• होमपेज
  • फिचर
  • ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अाजदेखि

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अाजदेखि

  • आइतवार, कार्तिक ११, २०७५
‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अाजदेखि

‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नारासाथ शान्तिसुरक्षा, समृद्धि र स्थायित्वका लागि नेपाल प्रहरीले ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको आज शुभारम्भ गरिएको छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घसंस्था तथा विद्यालयसँग साझेदारी रहने गरी आज देशभर एकैसाथ उक्त कार्यक्रम शुभारम्भ गरेको हो ।

काठमाडौँमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले उक्त कार्यक्रम शुभारम्भ भएको घोषणा गर्नुभयो । कार्यक्रमको अवधारणा प्रस्तुत गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा शान्तिसुरक्षामा समुदायसँग समन्वय गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने सरकारको लक्ष्य प्राप्त गर्न अभियान सहयोगसिद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमअन्तर्गत केन्द्रीयस्तरदेखि गाउँतहसम्मै साझेदारी संरचना निर्माण गरिनेछ । अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतनासहित समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने महानिरिक्षक खनालले जानकारी दिनुभयो । “नयाँ अभियानलाई दिगो र दीर्घकालीन बनाउने लक्ष्यसहित स्थानीय तहलाई प्रमुख साझेदार बनाईएको छ”, खनालले भन्नुभयो, “बालबालिका र युवा अपराधको उच्च जोखिममा रहेकाले विद्यालय केन्द्रित कार्यक्रम प्राथमिकतामा छन् ।”

तथ्याङ्कमा ४० प्रतिशत जनसङ्ख्या विद्यालय क्षेत्रसँग सम्बद्ध छ । अपराधमा १६–२५ वर्षका बढी संलग्न छन् । त्यस्तै १८ वर्षमुनिका बालबालिका बलात्कारको शिकार भएका छन् । त्यसैले साझेदारी कर्याक्रम विद्यालयसँग जोड्न लागिएको खनालले बताउनुभयो । भयमुक्त समाज, गुणस्तरीय शिक्षा, अपराध एवं हिंसाबाट सुरक्षा, शान्ति र स्थायित्व कायम गर्ने कार्यक्रमको लक्ष्य हो । अभियान सफल पार्न टोलटोलमा प्रहरी, नागरिकमैत्री प्रहरी सेवा, समुदाय र विद्यालय सचेतना कार्यक्रम एकसाथ चलाइनेछ । स्थानीय तहसँगको समन्वयमा विद्यालयमा समेत सामुदायिक सुरक्षा पाठ्यक्रम बनाएर लागू गरिनेछ ।

कार्यक्रममा ७५३ स्थानीय तहसँग समन्वय गरिनेछ । दश हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, चार लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक प्रत्यक्ष संलग्न गराइने जनाइएको छ । विगतका कार्यक्रमभन्दा यसपटक फरक परिणाममुखी काम गर्ने प्रहरीको योजना छ ।

यसरी बन्नेछ साझेदारी संयन्त्र

प्रहरीले ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ अभियान सञ्चालन गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रमा संयोजन र व्यवस्थापनको काम गर्नेछ । प्रादेशिक तहमा प्रदेश प्रहरी कार्यालयले समन्वय गर्नेछ । जिल्लामा समुदाय–प्रहरी जिल्ला समिति, समुदाय–प्रहरीपालिका समिति, समुदाय–प्रहरी वडा समिति, समुदाय–प्रहरी टोल समिति र प्रहरी–विद्यालय सम्पर्क समिति गठन हुनेछ ।

जिल्ला संयोजकमा प्रजिअ रहने र स्थानीय तहका प्रमुख तथा प्रहरी कार्यालयले तोकेको प्रहरी अधिकृत सहसंयोजक रहनेछन् । उक्त संयन्त्रमा विभिन्न सामाजिक सङ्घसंस्था, नेपाल पत्रकार महासङ्घ, राष्ट्रिय समाचार समिति र सरोकार राख्ने सङ्घसंस्थालाई सहभागी गराइने प्रहरी महानिरीक्षक खनालले बताउनुभयो ।

यस्ता छन् गर्ने काम

कार्यक्रमले सुरक्षा समन्वयमा महत्वपूर्ण भूमिका खेल्नेछ । यसका लागि विभिन्न १२ वटा प्राथमिकता क्षेत्र छुट्याइएको छ । विद्यालयका लागि १० प्राथमिकता क्षेत्र तोकिएको छ । मुख्यतः प्रहरी विद्यालय सम्पर्क कार्यक्रम, सामुदायिक सचेतना र अपराध रोकथाम, सूचना सङ्कलन र आदानप्रदान गर्नेछ । त्यस्तै यसले प्राकृतिक सम्पदाको दोहन नियन्त्रण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, साइबर अपराध नियन्त्रण, सुरक्षा उपकरण विस्तार, सामाजिक विकृति तथा बेचबिखन नियन्त्रणमा भूमिका खेल्नेछ ।

पर्चा–पम्प्लेट वितरण गर्नेदेखि घरघरमा पुगेर जानकारी गराइनेछ । अप्ठ्यारो पर्दा कहाँ सम्पर्क गर्ने भन्ने जानकारीसमेत संयन्त्रमार्फत नै हुने प्रहरी महानिरीक्षक खनालले बताउनुभयो । प्रशिक्षण, सामुदायिक गस्ती, अन्तरक्रिया, एकीकृत स्वयंसेवक परिचालन, सूचना आदानप्रदान, सार्वजनिक सुनुवाइलगायत कार्यक्रम सञ्चालन गरिनेछ ।

साझेदारीबाट मात्रै दिगो शान्ति र समृद्धिः गृहमन्त्री थापा

गृहमन्त्री थापाले समुदायसँगको साझेदारीबाट मात्रै दिशो शान्ति कायम हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरीले ल्याएको अवधारणा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको शुभारम्भ गर्दै गृहमन्त्री थापाले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने मुलुकको सपना साकार पार्न शान्ति र सुरक्षा सुनिश्चित हुनुपर्ने बताउनुभयो ।

शान्ति र सुरक्षित समाज निर्माणका लागि आजको दिनलाई ऐतिहासिक दिनको सङ्ज्ञा दिँदै गृहमन्त्री थापाले भन्नुभयो, “दिगो शान्ति, सुशासन, कायम गर्न अपराधलाई निस्तेज पार्नुपर्छ, विकास र समृद्धिको बाधक भनेकै अपराध हो, नेपाल प्रहरीको यो अवधारणाले अपराध रोक्न महत्वपूर्ण भूमिका खेल्छ ।”

प्रहरीले मात्रै शान्तिसुरक्षा कायम गर्न नसक्ने भएकाले साझेदारी कार्यक्रममा सक्रिय हुन समुदायलाई उहाँले अपिल गर्नुभयो । अहिलेसम्म अस्थिरता निम्त्याउने तत्वलाई नियन्त्रण गर्न नसक्दा समृद्धि हासिल गर्न नसकिएको उहाँको जिकिर थियो । देशमा मदिरा र लागुऔषधको दुरुपयोगले हिंसा र अपराध बढेकामा चिन्ता प्रकट गर्दै गृहमन्त्री थापाले यसलाई निस्तेज पार्ने नयाँ अभियान थालिएको समेत जानकारी गराउनुभयो ।

गृहसचिव प्रेमकुमार राईले मुलुकको शान्ति र सुव्यवस्थामा शान्तिसुरक्षा र सुशासन पहिलो शर्त रहेको औँल्याउनुभयो । शान्तिसुरक्षामा देखिएको समस्या साझेदारी कार्यक्रमले समाधान गर्ने विश्वास राईको छ । उहाँले विगतका कमजोरी दोहोरिन नदिनतर्फ प्रहरीलाई सचेत गराउनुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले टोलटोलमा पुग्ने गरी निर्माण भएको संयन्त्र आफैँमा महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले स्थानीय तहको वार्षिक कार्यक्रमका रुपमा उक्त अवधारणा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रहरी नागरिकको साझेदारीले शान्तिसुरक्षा प्रभावकारी हुने भन्दै कार्यक्रमको प्रशंसा गर्नुभयो । कलाकार मनोज गजुरेलले संयुक्त अभियान आफैँमा महत्वपूर्ण भएको भन्दै कार्यक्रम सफल पार्न नागरिकको भूमिका पनि उत्तिकै जिम्मेवार रहेको प्रतिक्रिया दिनुभयो । रासस

Facebook Comments

सम्बन्धित समाचार