• होमपेज
  • अन्तरवार्ता
  • मेगा बैंकलाई नेपालकै प्रतिष्ठित एवं अग्रणी बैंक बनाउने योजना छ

मेगा बैंकलाई नेपालकै प्रतिष्ठित एवं अग्रणी बैंक बनाउने योजना छ

  • शनिबार, अशोज १३, २०७५
मेगा बैंकलाई नेपालकै प्रतिष्ठित एवं अग्रणी बैंक बनाउने योजना छ

तत्कालीन ग्रिनलेज बैंक (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैंक) को टेलरबाट बैंकिङ करिअर सुरु गरेकी अनुपमा खुञ्जेली अहिले मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत छिन् । बैंकिङ क्षेत्रमा २७ वर्षभन्दा बढी समय सेवारत खुञ्जेली वाणिज्य बैंकहरूको पहिलो महिला प्रमुख कार्यकारी अधिकृत हुन् । शैक्षिक रूपमा व्यावसायिक प्रशासनमा स्नातकोत्तर गरेकी खुञ्जेली जनशक्ति परिचालन र उत्पे्ररित गर्नमा प्रखर मानिन्छिन् । स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक हुँदै मेगा बैंक पुगेकी खुञ्जेलीसँग इन्भेष्टमेन्ट बैंकिङमा धेरै काम गरेको अनुभव पनि छ ।

सहायक पदबाट बैंकिङ करिअरको सुरुवाती पाइला चालेकी खुञ्जेली त्यही पाइला धैर्यले दह्रोसँग टेकेर ‘क’ वर्गको बैंकको सिइओसम्म बन्न सफल भएकी छिन् । २७ वर्षसम्म कडा परिश्रम गरिन् । धैर्य डगमगाउन दिइनन् र ‘क’ वर्गको बैंकमा नेपालमै पहिलो महिला सीइओ बन्न सफल भइन् ।

सन् १९९१ मा बैंकिङ करिअर सुरु गर्दा खुञ्जेलीलाई लागेको थिएन ‘कुनै दिन बैंकको सिइओ बन्छु’ भनेर । उनले बैंकिङ क्षेत्रमा करिअर बनाउने सपना पनि बुनेकी थिइनन् । तर आज उनी सीइओ बनेकी छिन् ।

‘व्यवस्थापन संकायमा अध्ययन गरेपछि कि त व्यवसाय गर्नुपर्यो, या त बैंकमा जागिर खानुप¥यो,’ उनी सम्झन्छिन्, ‘पारिवारिक पृष्ठभूमि व्यावसायिक थिएन । तैपनि उनले बैंकिङ रोजिन् ।’

जब उनले बैंकिङ करिअर सुरु गरिन् त्यसपछि भने उनलाई यस क्षेत्रको नेतृत्व तहमा पुग्ने अभिलाषा पलाएर आएको कारण आज उनी १० अर्ब २८ करोड चुक्ता पूँजी भएको मेगा बैंक नेपाल लिमिटेडको सीइओ बनेकी छिन् । यिनै प्रथम महिला सीइओ खुञ्जेलीसँग पत्रकार भूपेन्द्र आचार्यले गरेको कुराकानीको केही महत्वपूर्ण अंश सम्पादक:

मेगा बैंक नेपाल लिमिटेड अन्य वाणिज्य बैंकभन्दा फरक शैलीमा अगाडि बढेको देखिन्छ । कारण चाहिँ के होला ?
हामी अन्य बैंकभन्दा पृथक छौं । अहिले हाम्रा तीन हजारभन्दा बढी प्रमोटर र २ लाख १० हजारभन्दा माथि पब्लिक शेयर होल्डरहरू छन् । जुन अन्य कुनै बैंकमा देख्न पाइँदैन । जहाँ धेरै मानिसहरू समावेश भएका हुन्छन्, जहाँ एउटा मालिक छैन, त्यहाँ सबैको मत लिएर अगाडि बढ्ने भन्ने शैली हुन्छ ।

त्यहाँ हामी एक किसिमको प्रजातान्त्रिक अभ्यासमा चलाउँछौं । अन्य बैंकहरू जस्तो ५० प्रतिशतभन्दा बढी शेयर होल्डिङ भएर एउटा ग्रुपले निर्णय लिने भन्ने मेगा बैंकमा छैन । हामी मेगा परिवार भित्रैबाट निर्णय लिने गर्दछौं । हामीलाई गाइड गर्ने हाम्रा ओनर्सहरू मध्येका देशकै अर्थविद्हरू, प्रतिष्ठित एवं सफल व्यवसायीहरू हुनुहुन्छ । त्यसकै फलस्वरूप हामीले एक अर्बभन्दा माथि नाफा कमाएका छौं ।

मेगा बैंकको स्थापनादेखि नै ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने एउटा नारा थियो । तर अहिले हाइड्रोमा कम लगानी भएको देखिन्छ नि ?
‘हलोदेखि हाइड्रोसम्म’ भनेको हलो र हाइड्रो मात्र भनेको होइन । यो सम्पूर्ण नेपालीको बैंक हो । हामी बैंकिङ साक्षरता देशभर फैलाउन आएका हौं ।

हलो भन्नाले विपन्न वर्गको आर्थिक उन्नत्तिमा लागेका व्यक्तिदेखि लिएर हाइड्रो मतलब ठूला–ठूला प्रोजेक्टहरू हुन् । त्यस बीचमा भएको माइक्रो बैंकिङ, एसएमई बैंकिङ, रिटेल बैंकिङ, मिड करपोरेट बैंकिङ र करपोरेट बैंकिङ लगायत सबै क्षेत्रलाई हामी छुन चाहन्छौं । हामी नेपालका सबै क्षेत्रसम्म पुगेर सेवा दिन चाहन्छौं ।

मेगा बैंकको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?
गत आर्थिक वर्षमा मेगा बैंकको खुद मुनाफा एक अर्बभन्दा बढी भएको छ । जसले बैंकलाई अर्बपति क्लबमा पुर्याएको छ । अहिले हाम्रो निक्षेप ६४ अर्ब पुगिसकेको छ भने कर्जा प्रवाह ६१ अर्बभन्दा बढी भइसकेको छ । बैंकका १०१ वटा शाखाहरू सञ्चालित छन् ।

साथसाथै एक सय १९ वटा शाखारहित बैंकिङ केन्द्रहरू, दुई हजारभन्दा बढी रेमिट्यान्स एजेन्टहरू, १४ वटा एक्सटेन्सन काउन्टरहरू पनि रहेका छन् । समग्रमा यी आँकडाहरूलाई हेर्दा जुन उद्देश्यका साथ बैंक स्थापना भएको थियो, ‘सबै नेपालीको बैंक बनेर सबै वर्ग, समुदायका मानिसलाई सेवा दिन्छौँ, देशभरी बैंकिङ साक्षरता फैलाउँछौँ’ त्यसलाई दुरुस्त उतार्न हामी सफल भएको जस्तो मलाई लाग्छ ।

‘यहाँहरूको विश्वास जित्दै, मेगा बैंक अगाडि बढ्दै’ भन्ने नयाँ सोचलाई पनि अनुशरण गर्न प्रतिबद्ध भएका छौं । बैंक भनेको विश्वासको खेती हो । हाम्रा ग्राहकहरू, प्रवद्र्धकहरू, शेयरधनीहरू लगायत अन्य रेगुलेटरहरूको विश्वास हामीले जित्नैपर्छ । अझ बैंकको सबैभन्दा महत्वपूर्ण सम्पत्ति भनेकै कर्मचारीहरू हुन् ।

आज मेगा बैंक जे छ, त्यो उहाँहरूकै योगदानको कारणले हो । उहाँहरूको पनि विश्वास हामीले जित्नैपर्छ । तसर्थ समस्त सरोकारवालाहरूको विश्वास जित्दै अगाडि बढ्न चाहन्छौं । तीन करोड नेपालीको बैंक मेगा बैंक बनाउने सोच मेरो छ ।

तपार्इं वाणिज्य बैंकको प्रथम महिला सीइओ बन्नुभएको छ । कस्तो अनुभव भएको छ ?
म प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा छु भन्न पाउँदा खुशी महसुस भएको छ । समग्र बैकिङ क्षेत्रकै लागि त्यसमा पनि विशेष गरी निजी क्षेत्रको बैंकका लागि यो ब्रेक थु्र पनि हो ।

यो भनेको सबै महिला दिदीबहिनी जो बैंकिङ क्षेत्रमा करियर बनाउन चाहनुहुन्छ उहाँहरूको लागि एउटा हौसला र गर्वको विषय पनि हो । घर र अफिसलाई समय दिँदै गरेकी महिला पनि बैंकको टप पोजिसनसम्म पुग्न सक्दोरहेछ भन्ने उदाहरण समेत हो यो । यसले गर्दा अहिलेसम्म बैंकिङ क्षेत्रमा नदेखिएको समानता अब भने देखिन सुरु भएको छ । यो हामी महिलाहरूको लागि खुशीको कुरा हो नि ।

तपाईं राणा परिवारकी छोरी, त्यसबेला जागिर सुरु गर्दा सीइओ बन्छु भन्ने लागेको थियो ?
मैले तत्कालीन ग्रिनलेज (हालको स्टान्डर्ड चार्टर्ड बैंक) बैंकबाट सन् १९९१ देखि सहायक (असिस्टेन्ट) लेभलबाट काम गर्न सुरु गरें । असिस्टेन्ट लेभल, अफिसर लेभल, म्यानेजर लेभल र सिनियर म्यानेजर लेभल पार गर्दै अहिलेको अवस्थासम्म आइपुगेको छु । यस बीचमा मैले धेरै चुनौतीहरूको पनि सामना गरें ।

यद्यपि निरन्तर मिहेनत गर्न भने छोडिनँ । यी सब कारणले आज यो ठाउँमा पुगेर सिइओ नै बन्ने चाँहि विश्वास थिएन तर, भइयो । परिवारबाट सहयोग भयो किनकि मेरो बुबा पनि जागिरे भएका कारण मलाई पहिलेदेखि नै हौसला बढेको थियो ।

१० अर्ब २८ करोड पूँजी भएको हजारौं प्रमोटर, लाखौं ग्राहक र लाखौंलाख शेयरधनीको यो बैंक हाँक्ने योजना के कस्ता छन् ?
बैंकमा कुनै पनि व्यक्ति व्यवस्थापन सम्हाल्न आइसकेपछि बैंकको दीर्घकालीन रणनीतिक योजनामा पूर्णतय आबद्ध हुनुपर्छ । कम्तीमा बैंकलाई अबको ५ वर्षमा कहाँसम्म पुर्याउने भन्ने कुरामा स्पष्ट हुनुपर्छ । यो पदमा आउने बित्तिकै रातारात परिवर्तन हुन्छ भन्ने पनि होइन ।

व्यवस्थापनको टप पोजिसनमा भएकाले सम्पूर्ण कामको जिम्मेवारी अब मेरो काँधमा आएको पक्कै हो । हामीले पञ्चवर्षीय योजना तर्जुमा गरिसकेका छौं, जसमा ५ वर्षभित्र कम्तीमा एक सय २० वटा शाखा पुर्याउने, २०० प्रतिशतले बिजनेस भोल्युम ग्रोथ गर्ने र सोही अनुरूपमा नाफा बढाउँदै लग्ने लक्ष्य लिएका छौं ।

अहिले हामी पियर ग्रुपसँग तुलना गरेर अघि बढिरहेका छौं । हामी पियर ग्रुपमा टपमा छौं भन्छौं । अब मिड क्याप बैंकसँग तुलना गरेर त्यसको उच्च स्थानमा पुग्ने लक्ष्य छ । नयाँ प्रोडक्ट ल्याएर व्यवसाय बढाउने योजना पनि छ ।

दिन प्रतिदिन ब्याजदर बढ्नु देशको अर्थतन्त्रका लागि राम्रो संकेत होइन नि होइन र ?
ब्याज घट्ने प्रक्रिया सुरु भइसकेको छ । यसै सम्बन्धमा हालसालै राष्ट्र बैंकले नयाँ नीतिगत व्यवस्था समेत ल्याइसकेको छ । त्रैमासिक रूपमा बेस रेटको आधारमा बैंकहरूले ब्याजदर बढाउन सक्छन् भने घटाउन समयावधि कायम छैन ।

यसका साथै राष्ट्र बैंकले पनि स्प्रेडदरलाई ४ दशमलव ५ प्रतिशतभित्र ल्याउन नीतिगत व्यवस्था जारी गरिसकेको छ । यसले पनि ब्याज घटाउँछ भन्ने कुरालाई उदृत गर्दछ । यो वर्षको हाम्रो अपेक्षा भनेको कर्जाको ब्याजदर घट्नुपर्छ भन्ने नै छ । निक्षेपको अधिकतम ब्याजदर साढे दश प्रतिशतमा गएर बसेको छ । बचत खाताको ब्याजदरमा समेत बैंकहरूले हेरफेर गरेका छन् ।

अहिलेको अवस्था भनेको नेपाल सरकारको खर्च असारको दोस्रो हप्ताबाट सुरु भएर बजार फ्लस भएको हो । यद्यपि फेरि पनि सरकारको खर्च कम हुन थाल्ने हो भने ब्याजदर घट्ने अहिलेको जुन क्रम छ, त्यो नहुन सक्छ । समग्र रूपमा भन्नुपर्दा ब्याजदर नघट्ने भन्ने होइन ।

राष्ट्र बैंकले यस वर्षको लागि जारी गरेको मौद्रिक नीतिले नै यसलाई गाइड गरिसकेको छ । स्प्रेड दर ५ प्रतिशतबाट ४ दशमलव ५ प्रतिशत कायम गर्नु भनेकै बैंकहरूले आफ्नो स्प्रेड घटाउनु कर्जा या निक्षेपको ब्याजलाई व्यालेन्स र समायोजन गरेर लैजानु भनेको हो । राष्ट्र बैंकले ब्याज आफैं कायम गर्न निर्देशन समेत दिएको छ । यो राम्रो संकेत पनि हो ।

देश संघीयतामा गइसक्यो । बैंकहरूको गाउँ–गाउँमा शाखा पुग्यो । स्थिर सरकार बनेको छ । विकास निर्माणमा काम होला, बैंकमा पैसा आउला अनि तरलताको अभाव अन्त्य होला नि ?
अब हाम्रो देशमा डिसेन्ट्रलाइजेसन अफ पावर र मनी हुन्छ । यसलाई अगाडि बढाउन स्रोतसाधनलाई उपयोग गरी अनुत्पादनशील क्षेत्रमा खर्च नगर्ने, गम्भीरतापूर्वक प्रदेशलाई आर्थिक उन्नत्तिको बाटोमा लिएर जान सकियो भने राम्रो हुन्छ । सरकारको नीति बमोजिम वाणिज्य बैंकहरू गाउँ–गाउँमा पुगिसकेका छन् भने जाने क्रम अझै जारी छ ।

लिडरशिपको प्रमोसनले गर्दा पाँच वर्षको रणनीतिक योजना हामीले बनाइसकेका छौं । मेगा बैंकले सुरुवातदेखि नै सबै नेपाली माझ बैंकिङ साक्षरता फैलाउने भिजन लिएर आएको छ । यसलाई आत्मसात् गरेर निरन्तरता दिएरै अगाडि बढ्नेछु ।

स्रोतसाधनहरू गाउँ–गाउँमा पुग्ने र त्यही स्रोतसाधनहरू प्रदेशको उन्नत्ति र प्रगतिको लागि खर्च हुन थाल्यो भने बैंकहरू पनि त्यही सँगसँगै लाग्छन् । हाम्रो देश सानो छ, जनसंख्या पनि कम छ र हाम्रो उन्नत्ति गर्नसक्ने क्षमता पनि छ । राज्यको कोषबाट समयमै खर्च भए तरलता अभाव अन्त्य हुने नै छ ।

तपाईंको बैंकमा सीइओ र डिपुटी सीइओ महिला नै हुनुहुन्छ । प्रमोटर, शेयरधनी, सञ्चालक र राष्ट्रबैंकबाट दबाब पनि आउला । यसले काम गर्न कत्तिको असहज हुन्छ ?
बैैंकका सीइओहरूले आफ्नो बैंकको उन्नत्ति–प्रगतिको खाका कोरेका हुन्छन् । म प्रि–इन्सेप्सनदेखि नै मेगा बैंकमा काम गरिरहेको छु । आठ वर्ष भइसक्यो । लिडरशिपको प्रमोसनले गर्दा पाँच वर्षको रणनीतिक योजना हामीले बनाइसकेका छौं । मेगा बैंकले सुरुवातदेखि नै सबै नेपाली माझ बैंकिङ साक्षरता फैलाउने भिजन लिएर आएको छ । यसलाई आत्मसात् गरेर निरन्तरता दिएरै अगाडि बढ्नेछु ।

यो बैंक दश–दश लाख राखेर मध्यमवर्गीय नेपालीले खोलेको बैंक हो । त्यसकारण यहाँ जति पनि आर्जन हुन्छ, त्यो हाम्रा दाजुभाइ, दिदीबहिनीमै फिर्ता जान्छ । त्यसले फेरि पनि आर्थिक क्रियाकलापलाई बढाउँछ ।

रोजगारीकै कुरा गर्दा एक हजार पाँच सयभन्दा बढीको संख्यालाई प्रत्यक्ष रोजगारी दिने संस्था मेगा बैंक भइसकेको छ । हामी महिला म सीइओ र एडि सीइओमा रविना जी छौं । यस्ता दबाब केही आएका छैनन् । हामी दबाबमा काम गर्दैनांै ।

तपाईं कहिल्यै पनि चर्चामा नआई मेगा बैंकको सीइओ बन्नुभयो । महिला बैंकरहरूको शीर उच्च बनाउनु भएको मात्रै छैन । बैंक गज्जबले हाँक्नु भएको छ । कस्तो लागेको छ ?
खुशी लागेको छ । हाम्रो बैंकमा हामी दुवैजना सीइओ र एडी सीइओ महिला नै छौं । मेगा बैंक सुरु गर्दा ६० प्रतिशत कर्मचारी महिला थिए । अहिले महिला घटेका छन् । तर पनि नेतृत्व तहमा भने महिलाको बाहुल्यता छ ।

रविना देशराज श्रेष्ठ र प्रज्ञा पाण्डे नेतृत्व तहमै छन् भने उहाँहरू पनि सीइओ बन्ने लाइनमै हुनुहुन्छ । अन्य केही विभागहरू पनि महिलाले नेतृत्व गर्दै आएका छन् मेगा बैंकमा । भोलिका दिनमा उहाँहरूलाई सफल बनाउने पनि मेरो लक्ष्य र उद्देश्य छ । उहाँहरूलाई प्रोत्साहन गर्नेछु ।

अरू बैंकमा पनि महिला लाइनमा छन् । अब चार वर्षमा मैले के सफलता हात पार्छु, त्यसले पनि अब हामी महिलाको बाटो तय गर्ला कि !

तपार्इंसँग मेगा बैंकलाई नेपालको नम्बर एक बनाउने योजना के कस्ता छन् ?
नेपालको नम्बर एक भन्दा पनि एक प्रतिष्ठित, लोकप्रिय एवं अग्रणी बैंकको रूपमा अघि लैजाने सोच छ । मानिसलाई अनुभवले आत्मविश्वास बढाउँछ । मलाई पनि २७ वर्षे अनभुवले खारिदिएको छ ।

‘मैले सबैजसो विभागमा काम गरेकी छु, यसले मलाई परिपक्व बनाएको छ । सबैखाले अर्थतन्त्रका अवस्थासँग बैंकिङ क्षेत्रमा रहेर जुधेकी छु, असहज अवस्थामा बैंकलाई स्थिर राखेर लैजाने क्षमता र अर्थतन्त्रले गति लिएको बेला बैंकको ग्रोथलाई गति दिने क्षमता मसँग छ ।

बैंकलाई अझै सबल, समृद्ध र सुदृढ बनाएर लैजाने मेरो लक्ष्य छ । ५ वर्षे रणनीति तयार गरेकी छु । नयाँ आएका समकालीन वाणिज्य बैंकभन्दा अघि पुग्ने लक्ष्य छ । मेगा बैंक भर्खर आठ वर्ष भएको छ, अहिल्यै हामी ‘टप फाइभ वा टेन’ गइहाल्न सक्छौं भन्ने छैन । तर समकालीन बैंकभन्दा माथि जाने अनि मध्यस्तरका बैंकलाई उछिन्ने हाम्रो योजना हो ।

‘मैले सबैजसो विभागमा काम गरेकी छु, यसले मलाई परिपक्व बनाएको छ । सबैखाले अर्थतन्त्रका अवस्थासँग बैंकिङ क्षेत्रमा रहेर जुधेकी छु, असहज अवस्थामा बैंकलाई स्थिर राखेर लैजाने क्षमता र अर्थतन्त्रले गति लिएको बेला बैंकको ग्रोथलाई गति दिने क्षमता मसँग छ ।

मेगा बैंकका संस्थापक सीइओ अनिल केशरी शाहले बैंकको बलियो जग बसाइदिनु भएको छ । अब यही बलियो जगलाई टेकेर बलियो घर बनाउने योजनमा छौं । मेगा बैंकको संस्थापकदेखि सर्वसाधारणसम्मको विश्वास जित्ने गरी बैंकलाई अगाडि बढाउने छौं ।

मेगा बैंक सुरु हुँदा जस्तो चर्चाका साथ स्थापना भयो तर, पछिल्लो अवस्थामा अन्य बैंकहरूभन्दा किन पृथक हुन सकेन त ?
हामीले लिएको उद्देश्यअनुसार नै काम गर्दै आइरहेका छौं । बैंकले सम्पूर्ण अर्थतन्त्रका पक्षहरूलाई छुने उद्देश्य लिएको थियो । त्योअनुसार काम गरिरहेका छौं । बैंक सञ्चालनको पहिलो चरणमा ६० प्रतिशत करपोरेट कर्जा थियो । आज आएर त्यो कुल कर्जाको २२ प्रतिशतमा सीमित भएको छ ।

हामीले आफ्नो पोर्टफोलियो पनि त्यसरी नै व्यवस्थापन गर्दै आएका छौं । ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नाराअनुसार नै बैंक अघि बढेको छ । बैंकिङ भनेको विश्वासको खेती हो । हामी शेयरधनी, नियामक निकाय, सरकार, ग्राहक, कर्मचारीलगायत सबै स्टेकहोल्डरको विश्वास जित्न चाहन्छौं । त्यसैले अर्को नारा पनि अघि बढाएका छौं ‘यहाँहरूको विश्वास जित्दै, मेगा बैंक अघि बढ्दै ।’

निकै विवादका बीच टुरिजम् डेभलपमेन्ट बैंकसँग मर्जर गर्नुभयो । यसलाई कसरी लिनुभएको छ ?
मर्जर गर्दा संस्थागत निर्णय गर्ने प्रक्रिया एउटा छ भने अर्को मुख्य पाटो जनशक्ति समायोजन हो । जनशक्ति मर्जर भनेको दुई संस्कृतिलाई एकै ठाउँमा ल्याउने काम हो ।

मेगा बैंकको सन्दर्भमा दुई कल्चर मर्जर गर्ने काम अहिले बल्ल सुरु भएको छ । जनशक्तिको समायोजनको पक्षमा मिहेनत गर्नुपर्ने पक्ष धेरै छन्, तर मर्जरको विषयमा आएको विगतको विवाद सकिएको छ । विशेष साधारणसभाले निर्णय गरेर मर्जर भएर पनि संयुक्त कारोबार सुरु भइसकेको छ ।

त्यसका साथै नयाँ सञ्चालक समिति पनि बनिसकेको छ । आगामी बाटो भनेको दुई र दुई जोड्दा चार नभई २२ कसरी बनाउने भन्ने हो । त्यसका लागि जनशक्तिको मर्जर राम्रोसँग हुनुपर्छ । अहिले हामीले लर्निङ एण्ड डेभलप्मेन्ट सेन्टर खोलेर कर्मचारीलाई तालिम दिन सुरु गरेका छौं ।

यसले कर्मचारीको प्राविधिक ज्ञानलाई वृद्धि गर्ने काम गर्छ । मर्जरसहित गरेर बैंकका अहिले १ सय १ शाखा भएका छन् । २ हजारभन्दा धेरै रेमिट्यान्स एजेन्टहरू छन् । बैंकका एक सय १९ शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् । बैंकको देशव्यापी रूपमा नेटवर्क छ ।

चालु आर्थिक वर्षको लक्ष्य बोकेर बैंकको सम्पूर्ण स्रोत र साधन गतिशील भई परिचालित भइसकेका छन् भने मर्जरले मेगा बैंकको आकारमा उल्लेख्य वृद्धि भएसँगै बैंकको प्रतिस्पर्धी क्षमतामा पनि अभिवृद्धि गरेको छ ।

तपाईंको बैंकमा कर्मचारी युनियन पनि छ । काम गर्न गाह्रो छ कि ?
बैंक सञ्चालक समितिले मलाई विगत आठ वर्षदेखि काम गरेको देखिसकेको छ । सञ्चालक तथा लगानीकर्ताको लक्ष्य र उद्देश्यलाई हासिल गर्नका लागि म लगायत सम्पूर्ण कर्मचारी साथीहरू पनि जिम्मेवार हुनुपर्छ ।

बैंकमा स्थापना भएको युनियनले हामी सबैलाई एक बनाएको छ । हामी एक हुनु भनेको कहिल्यै नहार्नु हो । सबै कर्मचारीलाई उत्प्रेरित गरेर संस्थालाई अघि बढाउने काम व्यवस्थापन प्रमुखको हो । तलब खाने हामी, बोनस खाने हामी ।

त्यसैले पनि लगानीकर्ताले भन्दा पनि हामी कर्मचारीहरू नै राम्रो प्रतिफल खोज्छौं । त्यसका लागि पनि हामी संस्थाको ग्रोथमा केन्द्रित भएर काम गर्नुपर्छ । जसका निमित्त बैंकको युनियनको पूर्ण साथ रहेको छ ।

तपाईंको जीवन बैंकिङ क्षेत्रमै बित्यो । घर परिवारलाई समय दिन नसक्दा कहिलेकाहीँ दिक्क लागेर आउने गरेका दिन पनि छन् होला नि ?
तल्लो लेवलबाट जागिर खाएर आज म सीइओ बनेको छु, यो सबै परिवारकै सहयोग र साथबाटै भएको हो । परिवार खुशी नै छ । काम गर्ने हो, मेहनत र परिश्रमबाटै यो ठाउँमा आएँ ।

तपाईं राणा परिवारकी सन्तान । आमा बुबालाई छोरी डाक्टर, पाइलट या अरू केही बनाउने इच्छा थियो होला नि ?
मैले मिहेनत गरेर आज यो अवस्थामा आएँ । मेरो २७ वर्षको जीवन बैंकिङ क्षेत्रमा बितेको छ । यो इज्जत र प्रतिष्ठा भएको पेशा हो । महिलाले सीइओ पाउन गाह्रो छ । मैले बुबा मुमाको सपना सफल पारेको छु । उहाँहरू खुशी होइबक्सनुहुन्छ ।

अब अन्त्यमा केही भन्न बाँकी छ ?
मेगा बैंकको आधार नै ग्राहकको विश्वास हो । हामी तपाईंहरूको विश्वास जित्दै अगाडि बढेका छौं । ग्राहकको विश्वास जति बढी जित्यो हामीले त्यति नै प्रगति गर्ने हो । हाम्रो प्रोडक्ट र सेवाहरूलाई उपयोग गरिदिनु होला ।

हामीबाट केही कमीकमजोरी भयो भने हामीलाई भनीदिनु होला । सुधार गर्ने धेरै ठाउँ छन् । कति ठाउँ त हामीलाई पनि थाहा हुँदैनन् होला । सुधार गर्दै हामी अगाडि बढ्ने छौं । र मेगा बैंकका सबै सेवा सुविधा एकपटक उपभोग गरेर मेगाको ग्राहक बनिदिनुहोला भन्ने मेरो अनुरोध छ । आर्थिक बजार मासिक

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि