सामा पर्व सम्पन्न

  • शुक्रबार, मंसिर ७, २०७५
सामा पर्व सम्पन्न

महोत्तरीसहित मिथिला क्षेत्रमा सामाचकेवा पर्व बिहीबार राति सम्पन्न भएको छ । द्वापर युगका पौराणिक पात्र सामा चकेवा ९श्रीकृष्ण पुत्री सामा र उनका प्रेमी चक्रधर० को अमर प्रेमको सम्झनामा यस पर्वमा खेलिने खेल कात्तिक शुक्ल पञ्चमीदेखि शुरु भएर पूर्णिमाका दिन समापन गरिने परम्पराअनुसार बिहीबार राति सम्पन्न गरिएको हो ।

बोलीचालीमा सामा मात्र भनिने यो पर्वलाई दाजुभाइ दिदीबहिनीबीच प्रेम र सद्भावको प्रतीकको रुपमा लिँदै दिदीबहिनीले चकमन्न रातमा बस्तीका चौबाटोमा जम्मा भएर आफ्ना दाजुभाइको सौर्य (बहादुरी)को बखान गर्दै सामूहिक गीत गाएका थिए ।

कात्तिक पूर्णिमाका दिन माटो मुछेर बनाइएका चुगला, बृन्दावन, सप्तर्षिसहितका आकृति दाजुभाइले घुँडामा राखी फुटाएपछि दिदीबहिनीले जोतेको खेतमा ती टुक्रा विसर्जन गर्दै हिजो बिहीबार राति सामा समापन गरिएको हो । अघि द्वापर युगमा श्रीकृष्णका पुत्र साम्वले आफ्नी बहिनी सामाको चारुवक्त्रसँगको प्रेम सफल बनाउन गरेको योगदानको स्मरणमा दाजुभाइलाई सम्झना गर्ने गरिएको सामा खेल्ने मिथिलानी बताउँछन् ।

पर्वको समापनमा दिदीबहिनीले दाजुभाइलाई मिष्ठान्न परिकार ख्वाउने र दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई दक्षिणा दिने गर्दछन् । यो पर्वले दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम र सद्भाव प्रगाढ बनाउने मैथिल विश्वास गर्छन् ।

Facebook Comments

सम्बन्धित समाचार