• होमपेज
  • कृषि
  • धान भित्र्याउन कृषक व्यस्त

धान भित्र्याउन कृषक व्यस्त

  • सोमवार, कार्तिक ५, २०७५
धान भित्र्याउन कृषक व्यस्त

दशैँको बेलामा दशैँ मान्ने र टीका थाप्न जाने चटारो परे पनि भक्तपुरका कृषकलाई भने खेतमा पाकेको धान भित्र्याउने चटारो परेको छ ।

खेत खेतमा धान पाकेपछि दशैँ मान्नभन्दा पनि धान काट्न कृषक व्यस्त भएका हुन् । अधिकांश मान्छे टीका थाप्न आफन्तकहाँ गए पनि भक्तपुरका कृषक भने बिहान, बेलुका टीका थाप्न गए पनि दिउँसोको समयमा भने धान काट्न खेत खेतमा पुग्ने गरेका छन् ।

यस वर्ष समयमै वर्षा भएकाले धानको उत्पादनसमेत वृद्धि हुने भए पनि असिना, पानी पर्ने डरले कृषकले दशैँको पर्वाह नगरी धान भित्र्याउने चटारोमा लागेका हुन् ।

चाँगुनारायण नगरपालिका–१० चित्तपोलका कृषक रामकृष्ण खत्रीले आकाशमा बाँदल देखिएपछि असिना पानी परेर धान झार्ला भन्ने डरले दशैँको पर्वाह नगरी धान भित्र्याउन लागेको बताउनुभयो । वर्ष दिनभरि खाने धान पाकिसकेकाले खेतमा छोडेर दशैँ मान्ने भन्दै समय खेर फाल्न नसकिएकाले खेतमा धान काट्न आएको बताउँदै उहाँले भ्याएसम्म साँझ बिहान आफन्तको टीका थाप्न जाने बताउनुभयो ।

मौसम बिग्रेर असिना पानी आएर धान झार्ला भन्ने पीर छ भक्तपुरका सबै कृषकलाई । त्यसैले पाकेको धान काट्ने चटारो छ भने धान काट्नका लागि ज्यामीसमेत नपाउँदा थप समस्यामा परेका छन् कृषक ।

अहिले भक्तपुर नगरक्षेत्र, चाँगुनारायण नगरपालिकाको चित्तपोल, ताथली, सुडाल, बागेश्वरी, छालिङ, चाँगु, दुवाकोट, सूर्यविनायक नगरपालिकाको गुण्डु, सिपाडोल, नङ्खेल, बालकोट, सिरुटार, दधिकोट र थिमी नगरपालिका क्षेत्रमा धान काट्न चटारो परेको छ ।

यस वर्ष असार र साउन महीनाभित्र जिल्लाको सबै क्षेत्रमा धान रोपाइँ सकिएकाले धान पनि चाँडै पाकेको र उत्पादन पनि राम्रो भएको कृषकले बताएका छन् । “यस वर्ष धान राम्रो उत्पादन भएको छ, धान असिनाले झार्ला भन्ने डर भएकाले धान काट्न चटारो परेको चागुनारायण–९ ताथलीका राजाराम श्रेष्ठले बताउनुभयो ।”

Facebook Comments

सम्बन्धित समाचार