• होमपेज
  • विकास
  • नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह

  • आइतवार, कार्तिक ११, २०७५
नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह

सर्विया भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि सर्वियाका उद्योगी तथा व्यवसायीलाई उत्प्रेरित गरिदिन आग्रह गर्नुभएको छ ।

मन्त्री पुन र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकबीच शनिबार भएको भेटवार्तामा मन्त्री पुनले सो आग्रह गर्नुभएको हो । ‘युरो–एसिया इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन सर्विया पुग्नुभएका ऊर्जामन्त्री पुन र उपप्रधानमन्त्री इभिकाबीच द्विपक्षीय हितका विषयमा छलफल हुनुका साथै दुबै देशका बीचमा आगामी दिनमा गर्ने सहकार्यका विषयमासमेत कुराकानी भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले केही समय पहिले उपप्रधानमन्त्री इभिकाले गरेको नेपाल भ्रमणप्रति नेपाल सरकार, परराष्ट्रमन्त्री र आफ्नो व्यक्तिगत तर्फबाट धन्यवादसमेत व्यक्त गर्नुभएको थियो । भेटमा मन्त्री पुनले नेपाल र सर्विया असंलग्न आन्दोलनका सहयात्री मुलुक भएको भन्दै आगामी दिनमा समेत विश्व मञ्चमा प्रस्तुत हुँदा साझा धारणा बनाएर जाने प्रस्तावसमेत राख्नुभएको थियो । उहाँले दुबै देशको सम्बन्ध मजबुत बनाउन उच्चस्तरीय भ्रमणको आदानप्रदानमा जोड दिनुपर्ने बताउनुभयो ।

मन्त्री पुनले भेटमा भन्नुभयो, “हामी पुराना सहयात्री मुलुक पनि हौँ, नेपाल र सर्वियाको द्वन्द्व र शान्तीको उस्तै–उस्तै अनुभव छ, आगामी दिनमा विश्वमञ्चमासमेत साझा धारणा बनाएर अघि बढाँैं ।” नेपाल लामो समय द्वन्द्वमा गुज्रेको भन्दै मन्त्री पुनले अहिले देश स्थायित्वको युगमा प्रवेश गरिसकेको र मुलुकमा मजबुत सरकार बनेकाले लगानीको उचित वातावरण बनेको जानकारी सर्वियाली उपप्रधानमन्त्रीलाई गराउनुभएको थियो ।

मन्त्री पुनले नेपालको ऊर्जा र जलविद्युत् क्षेत्रमा लगानीको लागि सर्वियाली लगानीकर्तालाई उत्प्रेरित गरिदिन समेत आग्रह गर्नुभयो । उहाँले सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य अघि सारेको भन्दै त्यसमा लगानी जुटाउन आफूले पहल गरिरहेको धारणा राख्नुभयो । सरकारले नेपालमा बाह्य पर्यटकलाई भित्र्याउन नेपाल भ्रमण वर्षको कार्यक्रम अघि सारेको भन्दै त्यसमा सर्वियाली पर्यटकलाई नेपाल भ्रमणमा पठाउने वातावरण बनाइदिन पनि उहाँले उपप्रधानमन्त्रीसँग आग्रह गर्नुभयो ।

“तपाई आफै पनि नेपाल भ्रमणमा जानुभएको छ, नेपाल निकै सुन्दर छ, सरकारले अघि सारेको अभियानमा सर्वियाली पर्यटकलाई नेपाल भ्रमणको लागि उत्प्रेरित गरेर सहयोग गर्नुभयो भने हामी आभारी हुने थियौंँ ।’ भेटमा मन्त्री पुनले भन्नुभयो । जवाफमा सर्वियाका उपप्रधानमन्त्री इभिकाले नेपालसँगको सम्बन्ध मजबुत बनाउन सर्विया इच्छुक रहेको भन्दै नेपालमा लगानीको लागि आफूले निजी क्षेत्रलाई उत्प्रेरित गर्ने र सर्वियाली पर्यटकलाई नेपाल भ्रमणमा जानको लागि वातावरण बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

उहाँले इनर्जी फोरममा नेपालले सहभागिता जनाउनुले पनि नेपाल र सर्वियाबीचको सम्बन्ध मजबुत भएको पुष्टि गरेको भन्दै आगामी दिनमा समेत दुबै देशको बिचमा थप सहकार्य हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार