• होमपेज
  • अन्तरवार्ता
  • बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो

बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो

  • मङ्लबार, भदौ १२, २०७५
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो

प्रभु इन्सुरेन्स कम्पनी भर्खरै २३ वर्ष पुगेको छ । र प्रभुको बीमामा गर्नेको संख्या कति छ र पूँजी कति छ ?
हो, हामी भर्खरै २३ वर्ष पुग्यौं । यो अवधिमा निश्चितरूपमा व्यपारहरु बढेको हिसाबले बीमा गर्नेको संख्या पनि केहि बढेको छ । अहिलेको हाम्रो पुँजी असार मसान्तसम्ममा ६८ करोड थियो भने गत साउन १० गते हाम्रो हकप्रद सेयर जारी भएर निष्कासन बन्द पनि भइसकेको छ । र अब हाम्रो चुक्ता पूँजी १ अर्व ५० लाख पुग्दैछ ।

पछिल्लो समय कुनकुन क्षेत्रमा र व्यवसायमा प्रभु इन्सुरेन्सको बीमा बढी रहेको छ ?
सुरुदेखिकै बीमाको इतिहास हेर्ने हो भने हालसम्म पनि मोटर बीमा नै उल्लेख्य मात्रामा देखिन्छ । त्यसपछि दोस्रोमा हाम्रो अग्नी बीमा । अनि त्यसै अनुसारको विभिन्न पोर्टफोलियोहरूमा व्यवसाय बढेको देखिन्छ ।

प्रभु इन्सुरेन्समै बीमा गर्नुपर्ने कारण चाहिँ के हो ?
मुख्य रूपमा प्रभुमै गर्नुपर्ने कारण चाहिँ के हो भने सबैभन्दा पहिला हाम्रो उच्च गुणस्तरीय सेवा नै हो । भन्न त सबैले यसै भन्लान्, तर हामीले भने सेवा नै दिइरहेका छौं । जस्तो कि अब हामीले यो देशको कुनै पनि कुनाबाट बीमा गर्नुपर्यो भने जहाँ प्रविधिको सुविधा हुन्छ त्यहाँबाट गर्नुपर्दा व्यक्ति स्वंय गइराख्नुपर्दैन ।

हामीले मोबाइल एप्सको सुरुवात गरिसकेका छौं । गुगल एप्स स्टोरमा गएर त्यो मोबाइल एप्स डाउनलोड गरिसकेपछि त्यसमा सम्पूर्ण विवरणहरू छन् । तपाईंले कुनै चिजको बीमा गर्नुपर्यो भने पनि तपाईंले त्यसमा गएर सेलेक्ट गर्नुस् । तपाईंलाई प्रिमियम चाहिएको हो कि, बीमाको बारेमा चाहिएको हो कि, सबै बुझेर सम्पर्क गर्दा हामी अनलाइन मार्फत् सर्बै पोलिसी जारी गर्न सक्छौं । त्यो सुविधा छ । त्यसको लागि कुनै झण्झट छैन ।

अब दोस्रो कुरा चाहिँ अहिले हामीले नयाँ सुविधा ग्राहकहरूका लागि ल्याएका छौं ।
त्यो हो हाम्रो कम्पनीमा बीमा गरेका निजी सवारी साधनहरू लामो दुरीमा निस्कदा मेकानिकल कारणले कहिँकतै बिग्रियो भने मात्र पनि हामीले फोकल पर्सन खटाएका हुन्छौं उनीहरुले तुरुन्तै नजिकका सवारी साधन मर्मत केन्द्र कहाँ छ, त्यहाँबाट मेकानिक्ससँग सम्पर्क गराइदिन्छ र समयमै गन्तव्यमा ग्राहकहरू पुग्छन् । त्यसको लागि हामी कुनै पनि शुल्क लिँदैनौं । यो सुविधा प्रभु इन्स्योरेन्समा छ ।

बीमा किन र केका लागि गर्ने हो ? यसलाई विस्तृत रूपमा प्रष्ट्याइदिनुस् न !
बीमा भविश्यमा हुन सक्ने आर्थिक दायित्वबाट मुक्त हुनका लागि गर्नुपर्छ । पहिलो कुरा त बीमा के हो बुझ्नुपर्यो । बीमा भन्नसाथै बीमक र बीमितबीच आर्थिक दायित्व लिने सम्बन्धी सम्झौता हो । र यो किन आवश्यक छ भन्दाखेरि भविष्यमा आइपर्ने अािर्थक दायित्वबाट मुक्त हुनु एकदमै जरुरी छ । जस्तो मैले एउटा उदाहरण दिन्छु । मैले जहिल्यै पनि भन्ने गरेको छु । हामीले कुनै पनि कुरा दुःखले जोडेको हुन्छौं ।

त्यो नष्ट होस् भन्ने त हामी चाहँदैनौं । यदि त्यसो भयो भने आर्थिक नोक्सान हुन्छ । आर्थिक क्षति भयो, तुरुन्तै त्यति पैसा जुगड गर्न त सकिँदैन । र बीमा गर्यो भने त्यबाट मुक्ति पाइन्छ । आर्थिक नोक्सानीको तत्कालै क्षतिपूर्ती पाइन्छ । त्यही कारण बीमा गर्न जरुरी छ । केको लागि भन्दा त्यही हो कि आर्थिक दायित्वबाट मुक्त हुनु । यसले चाहिँ आफ्नो मात्र नभएर सामाजिक उत्तरदायित्व पनि वहन गर्छ । समाजमा केही गरि क्षति भयो भने आफ्नोे मात्र होइन, सिंगो समाजकै क्षति हुन्छ । तर बीमा गरेको छ भने आर्थिक दायित्वबाट समाज नै मुक्त हुन्छ ।

पछिल्लो समयमा इन्सुरेन्स कम्पनीहरूको संख्या बढेको छ । इन्सुरेन्सको संख्या बढेको कारण प्रतिस्पर्धा झनै बढेको छ । यो प्रतिस्पर्धालाई तपाईं कसरी लिनुहुन्छ ?
म चाहिँ के भन्छु भने जे काम गर्दा पनि प्रतिस्पधात्मक नै राम्रो हुन्छ । कुनै ठूलो उपलब्धि हासिल गर्नुछ भने धेरै जनालाई जितेर आएको नै राम्रो हुन्छ । त्यसले गर्दाखेरि बजारमा प्रतिस्पर्धा हुनु राम्रो कुरा हो । त्यसले नै धेरै कुराहरूको विकास गर्छ । र स्वस्थ प्रतिस्प्रधालाई हामीले गलत लिनुहुन्न ।

बजारमा धेरै इन्सुरेन्स कम्पनीहरू आए । यिनीहरूले गाउँगाउँमा बीमा गर्नुपर्छ भनेर पुगेका भए पनि त्यति असर देखिँदैन । नेपालमा अब बीमाको पहुँच विस्तार गर्नका लागि के गर्नुपर्छ ?
राम्रो प्रश्न हो यो । मैले भनिसकें नि ! बीमा भन्नसाथै सबैले बुझेका छैनन् । जतिले बुझेका छन्, त्यतिले पनि गर्न सकिराखेका छैनन् । त्यसको पनि विभिन्न कारण होलन् ।

तर म के भन्छु भने यो एकदमै जरुरी कुरा हो । थोरै रकमले ठूलो दायित्वबाट मुक्त गराउँछ । त्यो कुरा पहिला बुझ्नुपर्यो । र यो कुरा बुझाउनलाई पहिलो कुरा त शिक्षाको जरुरत हो । अनि जनचेतना त छँदैछ । म के भन्छु भने बीमाको कुरा प्राथमिक तहको पाठ्यक्रम देखि नै राख्नुपर्छ । किनभने यसले कमसेकम बीमाको कुरा बुझ्ने वातावरणको विकास गर्छ ।

अर्को कुरा जनचेतना । अब जनचेतना कसरी फैलाउने त । त्यसको लागि चाहिँ बीमाको बारेमा हरेक सभा समारोहमा जानकारी दिनुपर्यो । बीमा सम्बन्धी चेतनामूलक कार्यक्रमहरू आयोजना हुनुपर्यो । र अर्को महत्वपूर्ण पक्ष भनेको चाहिँ हाम्रो मिडिया । मिडियाले पनि बीमाको बारेमा चेतना फैलाइदिनुपर्यो । तर एउटा संस्थालाई लिएर होइन, सामाजिक उत्तरदायित्व सम्झिएर मिडियाले बीमा साँच्चै नै जरुरी छ भन्ने कुरा बुझाइदिनुपर्यो ।

यसमा दुईवटा पक्ष हुन्छन् । सकरात्मक र नकरात्मक । यसले यसरी गल्ती गर्यो भनेर भन्न त सकिन्छ, तर हामी के गर्छौं भने नकरात्मकलाई बढी जोड दिन्छौं । तर सकरात्मक पक्षलाई पनि हामीले बुझाइदिनुपर्यो । मिडियाको यसमा सबैभन्दा ठूलो हात छ । त्यही भएर सामाजिक उत्तरदायित्व सम्झिएर प्रचारप्रसार गरिदिनुपर्यो ।

नेपालको कुल जनसंख्याको ११ देखि १५ प्रतिशत मात्रै बीमामा पहुँच छ भन्ने तथ्यांक छ । यसलाई अझै बढाउनका लागि तपाईंहरूले चाहिँ के गर्नुपर्छ ?
हामीले जागरुक बनाउनुपर्यो । बिमा जरुरी छ है भन्ने कुरा सबैलाई बुझउनुपर्यो । यो कसरी भन्नुप¥यो भने अहिले हामी निर्जीवन बीमा कम्पनीहरू छौं । व्यक्तिगत रूपमा जाँदा अरूको कम्पनीमा गयो, जागिर खायो र गयो भन्ने छ । यही कुरा समूहमा गयो भने सबैको लागि हुन्छ भन्ने हुन्छ । त्यसले गर्दा बीमा चाहिँ मलाई मात्र नभएर हाम्रो समाजलाई पनि जरुरी छ भन्नका लागि सबैको भूमिका हुन्छ ।

पहिलो कुरा, ०७२ सालमा भूकम्प गयो । त्यो फेरि जहिले पनि आउन सक्छ । दोस्रो कुरा, भूकम्प मात्र होइन नि । अरू भिषण क्षति हुनसक्छ । ती कुराहरूलाई मनन गरेर हामीले बाहिर ल्याइदिनुपर्यो । ती कुराहरूलाई कसले गर्छ त भन्दा बीमा कम्पनीहरूले नै गर्छ । त्यस्ता कुराहरूलाई हामीले बुझाइदिनुपर्यो । जसले सक्छ सबैले आ–आफ्नो ठाउँबाट सबैलाई सुनाउनुपर्यो । र मुलुकको आर्थिक समृद्धिमा पनि योगदान हुन्छ ।

तपाईंले यति भनिरहँदा त्यत्रो ठूलो भूकम्प गइसकेपछि पनि त्यति बीमा गरेको पाइएन । त्यत्रो क्षति भइसकेपछि पनि बीमा नगर्नुको कारण के हो ?
मान्छेले बीमालाई नबुझेर र सचेनता नभएर हो । ८० वर्षसम्म भूकम्प आउँदैन भन्ने मान्छेमा जुन भ्रम छ, त्यसलाई हामीले चिर्न सकेनौं । हामीले जागरण फैलाउन सकेनौं । उनीहरूलाई शिक्षा दिन सकेनौं । त्यो कुरा प्रमुख कुरा भइदियो । त्यो सँगसँगै मानिसहरूले यो बुझेनन् कि भूकम्पले मात्र क्षति गराउने होइन । बाढी छ, पहिरो छ, भोलि आकस्मिक रूपमा हुने क्षतिहरू त छँदैछन् । जसरी पनि क्षति हुन सक्छ नि !

कुनै सवारी साधन आएर आफ्नो घरमा ठोक्किन सक्ला । जे पनि हुन सक्ला नि ! यस्तो दुर्घटना हुन सक्ला । सबैले त्यसलाई वहन गर्न सक्दैन नि ! त्यसमा हामीजस्तो बीमाहरूकै काम हो । त्यसका लागि बीमा गरेर सुरक्षित हुनुपर्छ । यसका लागि शिक्षा, जनचेतना, प्रचारप्रसार चाहिन्छ ।

व्यावसाय विस्तार गर्नका लागि विभिन्न बित्तिय संस्थाहरुले बैंकासुरेन्स को माध्ययमबाट बीमासँग सम्बन्ध बनाइरहेका छन् । यो एउटा सकरात्मक पक्ष हो । यसले गर्दा पनि बीमाको पहुँच बढेको हो अहिले ?
यस्तो छ, जहाँ जुन कुराको बढी प्रचार, बहस हुन्छ, स्वभाविक रूपले त्यसले अग्रता लिन्छ । त्यसले पनि सपोर्ट भएको हो । तर त्यतिले मात्रै पुगेन । यो चाहिँ कस्तो भने विभिन्न वित्तीय संस्थासँग सम्बन्धित भयो । तर हामीले त्योभन्दा पनि बाहिर ल्याउनुप¥यो । समाजमै ल्याउनुप¥यो । घरदैलोमै ल्याउनुपर्यो । त्यसले चाहिँ अझै बढाउँछ ।

ग्रामीण क्षेत्रमा बीमाको पहुँच अलि कम छ । अब त्यहाँ पुग्नका लागि प्रभु इन्सुरेन्सको के योजना छ ?
यसको लागि हामी आक्रमक बनिसकेका छौं । त्यसअनुसारको नतिजा पनि आइरहेको छ । हामी विभिन्न ग्रामीण क्षेत्रमा शाखा खोलेर गइसकेका छौं ।

जस्तो कि मुस्ताङको जोमसोममा हाम्रो शाखा खुलिसकेको छ । बाग्लुङमा छ । स्यांजाको वालिङमा छ । गुल्मिमा छ । त्योबाहेक हामीसँग मैले अघि पनि भनिसकें, जहाँजहाँ प्रविधि पुगिसकेको छ, त्यहाँ हाम्रो बीमा छ । त्यसको लागि हाम्रो कम्पनीको कुनै कर्मचारी जानैनपर्ने किसिमको व्यवस्था हामीले बनाएका छौं ।

तर बीमा गर्ने वातावरण त उपत्यका भन्दा बाहिर पनि बनेको देखिन्छ । तपाईंहरूसँगै अरू कम्पनी पनि पुगेका छन् । तर ग्रामीण क्षेत्रको जनतालाई बीमाबारे बुझउनै गाह्रो छ । त्यसलाई कसरी लिनुहुन्छ ?
मैले भनिसकें त । यसका लागि सबैभन्दा पहिले सबैलाई शैक्षिक रूपमा साक्षर बनाउन खोजेझैं बीमाको पनि सबैलाई साक्षर बनाउनुपर्छ । त्यसको लागि सामुहिक रूपमा जानुपर्छ ।

सबैले सामाजिक उत्तरदायित्व वहन गरेर बुझाउनुपर्यो । विभिन्न एनजिओ, आइएनजीओ छन् । तिनीहरूले पनि बुझाउन पर्यो । र हरेक कुनै पनि आर्थिकसँग सम्बन्धित औपचारिक कार्यक्रमहरूमा बीमाको बारेमा केही जानकारी दिनुपर्यो । त्यो भयो भने व्यक्ति, संस्थाभन्दा राष्ट्रकै लागि हुन्छ । त्यो कुरा चाहिँ हुनुपर्यो ।

हामी बीमा त गर्छौं । तर दाबी भुक्तिनीको कुरा आउँदा दाबी, विरोधमा अल्झाउने लगायतका विभिन्न कारणले बीमा गर्नेहरूमा नकरात्मक असर परेको छ । गुनासाहरू आएका छन् । यसलाई कसरी लिनुहुन्छ ?
दाबीको सम्बन्धमा म के भन्छु भने दाबी भनेको कसैले चाहेर ढिलो हुने होइन । यसमा दुवै पक्ष उत्तिकै जिम्मेवार हुन्छन् । एउटा कुुरा के हुनछ भने दाबी लिनेले पनि समयमा नै आवश्यक कागजातहरू उपलब्ध गराएको खण्डमा ढिलो हुँदै हुँदैन । र कुनै एक पक्षले गरेर ढिलो हुने होइन ।

यसमा दुवै पक्ष नै जिम्मेवार हुन्छन् । हामीले आवश्यक कागजात समयमा पुगेको छ भने त्यो दाबी कुनै पनि हालतमा ढिलो हुँदैन । नत्र त हाम्रै कम्पनीको वित्तीय विवरण हेर्नुहुन्छ भने त्यत्रो दाबी भुक्तानी गरेकोे देख्नुहुन्छ नि ! त्यो त त्यसै तिरेको होइन । त्यस कारणले यस्तो किसिमको नकरत्मक सोच हामीले राख्नुभएन । कुनै किसिमको दाबी पर्यो, दाबी पाउनसाथ सूचना पाउँछौं र तुरुन्त हामी स्पटमा खटिन्छौं ।

र तुरुज्न्तै हामी क्षतिको मूल्यांकन गर्छौं । मूल्यांकन गर्दा आवश्यक कागजात हामीलाई उपलब्ध त गराइदिनुपर्यो नि त । प्रमाण चाहियो । त्यो भयो भने दाबी तुरुन्तै फच्र्यौट हुन्छ ।

[supsystic-slider id=4]

अब राज्यले तपाईंहरूलाई कस्तो नीति ल्याइदिए हुन्थ्यो भन्ने लाग्छ ?
अहिलेसम्म हाामीले आ–आफ्नो तर्फबाट सकेको गरिरहेका छौं । मान्छेलाई बीमा गराउनुपर्छ भन्ने पनि लागिरहेको छ । त्यही भएर सबै सक्रिय पनि छन् ।

एउटा कुरा चाहिँ के छ भने आर्थिक दायित्वसँग संलग्न हुने हरेक क्षेत्रमा बीमा जरुरी छ भन्ने कुरा चाहिँ गरिदिनुपर्यो । जस्तो घरहरू बनाउदाखेरि नक्सा पास र कर चुक्ता गरे जसरी बीमा पनि भएको छ कि छैन भन्ने कुरा हुनुपर्छ । बीमा गरेको हुनुपर्छ । र बीमाको अनिवार्यतालाई ध्यान दिनुपर्छजस्तो लाग्छ ।

जब हामी करहरू तिर्न जान्छौं, त्यसमा सरकारले बीमा अनिवार्य गरिदिनुपर्छ । फेरि बीमा त्यस्तो महँगो पनि छैन । सबैको पहुँचभित्र नै पर्छ । राज्यले यी कुराहरूलाई नीतिमा ल्याइलिनुप¥यो । त्यसमा राज्यले ख्याल गरिदिनुपर्छ ।

अहिले बीमा विधेयक पनि संसदमा जादैंछ । तपाईंहरूलाई परेको खास समस्या चाहिँ के हो ?
अहिले हाम्रो समस्या भनेको कतिपय मान्छेहरूले बीमाको बारेमा बुझेकै छैनन् । यहाँ बुझाउन नसक्नु समस्या भइरहेछ । यसका लागि राज्यले पहल गरिदिनुपर्यो ।

अहिले यति धेरै बीमा कम्पनीहरू छन् । एउटा बीमा कम्पनी पुगेको ठाउँमा अर्को बीमा कम्पनी पनि उस्तै उद्देश्यका साथ पुगिदिन्छन् । यसप्रति तपाईंंको धारणा के छ ?
त्यही भन्या । अहिले जति कम्पनीहरू आएका छन् । तिनीहरू छरिएरै रहनुपर्छ भन्छु म । त्यो गर्यो भने बढ्न सक्छ । हामीले नदेखेकोमा अर्को जान सक्छ । अर्कोले नदेखेकोमा अर्को जान सक्छ । विकास त त्यसरी नै हुने हो नि !

निर्जीवन बीमाभन्दा पनि जीवन बीमातिर लगौं । तपाईं बीमा विज्ञ पनि हुनुहुन्छ । जीवन बीमामा ठगिने प्रवृत्ति व्यापक छ प्रतिनिधिबाट । त्यसले नकरात्मक असर पनि गरिरहेको छ । बीमा भन्नसाथ ठगी काम हो भन्ने सत्य स्थापित हुँदैछ । यसलाई कसरी लिनुहुन्छ ?
त्यसो चाहिँ हुन दिनुहुँदैन । जसले जे जिम्मेवारी पाएको छ, ऊ त्यसमा उत्तरदायी हुनुपर्छ । त्यसरी काम गर्नुहुँदैन । मैले त थाहा पाएको छैन । तर त्यस्तो भएको छ भने त्यस्तो हुनु राम्रो होइन । त्यसै त मान्छेले बुझेका छ्रैनन् । झनै त्यस्तो कामहरू हुन्छन् भने त कारबाही हुनुप¥यो ।

अहिले प्रभु इन्सुरेन्सको शाखा संजाल विस्तार भइरहेको छ । अब तपाईंहरू कुन कुन ठाउँमा जाँदैहुनुहुन्छ ?
अब यस्तो छ, असारभरि चाहिँ हाम्रो २२ वटा मात्र शाखा थियो । अहिलेसम्म हामीले ३५ वटा पुर्यायौं । ७ वटा नयाँ शाखाको लागि हामीले बीमा समितिबाट स्वीकृति लिइसकेका छौं । त्यसपछि पनि हाम्रो थप्ने काम चाहिँ जारी नै रहन्छ । आवश्यकता हेरेर जहाँ बीमा शाखा जरुरी छ भन्ने लाग्छ हामी त्यही तुरुन्त शाखा खोल्ने प्रक्रियामा जान्छौं ।

भनेपछि पुँजी लगभग पुगिसक्यो ?
पुँजी त पुगिसक्यो । हकप्रद शेयर निष्काशनको सबै काम हामीले गरिसक्यौं । अब हामीले वित्तीय विवरणमा उतार्न मात्र बाँकी हो । केही कुराहरू मात्र बाँकी छन् । पुँजीमा हामीलाई समस्या छैन ।

अब प्रभु इन्सुरेन्सको पुँजी पुगिसकेपछि यसलाई हाँक्ने योजना के छन् तपाईंका ?
त्यसपछि हामी हाम्रो व्यवसायलाई झनै आक्रमक बनाउँछौं । गाउँगाउँ पुग्छौं । अरू नगएको ठाउँमा हामी पुग्छौं । जनतालाई हामी सुसूचित पनि गर्छौं । हाम्रो मुख्य उद्देश्य नै त्यही हो ।

अन्त्यमा
म चाहिँ जहिल्यै भन्छु । बीमा गरौं । बीमा गर्नैपर्छ । यसको लागि तपाईंहरू सबैले सहयोग गरिदिनुपर्यो । र जुन किसिमको सहयोग र सुझाव दिनुभएको छ, तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु ।आर्थिक बजार मासिकबाट

Facebook Comments

सम्बन्धित समाचार