• होमपेज
  • रोजगारी
  • जिएमले कामदार कटौती गर्ने

जिएमले कामदार कटौती गर्ने

  • मङ्लबार, मंसिर ११, २०७५
जिएमले कामदार कटौती गर्ने

अमेरिकी मोटर उत्पादक कम्पनी जनरल मोटर्स (जिएम)ले छ अर्ब अमेरिकी डलर बचत गर्ने उद्देश्यले आफ्ना प्लान्टमा कार्यरत १५ प्रतिशत कामदार कटौती गर्ने घोषणा गरेको छ । सवारीसाधनको बजारको बदलिँदो परिस्थितिका कारण कम्पनीले व्यापक पुनर्संरचना गर्नुपरेको जनाएको छ ।

नयाँ योजनाअनुसार उपभोक्ताको बदलिँदो मागका कारण कम्पनीका सातवटा प्लान्ट बन्द गरिनेछ भने बजारमा लोकप्रिय देखिएका ट्रक र एसयुभीको उत्पादन बढाइनेछ । साथै, कम्पनीले विद्युतीय सवारीसाधनको उत्पादनमा ध्यान दिइने जनाएको छ । कम्पनीको उक्त योजनासँगै अमेरिकी सेयरबजार वालस्ट्रिटमा सकारात्मक प्रभाव देखिएको छ ।

तर अमेरिकी र क्यानाडाका नेताहरुले कम्पनीको उक्त कदमको विरोध गरेका छन् । साथै, जिएमसँग आबद्ध अमेरिकी र क्यानाडेली मजदूर युनियनले कडा शब्दमा आलोचना गरेका छन् । कम्पनीले आफ्ना उत्पादन प्लान्टहरु विदेश लैजान खोजेको भन्दै मजदूरहरुले आलोचना गरेका हुन् ।

जिएममा कार्यरत एक लाख ८० हजार कामदारमध्येबाट १५ प्रतिशत कटौती गर्ने पछिल्लो योजनाले खासगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई असर पर्नेछ । राष्ट्रपतिको “भोटबैंक” को रुपमा रहेका ओहायो र मिसिगन राज्यमा प्लान्ट बन्द हुनेछन् ।

जिएमका प्रमुख कार्यकारी अधिकृत म्यारी बार्राले एक वक्तव्य दिँदै कम्पनीलाई विश्व बजारमा तिब्र प्रतिस्पर्धी र नाफामूलक संस्थाका रुपमा स्थापित गर्न पुनर्संरचना गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनताले विश्वास गरेको कम्पनीले अमेरिकी प्लान्ट नै बन्द गर्ने घोषणा गरे त्यो अक्षम्य हुने चेतावनी दिनुभयो । राष्ट्रपति ट्रम्पले बन्द भइसकेका प्लान्टहरु पनि खोल्न र रोजगारी सिर्जना गर्न अमेरिकी कम्पनीहरुसमक्ष पटकपटक आग्रह गरिरहनु भएको छ ।

जिएमले अर्को वर्ष क्यानाडाको ओन्टारियोस्थित ओशावा प्लान्ट तथा अमेरिकाको मिसिगनस्थित हाम्ट्राम्क र ओहायोस्थित लर्ड्सटाउनका प्लान्ट बन्द गर्नेछ । कम्पनीले दक्षिण कोरियाको गुन्सान प्लान्ट बन्द गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।

टोरन्टोबाट उत्तरपूर्व करिब ६० किलोमिटर टाढा रहेको ओशावा प्लान्ट सन् १९५३ मा स्थापना भएको थियो । यो कारखानामा हाल करिब दुई हजार ८०० जना श्रमिक कार्यरत छन् । यस कारखानामा चेभ्रोलेट र जिएमसी पिकअपका साथै चभ्रोलेट इम्पाला र क्याडिल्याक सेडानको उत्पादन हुने गर्दछ ।

ओशावाका मेयर जोन हेनरीले यो खबर सत्य नहोस् भन्ने चाहेको बताउनुभयो ।

ओन्टारियो प्रान्तमा जिएमका अरु तीनवटा प्लान्ट छन् । जिएमको नयाँ योजनबाट यी कारखानामा असर पर्ने वा नपर्ने अझै स्पष्ट भइसकेको छैन ।

गत महिना, कम्पनीले खर्च कटौती गर्न उत्तर अमेरिकाका कारखानामा कार्यरत श्रमिकको संख्या कटौती गर्ने घोषणा गरेको छ । यो योजनाबाट अमेरिका, क्यानाडा र मेक्सिकोका कारखानामा कार्यरत करिब ५० हजार श्रमिक प्रभावित हुनेछन् । यीमध्ये करिब १८ हजार अर्थात् करिब ३६ प्रतिशतको रोजगारी गुम्नेछ ।

पहिलो चौमासिकमा जिएमको आय २ अर्ब ५० करोड डलर थियो । अमेरिकी करवृद्धि र बिक्रीमा आएको मन्दीका कारण कम्पनीको आयमा नकारात्मक प्रभाव परेको छ । (रासस/एएफपी

Facebook Comments

सम्बन्धित समाचार