राजश्व र देश विकास

  • शनिबार, भदौ २, २०७५
राजश्व र देश विकास

नरबहादुर थापा । नेपालमा अहिले वित्तीय क्षेत्रका लागि अवसरहरूको समय छ । लक्ष्यअनुरूप राजश्व असुली हुन सक्यो र सार्वजनिक खर्च भयो भने यसले वित्तीय क्षेत्रको विकासमा ठूलो योगदान पुर्याउँछ, राष्ट्रिय उत्पादनमा महत्वपूर्ण भूमिका खेल्छ, रोजगारीको अवसर सिर्जना गर्छ ।

सरकारले सक्रियतापूर्वक बजेटमार्फत् तय भएका कार्यक्रमहरूलाई कार्यान्वयनमा ल्याउन सक्यो भने नेपालको आर्थिक भविष्य उज्वल छ ।

गएको वर्षहरूमा नेपालको आर्थिक वृद्धिदर उत्साहजनक रहेको छ । आर्थिक वर्ष २०७३/७४ मा ७.९ प्रतिशतको आर्थिक वृद्धिदर र आर्थिक वर्ष २०७४/७५ मा ६.३ प्रतिशतको आर्थिक वृद्धि दर नेपालले हासिल गरेको छ । आर्थिक वर्ष २०७४/७५ को बजेटले आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । यसलाई नेपालमा बैंकिङ क्षेत्रको सुधारका लागि राम्रो पक्ष मान्न सकिन्छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ को लागि बजेटको आकार बढाएको छ । कुल १३ खर्ब १५ अर्ब बजेट विनियोजन गरिएको छ । यसबाहेक स्थानीय सरकार र प्रदेश सरकारले छुटाएको बजेटसम्मलाई आधार मान्दा नेपालको कूल बजेट १४ खर्ब ६७ अर्ब हुन आउँछ ।

यस बजेटको पूर्ण रूपमा कार्यान्वयन हुने हो भने नेपालको आर्थिक वृद्धि उच्च रहनेछ । यसका लागि स्थानीय तथा प्रदेश सरकारले आन्तरिक उत्पादनमा जोड दिनुपर्छ ।

नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि लिएको आठ प्रतिशतको आर्थिक वृद्धिदरलाई महत्वाकांक्षी भन्न मिल्दैन । किनकि नेपाल अहिले ११ देखि १३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सक्ने अवस्थामा छ ।

सरकारी, निजी र वित्तीय क्षेत्र सबैले एकआपसमा समन्वय गरेर अघि बढ्ने हो भने नेपालले आठ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हासिल गर्न सक्छ । यसका लागि बजेट कार्यान्वयनमा ध्यान दिनुपर्छ ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पबाट ध्वस्त भएका सरकारी कार्यालय, निजी क्षेत्रका आवास एवम् सम्पदाहरूको पुनर्निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा १५१ अर्ब रूपैयाँ विनियोजन गरेको छ ।

भूकम्पका कारण विनाश भएका संरचनाहरूको पुनर्निर्माणमा यो रकम भरपूर खर्च गर्न सके नेपालले उच्च आर्थिक वृद्धिदर हासिल गर्न सक्छ । यसका लागि सबै क्षेत्र मिलेर उच्च मनोबलका साथ योजना बनाएर काम गर्नुपर्छ ।

नेपाल सरकारले बजेटको आकार मात्र बढाएको छैन, राजश्व असुलीको लक्ष्य पनि तोकेको छ । केन्द्रीय सरकारले आगामी वर्षमा ८३१ अर्ब राजस्व असुली गर्ने लक्ष्य लिएको छ ।

स्थानीय तहले गर्ने १५१ अर्ब राजश्व असुलीलाई समेत आधार मान्दा स्थानीय, प्रदेश र केन्द्रीय सरकार मिलेर कुल ९८३ अर्ब राजश्व असुली गर्न सक्ने देखिन्छ, जुन कुल गार्हस्थ्य उत्पादनको २८ प्रतिशत हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३५ प्रतिशत बढी हो ।

बजेटका कार्यक्रमहरूलाई हेर्दा देश एउटा उच्च आर्थिक वृद्धिको बाटोमा जान सक्ने देखिन्छ । यसले बैंकिङ क्षेत्र, वित्तीय र लघुवित्त क्षेत्रलाई आफ्नो व्यवसाय बढाउनमा सु–अवसर दिने देखिन्छ ।

सरकारले पुँजीगत खर्चको आकार पनि बढाएको छ । केन्द्रीय सरकारको पुँजीगत खर्च अघिल्लो वर्षभन्दा लक्ष्य कम रहेको छ । यद्यपि अहिले प्रदेश, स्थानीय र केन्द्रीय गरी तीनवटा सरकार रहने भएकाले पुँजीगत खर्च पनि बढ्ने निश्चित छ ।

केन्द्रीय सरकारको तीन सय १४ अर्बको पुँजीगत खर्च र सातवटा प्रदेशको एक सय २१ अर्ब पुँजीगत खर्च गरेर कूल चार सय ३५ अरब बराबरको पुँजीगत खर्च हुन सक्यो भने पुँजी निर्माण पर्याप्त मात्रामा हुनेछ । पुनर्निमाणमा हुने खर्चले वित्तीय क्षेत्रका लागि राम्रो अवसर सिर्जना गर्ने देखिन्छ ।

अहिले नेपालको आधा जनसंख्या बैंकिङ पहुँचबाहिर रहेको छ । त्यसैले वित्तीय सेवाको माग बढाएर शतप्रतिशत वित्तीय पहुँच पुर्याउनुपर्ने जिम्मेवारी नेपाल सरकार लगायत सम्बन्धित निकायको काँधमा छ । राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू, नेपाल सरकार र मिडिया इन्टरनेशनल जस्ता सङगठनले कसरी वित्तीय पहुँच शत प्रतिशत पु¥याउने भन्ने विषयमा केन्द्रित रहनुपर्छ ।

नेपालका छिमेकी मुलुकहरूको उच्च आर्थिक वृद्धिदरमा प्रत्यक्ष वैदेशिक लगानीको महत्वपूर्ण भूमिका रहेको छ । नेपालमा विगतमा त्यो अवस्था सिर्जना हुन सकेको छैन । अब भने विस्तारै यो अवस्थामा सुधार आउँदैछ । यो वर्ष जलविद्युत्, पर्यटन क्षेत्र, सिमेन्ट र वित्तीय क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी आइरहेको छ । यसरी प्रत्यक्ष वैदेशिक लगानीको अवस्थामा सुधार आउँदा पनि वित्तीय क्षेत्रका लागि अवसर सिर्जना हुन्छ ।

संघीय संरचनाअनुसार मुलुकमा ७५३ स्थानीय तहहरू छन् । स्थानीय पनि सरकार गठन भइसकेको अवस्था पनि छ । ७५३ मध्ये ५३१ स्थानीय तहमा वाणिज्य बैंकहरू पुगेका छन् भने दुई सय २२ स्थानमा पुग्न बाँकी छ । नेपाल राष्ट्र बैंकले असारभित्रै सबै स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिती हुनुपर्छ भनेको थियो ।

सोहीअनुसार बैंकहरूले शाखा विस्तार गरिरहेका छन् । पूर्वाधार लगायतका विभिन्न समस्याका कारण पुग्न नसकेका क्षेत्रमा पनि छिटै बैंकहरूले शाखा विस्तार गर्नेछन् ।

यसरी हरेक स्थानीय तहमा वाणिज्य बैंककै शाखा विस्तार भएपछि पनि ग्रामिण क्षेत्रमा वित्तीय जागरण र आर्थिक विकासमा टेवा पुग्छ ।

अवसर मात्रै नभएर नेपालको आर्थिक एवम् वित्तीय क्षेत्रको विकासमा चुनौतिहरू पनि धेरै छन् । विगतमा नेपालको आर्थिक वृद्धिदर टिकाउ हुन सकेन । दुई वर्षदेखि निरन्तर एकनाश रहेको वृद्धिदरलाई टिकाइराख्ने चुनौती नेपाल सरकारसामु रहेको छ । आर्थिक वृद्धिदर दीगो हुन सकेन भने पक्कै पनि वित्तीय क्षेत्र प्रभावित हुन्छ ।

वित्तीय क्षेत्रको विकाससँगसँगै यसलाई राष्ट्रिय अर्थतन्त्रसँग कसरी जोडने भनने विषय पनि चूनौतिपूर्ण रहेको छ । वित्तीय क्षेत्र र राष्ट्रिय अर्थतन्त्र कसिलो रूपमा जोडिएन भने वित्तीय क्षेत्रले विकास गर्न सक्दैन । साथै टिकाउ पनि हुन सक्दैन । यस विषयमा राष्ट्र बैंक, नेपाल सरकार र निजी क्षेत्र मिलेर लाग्नुपर्छ ।

अहिले नेपालको व्यापार घाटा चुलिँदो छ । चालु खाता झण्डै दुई सय अर्ब नाघेको अवस्था छ । शोधानान्तर पनि छ । यदि यो निरन्तर भयो भने यसले वित्तीय क्षेत्रमा केही प्रभाव पार्न सक्छ । बाह्य क्षेत्रका प्रमुख सूचकहरू व्यापार, चालु खाता, शोधानान्तर सबै घाटामा छन् ।

यसमा सुधार ल्याउनु पनि चुनौतीको विषय बनेको छ । यद्यपि नेपालमा अहिले ११ महिनाको वस्तु आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिती छ । त्यसैले चिन्ता गरिहाल्न पर्ने अवस्था त छैन । तर, व्यापार घाटा, शोधानान्तर घाटा निरन्तर भयो भने वित्तीय क्षेत्रको लगानीयोग्य साधनमा प्रतिकूल असर पार्न सक्ने हुन्छ ।

विगत २ वर्षयता कर्जाको आपूर्तिको तुलनामा माग बढिरहेको छ । यो ठीक पनि हो । अहिले देशमा शान्ति कायम भएको छ । बहुमतको सरकार बनेको छ । राजनीतिक स्थिरता कायम भएको छ । मानिसहरूले कर्जा लिएर आफ्नो व्यवसाय बढाउन खोजिरहेका छन् ।

यस्तो अवस्थामा लगानीयोग्य साधन पर्याप्त नहुनु स्वभाविक हो । त्यसैले वित्तीय क्षेत्रमा लगानीयोग्य साधन बढाउनुपर्ने चुनौति रहेको छ । विगत दुई वर्ष वित्तीय क्षेत्रले तरलताको समस्या भोग्नुपरेको छ । यसमा कसरी सुधार ल्याउने भन्ने विषयमा हामीले सोच्नुपर्छ ।

ब्याजदरमा उतारचढाब भइरहेको छ । उतारचढावलाई कसरी न्यूनीकरण गर्ने भन्ने चुनौती हामीमाझ रहेको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा दिने, बचतमा दिने ब्याजदरमा सहमति गरेको कुराहरू आइरहेकै छ । निक्षेपको ब्याजदर बढ्दै गएको खण्डमा बैंकर्स एसोसिएसनले भद्र सहमति गरेको कुरा तपाईं हामीले सुनिरहेको कुरा हो ।

लगानी बढाउनका लागि लगाानीयोग्य साधन बढाउनुपर्छ । जलविद्युत्, पर्यटन, स्कुल, स्वास्थ्य क्षेत्र, यातायात क्षेत्रमा लगानी बढाउनको लगानी वित्तीय साधन चाहिन्छ । अहिलेको मुख्य समस्या भनेको उच्च व्याजदर हो वा लगानीयोग्य साधनको कमी हो ।

यसमा हामीले विचार पु¥याउनुका साथै बहस गर्नुपर्छ । यदि उच्च ब्याजदर समस्या हो भने यसलाई कसरी घटाउने भन्नेतर्फ हामी लाग्नुपर्ने हुन्छ । लगानीयोग्य साधन अपर्याप्तताको समस्या हो भने बढाउनुपर्छ । (नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक थापाद्धारा मिडिया इन्टरनेशनलले आयोजना गरेको एक कार्यक्रममा व्यक्त विचारमा आधारित)

 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि