• होमपेज
  • प्रविधि
  • अब मोबाइलबाटै रोजगार

अब मोबाइलबाटै रोजगार

  • शनिबार, भदौ ९, २०७५
अब मोबाइलबाटै रोजगार

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यतालाई अन्त्य गरेरै छाड्ने बताउनुभएको छ ।

रोजगारीका अवसरसम्बन्धी जानकारी प्रदान गर्ने मोबाइल एप्स ‘जबखोज’को सार्वजनिक गर्दै उहाँले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सरकार क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले वैदेशिक रोजगारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ताँती’ लाग्नुपर्ने अवस्थाको अन्त्य गर्छ, नेपाली युवाको योग्यता र क्षमताअनुसारको रोजगारीको अवसर सरकारले यहीँ उपलब्ध गराउँछ ।”

रोजगारदाता र रोजगारीको खोजीमा रहेका दुवै पक्षले एप्सबाट फाइदा लिनसक्ने बताउँदै उहाँले बेरोजगार व्यक्तिलाई रोजगारीको सम्भावित क्षेत्रसम्म जोड्नलाई एप्सले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “रोजगारदाता र रोजगारीको खोजीमा रहेको संस्था तथा व्यक्तिले आफूले खोजेको जस्तो योग्यतम् व्यक्ति र उच्चतम् रोजगारीको अवसर प्रदान गर्न एप्सले सहयोग गर्नेछ ।”

रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट शुक्रबार काठमाडाँैमा आयोजित एक कार्यक्रमकाबीच रोजगारीका अवसरसम्बन्धी जानकारी प्रदान गर्ने मोबाइल एप्स ‘जबखोज’को सार्वजनिक गर्नुहुँदै । तस्बिरः अशोक घिमिरे

सूचना प्रविधिको प्रयोगलाई व्यापक बनाइनुपर्ने बताउँदै मन्त्री विष्टले रोजगारसम्बन्धी सूचनालाई कमजोर आर्थिक अवस्था भएका व्यक्तिको पहुँचसम्म पुग्ने गरी एप्सको परिमार्जन गर्न सुझाव दिनुभयो ।

श्रम मन्त्रालयका सचिव महेश दाहालले श्रम बजारलाई व्यवस्थित बनाउन उक्त एप्सको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले अनलाईन जबखोज पोर्टल र मोबाइल एप्सलाई ७५३ स्थानीय तहमार्फत सञ्चालनमा ल्याइने बताउनुभयो ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक विद्युतीय माध्यमबाट रोजगारदता र रोजगार चाहने व्यक्तिलाई एकै स्थानमा ल्याउन एप्स निर्माण गरिएको बताउनुभयो ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)का अध्यक्ष विश्वनाथ प्याकुरेलले कामको खोजीमा विदेश भौतारिने युवा जनशक्तिलाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्न यस्ता प्रविधिले सहयोग पु¥याउने बताउनुभयो ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को आर्थिक तथा प्राविधिक सहयोगमा उक्त एप्स निर्माण गरिएको हो ।

उक्त एप्समार्फत कामको प्रकार, पारिश्रमिक सीमा, आवश्यक सीप, शिक्षा र ठेगनाका आधारमा उपलब्ध रोजगारीको अवसरका बारेमा जानकारी लिन सकिन्छ । त्यस्तै रोजगारदाताले कामको प्रकार, लिंग, उमेर समूह, सीप, शिक्षा र ठेगानाका आधारमा रोजगार खोज्नेको विवरण हेर्न सक्नेछन् । उनीहरुले आफ्नो प्रतिष्ठानका लागि आवश्यक कामदार त्यहीबाट लिन सक्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार