• होमपेज
  • विचार/ब्लग
  • अब समृद्धितिर लागौं

अब समृद्धितिर लागौं

  • शनिबार, असार २३, २०७५
अब समृद्धितिर लागौं

निर्मल धिताल । विकास भनेको के हो ? विकासका आधारहरू के के हुन् ? कुनै पनि मुलुकको समुन्नत विकास कसरी हुन्छ ? समृद्धि किन, कसरी र कसका लागि हुनुपर्छ ? यस्ता जटिल प्रश्नहरूको उत्तर दुई तिहाई बहुमत पाएको सरकारले किन दिन सकेको छैन ?

हेल्लो सरकार छ, जनताको गुनासो सुन्नका लागि । तर दैनिक हजारौं गुनासाहरू आउँदा पनि कार्यान्वयन चाहिँ किन हुँदैनन् ? के सरकारले जनतालाई झुक्याउनका लागि मात्र हेल्लो सरकार बनाएको हो ? जवाफदेही किन हुँदैन ?
राजधानीको सडकको हालत हेर्दा जोकोही पनि निरास हुन्छन् । जताततै खाल्डाखुल्डी छ ।

सानो पानी पर्यो भने पनि सडक हिलाम्य हुन्छ । जनताले कहिलेसम्म यस्तो सास्ती भोग्ने ? पानीको हाहाकार छ । जमनादेखिको महत्वकांक्षी मेलम्ची खानेपानी योजना अलपत्र छ । जहिल्यै काम भइरहेको र सकिन लागेको समाचार मात्र आइरहन्छन् ।

ठेकेदारहरूको मनोमानी छ । ठेक्का लिएर समयमा काम सकाउँदैनन् । कमिसनको चलखेल गरेर बजेट पचाउनमा मात्र उद्दत देखिन्छन् ठेकेदारहरू । सरकार कानमा तेल हालेर बसेको छ । अनुगमन गर्ने नियमक निकाय मौन छ । यसले केही मानिसहरूलाई व्यक्तिगत लाभ त मिल्ला, तर लाखौं जनताले के पाउने ? दुःख र सास्ती शिवाय ।

यति मात्र होइन, व्यापारीहरूको मनोमानी छ । दैनिक उपभोग्य वस्तुहरूको भाउ आकाशिएको छ । १२ रुपैयाँ प्रति केजी किसानबाट खरिद गरेको टमाटर ८० रुपैयाँमा उपभोक्ताले किनेर खान परेको छ । कालोबजारी उत्तिकै छ । हरेक पाइलामा ठगिन्छन् जनताहरू ।

हालसालै पनि दूधमा पाउडर मिसाएर बेचिरहेको फेला पर्यो । तर खोई त कारबाही ? उनी किन कानुनभन्दा माथि छन् बिचौलिया, दलाल र कालोबजारियाहरू ? भूकम्पले क्षत्विक्षत् भएको धरहरा, पूरातात्विक महत्वका संरचनाहरू यत्तिकै लथालिंग छन् । त्यसबाट उब्जिएको धुलो र फोहरले जनताको स्वास्थमा फुटबल खेलिरहेको छ ।

अस्ति रानीपोखरीको पुनर्निर्माणको सवालमा पनि विभिन्न मतभेद्हरू देखिए । त्यसको कारण केही थिएन, कमिसनमा नमिल्नु नै प्रमुख कारण थियो । काठमाडौं महानगरपालिकका मेयर र उपमेयरबीच त्यसबारेमा भएको विवाद सार्वजनिक रूपमै छताछुल्ल भयो ।

यसले पनि देखाउँछ कि नेपाली राजनीतिज्ञहरू कस्तो किसिमको समृद्धिको नारा बोकेर चुनावमा उत्रन्छन् र जितेपछि उनीहरूले गर्ने काम कस्तो हुन्छ । अबको आउने दिनमा दुई तिहाई बहुमत पाएको यो सरकारले यस्ता कुराहरूलाई चिरेर मुलुकको समृद्धिको गोरेटोमा हिँडाउनुपर्छ ।

नेपालभन्दा पछि विकासको बाटोमा अग्रसर भएको दक्षिण एसियन मुलुकहरू श्रीलंका, माल्दिभ्स, भुटान कहाँ पुगिसके । हामी भने अझैसम्म पनि स्थीर सरकार पाउँदा पनि दशैं मनाएजसरी खुसी हुनुपर्छ ।

यसको कारण के हो त ? यसको एउटै कारण हो, हाम्रा राजनीतिज्ञहरूले राजनीति आफ्नो लागि गर्छन् । आफन्तका लागि गर्छन् । जबसम्म यस्तो किसिमको लगत संस्कृति जीवित रहन्छ, तबसम्म हामी अँध्यारोमै बाँच्न विवश हुन्छौं । यसलाई चिर्नका लागि र मुलुकलाई समृद्धिको बाटोमा डो¥याउनका लागि अब सरकारले कानुन मिच्नेलाई निर्मम तरिकाले कारबाही गरेर र विकासको सुन्दर खाका कोरेर अगाडि बढ्न जरुरी छ । आउने पुस्ताले पनि हामीले जसरी दुःख र सास्ती भोग्न नपरोस् । यो हरेक नेपालीको चाहना हो । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार