• होमपेज
  • विकास
  • एक वर्षमा एक सय किलोमिटर सडक

एक वर्षमा एक सय किलोमिटर सडक

  • सोमवार, कार्तिक ५, २०७५
एक वर्षमा एक सय किलोमिटर सडक

स्थानीय तहको निर्वाचनपछि भीमदत्त नगरपालिकामा एक सय किलोमिटर सडक निर्माण गरिएको छ ।

गत आवमा नगरपालिकाका सबै वडामा सडक निर्माण गरिएको छ । केही वडामा नयाँ सडक निर्माण पनि गरिएको छ । गत आवमा चुरे फेदमा रौटेलादेखि ब्रह्मदेवसम्म जैविक मार्ग निर्माण गरिएको छ । १२ किलोमिटर लम्बाइको सो जैविक मार्ग १८ देखि २२ मिटर चौडाइको छ ।

नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले धार्मिक पर्यटन प्रवद्र्धन, स्थानीयवासीलाई आवतजावतमा सुविधा र नगर क्षेत्रलाई चक्रपथबाट जोड्ने लक्ष्यका साथ गत वर्ष जैविक मार्ग निर्माण गरेको जानकारी दिनुभयो । सो मार्गमा ट्र्याक खोलेर ग्राभेलिङ गरिएको छ ।

“नगर क्षेत्रमा सडक पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाएका छौँ, गत वर्ष जैविक मार्गसहित सबै वडामा सडक निर्माणका कार्य गरिएका छन्”, प्रमुख विष्टले भन्नुभयो, “यस वर्ष पनि सडक निर्माणलाई प्राथमिकता दिएर अघि बढाएका छौँ ।”

भीमदत्तलाई समृद्ध नगर बनाउने लक्ष्यअनुसार पूर्वाधार निर्माण कार्यलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । नयाँ र पुरानो गरी सय किलोमिटर सडक निर्माण गरिएको छ । यसबाहेक ८५ किलोमिटर सडकमा ग्राभेल र २२ किलोमिटर सडक कालोपत्र गरिएको नगरपालिकाले सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी गत वर्ष नगर क्षेत्रमा ४२ वटा कल्भर्टसमेत निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यातायात पूर्वाधार विकासका लागि नगरपालिकाले नगर यातायात गुरुयोजना निर्माण गरिएको छ । गुरुयोजनाअनुसार सडकको नामकरण, स्तरोन्नति, कालोपत्रलगायत कार्य अगाडि बढाइएका छन् । नगरपालिकाका कालोपत्र सडक नभएको वडा नं १९ का चार टोलमा गत वर्ष सडक कालोपत्र गरिएको थियो । अन्य वडा यसअघि कालोपत्र सडकबाट जोडिएका थिए । केही वडामा नयाँ सडकको ट्र्याक खोलेर ग्राभेलिङ गरिएको जनाएको छ ।

स्थानीय तह निर्वाचनअघि साइकल चलाउन नसकिने सडकमा अहिले यात्रुवाहक बस सञ्चालन गरिएको छ । उत्तरमा जैविक मार्गसँगै दक्षिणी क्षेत्रमा झोलुङ्गे पुलदेखि वडा नं १९ बागफाँटासम्म शुक्लाफाँटा पर्यटन मार्ग निर्माण शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

चालू आवमा जैविक र पर्यटन मार्गलाई उच्च प्राथमिकता दिँदै सडक निर्माणका लागि बजेट विनियोजन गरिएको छ । सघन शहरी विकास कार्यक्रमअन्तर्गत ढलसहितका ढेड दर्जन सडकको निर्माण कार्य अघि बढाइएको छ । क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत नगर क्षेत्रमा ३६ किलोमिटर सडक कालोपत्रका लागि सर्भे गरिएको छ । चालू आवमा मझगाउँ विमानस्थल किनारको सडक कालोपत्रका लागि बजेट विनियोजन गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार