रको विकासले स्थानीयको जीवनस्तर उकास्न ठूलो सहयोग पुग्ने बताउँदै लुकेर रहेका पर्यटकीय क्षेत्रको उजागर गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नगरपालिकाले पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउँदै समुदाय र सरकारी पक्ष मिलेर काम गरेमा मात्रै विकास दिगो र टिकाउ हुने बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा र बेनी नगरपालिका–६ का अध्यक्ष कृष्णसिंह बानियाँले परम्परागत मेलापर्वलाई कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धन हुने गरी सञ्चालन गर्नु सकारात्मक पक्ष रहेको बताउँदै मेला पर्वमा हुने नराम्रो पक्षलाई निरुत्साहित गर्न आयोजकलाई सुझाव दिनुभयो ।

माघ ३ गतेसम्म सञ्चालन हुने मेलामा विविध खेलकूद र सांस्कृतिक कार्यक्रम हुने मेला आयोजक समितिका संयोजक तारामिलन छन्त्यालले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार