नेपाल कमर्स क्याम्प, काठमाडौंबाट २०५६ सालमा एमबीए पास गरेका कुमार बहादुर खत्री अहिले निकै चर्चामा रहेका छन् । पछिल्लो समय २० औं स्थानमा दर्ता भएको बीमा कम्पनी अजोड इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) खत्री साहसी र निडर स्वभावका हुनुहुन्छ । उनीले बीमा क्षेत्रमा पहिलो कदम वि.सं. २०५१ सालमा अधिकृत पदमा नेपाल इन्स्योरेन्स कम्पनीबाट सुरु गर्नुभएको यात्रा ९ वर्षसम्म निरन्तर चलिरह्यो ।

आधाजीवन बीमा सेवामै बिताएका खत्रीले एनबी हालको (IME जनरल इन्स्योरेन्स कम्पनी)मा करिब २ वर्ष नायव प्रबन्धकको रुपमा काम गनुभयो । त्यसपछि २०६२ साल देखि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा प्रबन्धकका रुपमा प्रवेश गरेका खत्री आफ्नो अथक मेहनत परिश्रमले नायक महाप्रबन्धक बन्नु सफल हुनभएको थियो ।

उनीले बीमा क्षेत्रमा गरेको मेहनत, परिश्रम र योगदानलाई निरन्तरता दिदै खत्री गत अषाढ १ देखि अजोड इन्स्यारेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीइओ)का रुपमा कार्यरत रहनु भएको छ । यिनै सीइओ खत्रीसँग बीमा किन आवश्यक छ, बीमाको पहुँच नबढ्नुको कारण र अजोड इन्स्योरेन्स कम्पनीको पछिल्लो वित्तिय अवस्थाका बारेमा वरिष्ठ पत्रकार भूपेन्द्र आचार्यले गरेको कुराकानीको सम्पादित अंशः सम्पादक

अजोड इन्स्योरेन्स कम्पनीलाई स्थापना गर्न कतिको कठिन भयो ?
कम्पनी त २०६३÷०६४ मा नै दर्ता भईसकेको हो । दर्ता भएको समयमा त्यति खेर थापाथलीमा कार्यालय राखि तत्कालीन सिइओ देखि अन्य कर्मचारीहरु राखि करिब २ वर्ष चल्यो । तत्कालीन अवस्थामा लाइसेन्स नपाउने भएपछि कम्पनी बन्द गरिएको थियो ।

अहिले आएर उक्त समयमा लाइसेन्स नपाएका ९ वटा जीवन बीमा कम्पनीहरुलाई अहिले सरकारले लाइसेन्स दिएको छ । भने ५ वटा निर्जीवन बीमा कम्पनीमध्ये एउटाको दर्ता खारेज पनि भयो र एउटा कम्पनीले लाइन्सेसको प्रक्रिया अगाडि बढाएन भने ३ वटाले लाइसेन्स प्राप्त गरेका छन् । त्यसमा अजोड इन्स्योरेन्स पनि पर्छ । म यस कम्पनीमा लाइसेन्स प्राप्त भएपछि मात्र आएको हुँ ।

नेपालमा बीमा कम्पनी बढेसँगै बजारमा पनि चुनौति छ नि हैन ?
इन्स्योरेन्स कम्पनीको सख्या त बढेको पक्कै हो । बजार लिन गाह्रो पनि हो तर तपाईले भने जस्तो गाह्रो नहोला । अहिले अवस्थामा भन्ने हो भने नेपालको मार्केटको पेनिटेशन हेर्ने हो भने ८/९ प्रतिशतको हाराहारिमा छ । ४/५ वर्ष पहिले र अहिलेको बीमा बजार हेर्ने हो भने एकदमै परिवर्तन भएको छ ।

४/५ वर्ष अगाडी ६÷७ अर्बको बजार गत आ.व.सम्म पुग्दा २२ अर्ब पुगेको छ । त्यसले गर्दा एकतिर चुनौति छ भने अर्कोतिर काम गर्ने हो भने बजार पनि छ । तर यसमा सबैको समान भूमिका हुनुपर्छ । नेपाल सरकार, बीमा समिति, इन्स्यारेन्स कम्पनी सबैको भूमिका उत्तिकै रहन्छ । समग्रमा भन्दा नेपालमा बीमा बजार चुनौतीको साथसाथै थुप्रै अवसरहरु पनि छन् ।

सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम के हो त ?
यो स्वास्थ्य बीमा पहिला देखि नै थियो । नेपाल सरकारले कतिपय जिल्लामा चलाएको पनि छ । त्यो पनि नेपाल सरकारको काम होइन भन्या हो हामीहरुले । यो बीमा कम्पनीको काम हो । यो काम सरकारले गरेको छ । यो दिगो हुँदैन । यो अभियान स्वागत योग्य नै छ । यसमा कर छुट पनि दिएको छ । यसमा पनि ठुलो बीमा बजार छ । यो जरुरी पनि छ र यो हुनु पनि पर्छ ।

अहिले धेरै कम्पनीहरुले नगदरहित सुविधा विभिन्न अस्पतालहरुमा सुरु गरेका छन् । त्यस्तै हामीहरुले पनि सुरु गरेका छौं । यो राम्रो पनि हो यसले बीमा बजार पनि बढाउछ् र जनताको स्वास्थ्य सरोकारमा सकरात्मक भूमिका निर्वाह पनि गर्छ । जसले गर्दा यसलाई राम्रो कुरा मान्न सकिन्छ ।

यो नगद रहित भन्नेचाहि के हो ?
नगदरहित भनेको बीमा कम्पनीबाट ग्राहकले पाउने रकम अस्पताल र बीमा कम्पनीको समझदारी रहेको अवस्थामा ग्राहकले बीमा कम्पनीबाट प्राप्त गर्ने रकम सिधा अस्पतालले बीमा कम्पनीबाट लिने गर्दछ ।

ग्राहकले उक्त रकम तिर्नु पर्देन । बीमाले कभर नगर्ने केही कुराहरु छ भने तिर्ने र बीमाले कभर गर्ने जति पनि रकम अस्पतालले सिधा बीमा कम्पनीसँग लिन्छ । यसले गर्दा ग्राहकलाई बीमा दाबी गर्न झन्झट पनि हुँदैन ।

अहिले बजारमा माइक्रो इन्स्योरेन्स आएको छ यसको बारेमा केही बताइदिनु हुन्छ कि ?
यसमा दुई कुरा छन् । कृषि तथा पशु र निम्न आय स्तर भएकाहरुको लागि गरिने स–साना कुराहरुको बीमा नै माइक्रो इन्स्यारेन्स हो । यसमा सरकारले सीमा तोकिदिएको छ । सानो सानो घर २ लाख सम्मको झुपडी भएकाहरुलाई ५ लाख सम्मको दुर्घटना बीमा, ५० हजारसम्म स्वास्थ्य बीमा, डेढलाख सम्मको गाई भैंसी बीमा, ५० हजारसम्मको कृषि बीमा आदि यस प्रकारका बीमाहरु माइक्रो बीमा अन्र्तगत पर्दछन् ।

माइक्रो बीमाको लागि अहिले हामी २० वटै बीमा कम्पनीहरुले संयुक्त रुपमा एउटा पुल बनाएका छौं । यो अलि बढी खर्चालु पनि छ । यसको प्रिमियम पनि सानो, गाउँगाउँ जानुपर्ने, हामी सबै कम्पनीहरुको त्यो पहुँच पनि छैन । त्यसले गर्दा यसलाई हामीले पुल बनाएका छौं । यसको पोलिसीहरु २० वटै कम्पनीहरुको पुल मार्फत पोलिसीहरु बजारमा आउने गर्दछन् । जसले पोलिसी जारी गर्दछ उसले ५ प्रतिशत अतिरिक्त खर्च दिन्छौं ।

बाँकी सबै कम्पनीहरुको बराबर हुन्छ । अहिले शिखर इन्स्यारेन्सले पोलिसी जारी गर्छ । र त्यसको जति खर्च हुन्छ, त्यसमा हामी र सक्षम भन्ने सामाजिक संस्थाले ५० – ५० प्रतिशत खर्च ब्यहोर्ने गर्दछौँ । यसमा घाटा नाफा जे भएपनि २० वटै कम्पनीको समान सहभागिता रहन्छ ।

माइक्रो पनि अन्तराष्ट्रिय बजार र नेपालमा हेर्न हो भने धेरै ढिलो सुरु भएको हो । यो भर्खर सुरु भएको छ । यसको नेपालमा बजार राम्रो पनि छ । नेपालमा यसको जरुरी पनि छ । यसले पछि राम्रो प्रतिफल दिन्छ । हामी यसमा शुरुवाती चरणमा छौं ।

हरेक क्षेत्रबाट हेर्दा नेपालमा बीमाको बजार व्यापक देखिन्छ । तर यसको सोचे जस्तो प्रगति भइरहेको छैन किन के होला ?
सोचे जस्तो बीमा नभएकै हो । २०७२ सालको महाभुकम्प पनि बीमालाई हेर्नेहो भने लगभग १५ अर्ब मात्र बीमाले ब्यहोरेको थियो तर बाँकी त सबै आफ्नै घाटा भयो नि होइन ? एउटा कुरा हाम्रो जस्तो बिकासशील मुलुकमा बीमा कम्पनीले मात्रै चाहेर हुँदैन । सरकारले पनि चाहानु पर्छ । मुख्य गरी प्रचार प्रसार कै कमी छ । विशेषत नेपाल सरकार कै पहिलो दायित्व हुन्छ । जसरी अहिले मोटरसाइकलमा थर्डपार्टी बीमा अनिवार्य गरेको छ । त्यसैगरी नेपाल सरकारले घर बीमा लगायत अन्य कुरामा पनि चासो दिन आवश्यक देखिन्छ ।

केही वर्ष मात्रै नेपाल सरकारले कर तिर्ने ठाउँमा अथवा मालपोत, तिरो तिर्ने ठाउँ लगायत अन्य सरकारी कार्यालयमा बीमा गरेर ल्याउ भनि दिने काम नेपाल सरकारबाट भएमा उपयुक्त हुने देखिन्छ । त्यसका लागि सरकारले स्वास्थ्य बीमामा कर छुट जस्तो घर बीमा लगायत अन्य बीमामा पनि केही वर्ष कर छुटमा राखि दियो भने यता बीमा पनि हुने र अर्को तिर ग्राहकले सुविधा पनि पाउने । त्यसले गर्दा हो भने जनता पनि सुरक्षित हुने, बीमा कम्पनीको व्यापार हुन्छ र देश विकासलाई पनि पुँजी निर्माण हुन्छ ।

यसले गर्दा देशमा हुने प्राकृतिक विपत्तीहरुमा दिने राहतहरुको पनि बचत हुन्छ । हरेक मानिसहरुको घर बीमा, स्वास्थ्य बीमा लगायतका बीमा गरेर पहिले नै सुरक्षित भइसेकेको हुन्छ नि । जसबाट सरकारलाई पर्न जाने आर्थिक भार पनि त कम हुन्छ नि । बीमाले समग्रमा सबैलाई फाइदा नै गराउँछ ।

बीमा बजारमा स्वास्थ्य प्रतिस्पर्धा भएको छैन भनिन्छ नि सत्य हो ?
यसमा आचार संहित पनि छ ट्यारीफ पनि छ । कुनै पनि ट्यारीफ बिजनेसमा तलमाथि गर्न पाइदैन । केही केही नन् ट्यारीफ बिजनेशहरुको दर तोकिएको हुँदैन त्यो आफैले तोक्ने हो । त्यसलाई नन् ट्यारीफ भन्छौं । त्यसमा अलि प्रतिस्पधा भएको हो । तर त्यस्तो अस्वस्थ प्रतिस्पर्धा भएको जस्तो मलाई लाग्दैन ।

प्रतिस्पर्धा भनेको सेवामा गर्नुपर्छ, छिटो छरितो सेवा दिने र भोलि ग्राहकले नै सम्झिने ठाउँ राखिदियो भने त्यो अस्वस्थ प्रतिस्पर्धा त स्वतः आफै घटेर जान्छ नि र हाम्रो उद्देश्य भनेको स्तरीय सेवा दिने समयमा सेवा दिने, सफ्वेयर टेक्नोलोजि राम्रो प्रयोग गर्ने, हामी सबै स्थानमा अनलाइनमा सेवा दिन सक्छौं । प्रस्पिर्धा दरमा होइन सेवामा गर्नुपर्छ । तर राम्रो सेवा दियो भने यस्ता कुराहरु हट्दै जान्छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पुनर्बीमामा बढी रकम राख्नु पर्ने कुरा आयो यसमा बीमा कम्पनीहरुलाई कस्तो असर पर्ला ?
पुनर्बीमा नेपालमा गराउन जरुरी नै छ । तर त्यहा केही कुराहरु अस्पष्ट जस्तो देखिएको छ । एउटा कुरा के हो भने कम्पनीले आफुले धारण गर्ने क्षमता हुन्छ । त्यो भन्दा माथिको हामीले पुनर्बीमा गर्ने हो । तर यहाँ नेपाल सरकारले के ल्याइदियो भने हरेक बीमा पोलिसीको २० प्रतिशत पुनर्बीमालाई दिने भन्ने कुरा आउँदा अलि अस्पष्ट भएको हो । त्यतिवेला राम्रोसँग नबुझेर होला अहिले ती कुराहरु कार्यान्वयनमा छ । यी कुराहरु भोलीका दिनहरुमा सुध्रिएला भन्ने आशा छ ।

विदेशमा बढेको र नेपालमा कम भएको भन्ने कुरा पनि आएको छ त ?
विदेशमा मात्र बढेको भन्दा पनि उनीहरुले पनि रिक्स लिएर गर्ने हो । अहिले नेपालकै पुनर्बीमा कम्पनीले बिदेशमा गएर पनि काम गरिरहेका छन् । पुनर्बीमा भनेको एउटै देशमा बसेर गर्दा रिक्स अलि बढि हुन्छ ।

देशको अर्थतन्त्रमा बीमाको कस्तो भूमिका रहन्छ त सीइओ साब ?
बीमाले देशको अर्थतन्त्रमा ठूलो टेवा पू¥याएको हुन्छ । किनभने लामो समयको लगानीको लागि बीमा नै एउटा माध्याम हो । त्यहाँबाट आएको पैसा लामो समय प्रयोग गर्न सकिन्छ । त्यसले गर्दा भोलि विकासका पूर्वाधारहरु, संरचनाहरु बनाउन, ठूला ठूला आयोजनाहरु बनाउन यो नभईकन हुँदैन । बीमा देशको अभिन्न अंग नै भनु अथवा देशको मेरुदण्डको रुपमा लिन सकिन्छ ।

बीमा कम्पनीमा दक्ष कर्मचारी अभावको कुरा चलिरहेको छ । तपाईले यसलाई कसरी लिनु भएको छ ?
मानिसहरुको आ–आफ्नै हेर्ने दृष्टिकोण होला । अभावै त नभनु । केही हदसम्म थियो । तर दक्ष जनशक्तिको अभाव नै भएको म चाँहि मान्दिन । अहिले पनि कत्ति मानिसहरु घर बसिरहेका छन् । आफु अनुकुलको पाएनन् भन्ने एउटा कुरा हो तर दक्ष जनशक्ति अभावैचै होइन ।

सबै कम्पनीहरु चलिरहेकानै छन् । अब त नेपालमा इन्स्योरेन्स टेनिङ्ग इन्स्टिच्युट लि.को कम्पनीहरु र बीमा समितहरुको सयुक्त सहभागितामा स्थापना भएको छ र यसले पनि आफ्नो काम गर्न शुरु गरेको छ । टे«निङ्ग दिनुका साथ सथै बिस्तार बिस्तारै पाठ्यक्रमहरु नै बनाएर लागु गर्नेभन्ने कुराहरु पनि भएका छन् । त्यसले गर्दा हिजोका दिनहरुमा केही भए होलान् । अब त्यो स्थिति देखिदैन ।

कारोबार सुरु भएको करिब १ महिनामै कम्पनीले करिब ३/४ करोड नाफा देखाइदिनु भयो । त्यो कसरी सम्भव भयो ?
यो त अब सिधै देखिने कुरै भयो । बीमा समितिमा लाइसेन्सको लागि ७० करोड पैसा मुद्धतीमा राख्नु पर्ने त्यही पैसाको ब्याज नै हो मुख्य । हामीले अन्तिमा १०/१२ दिन २४/२५ लाखको कारोबार गरेको हो । सो समयमा हाम्रो कर्मचारीहरु पनि कम थिए । हामी ३÷४ जनाले काम गरेका थियौं । जसले गर्दा खर्च पनि भएर त्यसले नाफा त ब्याज आम्दानीबाट नै भएकोे हो ।

अजोडको वित्तिय अवस्था र शाखा सञ्जाल अब कसरी अघि लानुहुन्छ त ?
१ अरबमा आएको कम्पनी भएकाले यसको वित्तिय अवस्था त राम्रो हुने नै भयो । २० औं वर्ष पुरानो वीमा कम्पनीहरुकै दाँजोमा हामी जान सक्छौं । हाम्रो संस्थापकले हालेको पुजी ७० करोड छ । आपिओबाट ३० करोड रकम जम्मा हुनेछ ।
फिक्स डिपोजटिमा करिब ७२ करोड र हाम्रो धेरै संरचनाहरु पनि बनि सकेका छन् । यो वर्ष हाम्रो प्रिमियम कलेक्सनको तार्गेट ६० करोड रहेको छ ।

शाखा सञ्जाल भन्नुहुन्छ भने हामी मुख्य कार्यालय बाहेक यो वर्ष २६ शाखा सञ्चालनमा ल्याउने तयारीमा छौं । जसमा धनगढी, सुर्खेत, भैरहवा, पोखरा, नारायणगढ, विरगंज, बिराटनगर, वितामोड गरी ८ वटा संचालनमा आइसकेका छन् । एउटा दशैंपछि सञ्चालनमा आउँदैछ । कात्र्तिक देखि मंसिरसम्ममा काठमाडौं लगायत देशभरी नै २६ वटा शाखा संचालनमा ल्याउने उद्देश्य हो । त्यो अनुसार हामी काम गरिरहेका छौ ।

जनस्तरमा बीमा सम्बन्धी ज्ञान नहुनुको मुख्य कारण के होला ?
मुख्यत जनचेतना नै हो । अर्को आर्थिक अवस्था । सकेसम्म पहिला खाने लाउने तिर ध्यान दिन्छन् । अर्को कुरा हामीमा बीमा गर्ने संस्कार नै छैन । विदेशमा हो भने खान बस्न भन्दा पनि पहिला बीमा हुन्छ । बीमा नगरी केही पनि गर्न पाइदैन । विदेशमा त्यस्तो छ । तर नेपालमा जनचेतना र बीमाको संस्कार भएन । जनचेतना एउटा कम्पनीले गरेर सक्दैन । बीमा समिति, नेपाल सरकार, नेपाल बीमक संघ सबैले बीमा सम्बन्धी जनचेतना फैलाउन सकेको अवस्थामा भोलिका दिनमा बीमा बजार राम्रो पनि हुन्छ ।

अन्यमा ?
हामी बीमा कम्पनीहरुमा सबै भन्दा कान्छो बीमा कम्पनीको रुपमा सेवामा प्रस्तुत भएकाछौ । हाम्रो सेवा लिई दिनुस् । हामीले दिएको सेवाहरुमा केहि कमि कमजोरीहरु छन् भने औलाई दिनुस् । हामीलाई विश्वास गरि दिनुस् र हामीलाई हाम्रो सेवा दिने अवसर दिनुस् ।आर्थिक बजार मासिक

तपाइको प्रतिक्रिया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रष्ट गर्नुहोस्