दुई दर्शकको बैंकिङ क्षेत्रको अनुभव संगाल्नुभएका अशोक शेरचन एक दक्ष र अनुभवी बैंकर हुन । शेरचनको स्थायी घर बाग्लुङ हो । गाउँबाटै एस.एल.सी.सम्मको अध्ययन पुरा गरेका शेरचनले त्यति बेलासम्म आफ्नो भविष्यलाई कुन गन्तव्यमा लैजाने अथवा भविष्यमा कस्तो काम गर्ने भन्ने कुनै निश्चित योजना बनाएका थिएनन् । उच्च शिक्षाका लागि काठमाडौंमा आएपछि कुनै खास लक्ष्य बिना शंकरदेव क्यापसमा अध्ययन सुरु गरे । शंकरदेव क्यापसमा अध्ययन गर्दै गरे । नेपाल वंगलादेश बैंकमा कर्मचारी आवश्यताको आवेदन खुलेको थियो ।

त्यतिखेर शेरचन काठमाडौंमा थिएनन् । उनी घर गएका बेला साथीले बैंकको जागिरका लागि फर्म भरिदिएका थिए । घरबाट आएर अन्तर्वार्ता दिएपछि उनी बैंकमा छनोट भएका थिए । बैंकमा छनोट हुँदासम्म पनि उनीलाई बैंकमा जागिर खान्छु जस्तै लागेको थिएन रे । काम र कर्तव्यका धेरै खुड्किलाहरु पार गर्दै अशोक शेरचन प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत भएका छन् । किष्ट बैंकसहित जेनिथ फाइनान्स, प्रभु विकास बैंक तथा गौरीशंकर विकास बैंक गाभिएर प्रभु बैंक बनेको थियो । त्यसबेला बैंक घाटामै थियो । बैंकले एकीकृत कारोबार सुरु गरेको दुई महिना नबित्दै तत्कालीन प्रमुख कार्यकारी अधिकृतले राजीनामा दिएपछि शेरचनलाई निमित्तको जिम्मेवारी दिइएको थियो ।

बैंकलाई स्पष्ट दिशा प्रदान गरी बैंकको समग्र स्थितिमा परिवर्तन ल्याउनपर्ने तथा खराब कर्जा असुलीमा उल्लेख्य प्रगति गर्न सकेमात्रै शेरचनलाई प्रमुख कार्यकारी अधिकृत बनाउने सञ्चलक समितिको सर्तअनुसार उनी प्रमुख कार्यकारी अधिकृृत भएका थिए । प्रभु बैंकका मुक्तिनाथ, दैलेखलगायत दर्जनौ दुर्गम पहाडी क्षेत्रमा पनि डिजिटल प्रविधिमार्फत काम गर्ने एक सय ७० शाखा सञ्चालनमा छन् ।

शेरचन नेपाल बंगलादेश बैंक, नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी) बैंक तथा प्रभु विकास बैंक हुँदै प्रभु बैंकमा सीइओ बनेका छन् । उनले विभिन्न देशबाट बैंक व्यवस्थापन सम्बन्धित तालिम पनि लिएका छन् । प्रभु बैंकको वर्तमान अवस्था, आन्तरिक व्यवस्थापन र भावी योजनाका विषयमा प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसँग बरिष्ठ पत्रकार भूपेन्द्र आचार्यले गरेको कुराकानी सम्पादकः–

प्रभु बैंक लिमिटेडको पछिल्लो वित्तिय अवस्ता कस्तो छ ?
प्रभु बैंक लिमिटेडको पछिल्लो वित्तिय अवस्था सुधारिदै गएको अवस्था छ । गत असोज मसान्तसम्म हामीले करिब १ सय ३ अर्ब निक्षेप संकलन गर्न सफल भएका छौं । ८६ अर्ब कर्जा प्रवाह गरेका छौं ।१७० वटा हाम्रा शाखा सञ्जाल छन् । समग्रमा भन्नु पर्दा प्रभु बैंकले सुधारिएको बाटो समातेको छ । अत्यन्तै उत्साहजनकरुपमा अहिले हामी अगाडी बढेको अवस्था छ ।

पछिल्लो समय प्रभु बैंक लिमिटेडको खराब कर्जा घटेको देखिन्छ, के ग्राण्ड बैंक र किष्ट बैंकका पुराना कर्जा उठेको अवस्था हो ? 

तपाईले भनेको किष्ट र ग्राण्ड बैंकको कर्जा उठेको पक्कै छन् । हामीले गतवर्ष भन्दा यस वर्ष कर्जा प्रवाह बढाएका पनि छौं । विस्तारै प्रभु बैंक अगाडी बढ्दै छ । अब डराउनु पर्ने, कराउनु पर्ने, अवस्थाको अन्त्य हुँदै गएको छ ।

यस वर्ष प्रभु बैंक लिमिटेड आक्रमकरुपमा बजार विस्तार गर्न र व्यवसाय बढाउन के कस्ता प्रोडक्ट र योजना लिएर आउँदैछ ?
पछिल्लो समय तरलता अभाव देखिएको लगानीका चुनौती बढेका छन् । त्यसकारण यो वर्ष आक्रमक रुपमा अगाडी जानु भन्दा पनि बैंकहरुले यो आर्थिक वर्ष भरी आफ्नो विस्तारलाई लगाम लगाएर टिक्ने र अर्को वर्ष अलिक कसिलो र फराकिलो स्थिति बनाएर अगाडी लैजाने अवस्थामा छौं । त्यसकारण यसपाली हामी पनि आक्रमक हुदैनौं र अरु बैंक पनि आक्रमकरुपमा अगाडी जालान जस्तो मलाई चाहिँ लाग्दैछ ।

यो वर्ष शेयरधनी, प्रमोटर र लगानीकर्ताहरुलाई कति प्रतिफल दिने योजना बनाउनु भएको छ ?
अघिल्लो आर्थिक वर्षको लागि १० प्रतिशत छुट्याएका छौं । यो वर्षका लागि कम्तीमा पनि १५ प्रतिशत दिने योजना बनाएका छौं । प्रत्येक वर्ष अब प्रभु बैंक लिमिटेडले राम्रो प्रतिफल दिने दिन आएको छ । हामी १ वर्ष जति किष्ट र ग्राण्ड बैंकका खराब कर्जा व्यवस्थापन गर्ने काममै व्यस्त रह्यौ । अब राम्रो दिन प्रभु बैंकका आएका छन् नि ।

पछिल्लो समय बैंकहरुकै माग बमोजिम राष्ट्र बैंकले शेयरको कारोबार गर्न २८ वाणिज्य बैंकहरुलाई बाटो खुलाई दिएको छ । तर १ वटा बैंक बाहेक अरु बैंकले केन्द्रिय बैंकमा निवेदन समेत नदिएको अवस्था छ, कारण चाहि के हो, शेयर घटेर हो कि, अरु केही कारण हो ?
बैंकको काम चाहि त्यो होइन की भन्ने पनि देखिन्छ । अहिले बैंकहरु तरलताकै लागि मरिमेटेको जस्तो देखिन्छ । बैंक अप्ठ्योरोमा छन् । तरलताकै कारण अन्य क्षेत्रमा समय बैंकले दिन पाएका छैनन् । तपाईले भनेको शेयर कारोबारमा हात हाल्दा ठूलो लगानी चाहिन्छ । करका कुरा छन् । अरु कुरा छन् ।

त्यसकारण बैंकले हात नहालेका हुन कि जस्तो देखिन्छ । अर्को कुरा के छ भने शेयरको कारोबार गर्न नेपाल धितोपत्र बोर्ड, केन्द्रीय बैंकबाट पनि प्रस्ट निति र निर्देशन अझै आएको अवस्था छैन । त्यसकारणले हामी अलिक अल्मलिएको अवस्था पक्कै हो तर विस्तारै तरलताको अवस्था ठीक भए पछि बैंकहरुले यी काम शुरु पक्कै गर्ने छ नि ।

केही समय अगाडी सरकारले स्थानिय तहमा भएको पैसा वाणिज्य बैंकहरुमा राखेको सुनिन्छ तापनि चर्को तरलता वाणिज्य बैंकहरुमा छ । सीसीडी रेसियो अतिनै टाईट नै भएकै हो कि ? के कारण हो ?
हामीले हरेक पटक सरकारी खर्च भएन भन्दै आएका छौं । प्रमुख कारण त्यो पनि हो । स्थानियतहबाट जति पैसा आयो त्यो ५० प्रतिशत डेविटमा देखाउन पर्ने भनेर आयो । सीसीडी रेसियो टाईटमा रहेका बैंकलाई सहज अवस्था गराई दिएको छ । लोन दिने रुपमा त्यो पैसा पुगेन ।

त्यसकारण केही पैसा आयो तरलता आयो सिसिडी रेसियो राम्रो भयो तर कर्जा दिन पुगेन यसरी बुझ्न पर्दछ । त्यसकारणले पैसा आएको राम्रो शुरुवात भएको छ । यो राम्रो संकेत हो । हाम्रो नेपाल बैंकर्स संघको धारण चाहि १०० प्रतिशत नै निक्षेपकारुपमा देखाउन पाउनु पर्दछ भन्ने माग छ । त्यो भयो भने अझै सहज होला ।

पछिल्लो अबस्थामा बैंकका ग्राहकहरुलाई वा डिपोजिटकर्ताहरुलाई पैसा राख्दा र झिक्दा असहज अवस्था राष्ट्र बैंकको निर्देशनबाट भएको देखिन्छ र अर्को कुरा स्थिर सरकार छ त्यसले पैसा, घरजग्गा भनौ सम्पत्ति नै राष्ट्रिकरण गर्ने शंका पनि भएको जस्तै देखिन्छ । यहि कारणले पैसा भकारी र सहकारीमा पुगेको शंका राज्यले र केन्द्रीय बैंकले गरेको अवस्था देखिन्छ । स्थानिय तहमा यति धेरै बैंक पुग्दा पनि पैसा वाणिज्य बैंकमा आएको छैन । बैंकका कर्मचारी घाम तापेर बसेको अवस्था छ । कारण चाहि के होला ?
सहकारी वा भकारीमा जहाँ भएपनि सरकारले चाह्यो भने त्यो पैसा निकाल्न सक्दछ । होइन भने सरकारले जुनसुकै समयमा पनि पैसा लिन सक्दछ नि त्यसकारण आम मानिसले सहकारीमा वा भकारीमा राखेर सुरक्षित भन्नु राम्रो होइन । सिस्टममा समयमै आउनु जरुरी देखिन्छ ।

एकदिन पैसा बैंकमै आउने विश्वास हामीमा छ । तपाईले भनेजस्तै केही श्रोत देखाउनु पर्ने, जानकारी गराउनु पर्ने १० लाख भन्दा माथिका डिपोजिटमा यी कारणले केही मात्रामा अप्ठ्योरो परेको चाहि सत्य हो तर सहकारी, घर वा भकारीमा राख्दैमा सुरक्षित भन्न सकिदैन र सक्ने अवस्था पनि छैन । सरकारले जुनसुकै बेला निति नियम परिवर्तन गर्न सक्दछ र त्यस्ता पैसा वाहिर ल्याउन सक्दछ त्यसैले समयमै यस्ता पैसा बाहिर छन भने बैंक तथा वित्तिय संस्थामा आउनु पर्दछ र सुरक्षित रहनु पर्दछ ।

नेपालमा ठूलो मात्रामा रेमिटेन्स आउने गरेको छ, तर त्यो पैसा विलासीकै बस्तुहरुमा खर्च भएको देखिन्छ । यो पैसा बैंकसम्म नआएको कारण पनि तरलता आएको हो कि ?
विदेशबाट आएको पैसा खरिद गर्नमै खर्च हुने कुरा त प्रस्टै डाटाहरुले नै देखाएको छ तर कस्तालाई बिलासीका सामान भन्ने छ । टेलिभिजन, मोटरकार, फोन, घर, घडेरी, वासिङ मेसिन विलासिता भन्दा पनि अति आवश्यकता कै सामान भित्र पर्दछन् । यसले केही पैसा नेपालमा घुमे पनि खरिद विक्री गर्दा केही पैसा विदेश पक्कै जान्छ ।

हामीसँग उत्पादन कम छ । यसलाई बढाउनु प¥यो । आयात कम गर्ने निर्यात बढि गर्ने वातावरण बन्न प¥यो । मानिसहरुको आय श्रोत बढेपछि त्यही अनुसारको जीवनस्तर बढ्ने हो तर सबै खर्च नै भएको भन्ने कुरा चाहि होइन केही पैसा बैंकमा पनि आएको छ तर त्यसले नपुगेको चाहि पक्कै हो नि ।

पछिल्लो समय तत्कालीन किष्ट बैंकका सीइओ लगायत केही उच्च कर्मचारी पक्राउ परेका छन् । किष्ट बैंक प्रभु बैंक भएको छ । यस घटनाले ग्राहकहरुबीच कस्तो सन्देश जान्छ । तपाईहरुकै नाम जोडेर समाचार आएका पनि छन् नि ?
यी कर्जाका केश पूराना किष्ट बैंक हुँदै बाहिर भएका हुन् । पुरानै मुद्दा हुन अहिले छानवीन भएको अवस्था हो । जो व्यक्ति पक्राउ परे ति व्यक्तिहरु यस बैंकसँग रिलेटिप अहिले छैनन् । त्यसकारण नेगेटिप र नराम्रो सन्देश जान्छ जस्तो हामीलाई लाग्दैन । प्रभु बैंकको नाम जोडेर समाचार आएको तपाईले भनेजस्तो देखिदैन । पुराना कर्जाका कुरा उठाउँदा हामीलाई सहयोग नै भएको छ । डुबेका कर्जा उठाउन सहज वातावरण बनाउन केन्द्रीय बैंकले नै सुरक्षा निकायलाई अनुसन्धान गर्न आग्रह गरेको हो नि यो नराम्रो हो र ?

अन्त्यमा शेयरधनी, प्रमोटर र कर्मचारीहरुलाई केही भन्नु छ कि ?
बैंकिङ गर्ने बानी सबै जनाले बसाल्न जरुरी छ । हिसाब किताब राख्ने बानी गर्नुप¥यो । सबै शेयरधनीलाई बोनस, कर्मचारीले तलब र राज्यले कर पाउँनु प¥यो । त्यसकारण सबै एकजुट भएर काम गरौं र देश र समाजको लागि केही गरौं भन्न चाहान्छु । अर्को कुरा अब प्रभु बैंक सक्षम र सबल बैंक बनेको छ । १७० शाखा, लाखौ लाख ग्राहकहरुले सेवा लिनु भएको छ । अब हामी प्रत्येक वर्ष बोनस खुवाउने पक्षमै छौं । आत्तिनु पर्ने अवस्था कत्तिपनि छैन । सबै बैंकका सुचकहरु सबल र सक्षम छन् भन्न चाहान्छु । अर्थिक बजार मासिकबाट

SHARE

तपाइको प्रतिक्रिया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रष्ट गर्नुहोस्