• होमपेज
  • बैदेशिक रोजगार
  • कोरिया जाने नेपाली कामदारका लागि हवाई भाडा घट्यो

कोरिया जाने नेपाली कामदारका लागि हवाई भाडा घट्यो

  • सोमवार, साउन २१, २०७५
कोरिया जाने नेपाली कामदारका लागि हवाई भाडा घट्यो

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटबापत तिर्नुपर्ने रकम घटेको छ । नेपालबाट कोरिया जाने प्रत्येक नेपाली कामदारले हवाई भाडाबापत तिर्ने रकम ५३० अमेरिकन डलरबाट ४११ अमेरिकन डलरमा झरेको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जनाएको छ । अब नेपाली कामदारले कोरिया जाँदा हवाई टिकटबापत रु ४११ अमेरिकी डलर अर्थात ४५ हजार २९२ रुपैँया तिर्नुपर्नेछ ।

इपिएस प्रणालीबाट दक्षिण कोरिया जाने कामदारले तिर्ने हवाई भाडा सार्वजनिक खरिद ऐनअनुसार पहिलो पटक विद्युतीय बोलपत्रको माध्यमबाट प्रतिस्पर्धा गराइएको शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । बोलपत्रमा पाँच ट्राभल्स कम्पनीले सहभागिता जनाएका थिए ।

सिलिङ्गस ट्राभल्स एण्ड टुर्स प्रालिले नेपाली कामदारलाई सबैभन्दा कम मूल्यमा हवाई टिकट उपलब्ध गराउने बोलकबोलसहित आइतबार टेण्डर पाएको हो । सिलिङ्गस ट्राभल्सले अब कोरिया जाने नेपाली कामदारलाई रु ४५ हजार २९२ मा हवाई टिकट उपलब्ध गराउनेछ ।

उक्त ट्राभल्ससँग नेपालबाट सिधैँ दक्षिण कोरियाको सियोलसम्मको हवाई टिकट उपलब्ध गराउनुपर्ने सम्झौता गरिएको छ । कोरिया जाने नेपाली कामदारलाई काठमाडौँ–सियोल सिधा उडान नभए छ घन्टा भन्दा कम ट्रान्जिट भएको हवाई टिकट उपलब्ध गराउनुपर्ने प्रावधान राखिएको छ ।

प्रतिस्पर्धाका माध्ययमबाट हवाई भाडा निर्धारण गर्दा कोरिया जाने नेपाली कामदारले तिर्ने रकममा वार्षिक रु १० करोडभन्दा बढी बचत हुने निर्देशक खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेश जाने कामदारले तिर्ने रकम र लागतमा कम गराई नेपाली कामदार लक्षित कार्यक्रम ल्याउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिअनुरुप हवाई भाडाका लागि टेण्डर गरिएको हो ।” हाल वार्षिक करीब आठ हजारको संख्यामा नेपाली कामदार रोजगारीका लागि दक्षिण कोरिया जाने गरेका छन् ।

सन् २००८ देखि इपिएस प्रणाली लागू भएसँगै दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई भाडाबापत ५४१ अमेरिकी डलर र २०७३ पुसदेखि ५२९.७५ अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ ५८ हजार २७२ सम्बन्धित ट्राभल्स एजेन्सीलाई बुझाउँदै आएका थिए ।

नेपाल सरकार र दक्षिण कोरियाबीच भएको समझदारीअनुसार सन् २००८ देखि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि नेपाली कामदार दक्षिण कोरिया जान थालेका हुन् । कोरियामा कृषि क्षेत्रमा काम गर्ने नेपाली कामदारले अन्य देशको कामदारले भन्दा उत्कृष्ट काम गर्दै आइरहेका छन् । त्यस्तै औद्यौगिक क्षेत्रमा काम गर्ने नेपाली कामदारले पनि अन्य मुलुकका कामदारको तुलनामा इमान्दार काम गर्दै आएका छन् । हाल नेपाललगायत १६ मुलुकबाट वार्षिक करीब ५० हजार कामदार इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने गरेका छन् ।

इपिएसमार्फत कोरिया जाने नेपालीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । खाँडी मुलुकमा जस्तो कामदारले अनावश्यक झन्झट व्यहोर्नु नपर्ने र आकर्षक तलब सुविधाका कारण पनि कोरिया नेपाली कामदारको रोजाइमा पर्दै आएको छ । अहिले नेपाली कामदारले मासिक रु एक लाख ५० हजारदेखि दुई लाखसम्म पारिश्रमिक पाउँदै आएका छन् ।

त्यस्तै सुरक्षित गन्तव्य, कामको सुनिश्चितता कामदार र रोजगादरदाताको कार्यसम्झौता, वैधानिकता र अधिकार स्थापित हुने, काम गर्ने अवधिको निश्चिता (चार वर्ष १० महिना), पुनः कोरिया जान सकिने, तेस्रो पक्ष र दलालको गुन्जायस नहुनेलगायत कारणबाट कोरिया जान इच्छुक नेपालीको संख्या बढ्दै गएको इपिएस कोरिया शाखाका निर्देशक खनालले बताउनुभयो । इपिएसमार्फत नेपाली कामदारलाई कोरिया लैजाने कोटा र नेपाली कामदारले पाउने पारिश्रमिक बढाउन पनि पहल भइरहेको उहाँले बताउनुभयो ।

सन् २००८ देखि गत जेठ मसान्तसम्म इपिएसमार्फत ५४ हजार ३६३ नेपाली कामदार दक्षिण कोरिया गएका छन् । जसमा महिला तीन हजार ३३८ र पुरुष ५१ हजार ०२५ रहेका छन् ।

सन् २०१८ को भाषा परीक्षाबाट सात हजार ९९८ कामदार कोरिया जाँदै छन् । यसबाहेक कोरियाबाट फर्केका नेपाली कामदार कम्प्युटरमा आधारित परीक्षाबाट समेत कोरिया जान सक्ने इपिएस कोरिया शाखाले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि