• होमपेज
  • प्रविधि
  • नेपाल टेलिकमको फोरजी टेण्डर मुल्यांकन अन्तिम चरणमा

नेपाल टेलिकमको फोरजी टेण्डर मुल्यांकन अन्तिम चरणमा

  • आइतवार, बैशाख २३, २०७५
नेपाल टेलिकमको फोरजी टेण्डर मुल्यांकन अन्तिम चरणमा

नेपाल टेलिकमका ग्राहक करिब २ करोड जना पुगेका छन् । टेलिकमले प्रकाशित गरेको पछिल्लो (२०७४ फागुन महिनाको) एमआईएस रिपोर्ट अनुसार टेलिकमको ग्राहक आधार १ करोड ९१ लाख १३ हजार ७ सय ८७ पुगेको हो ।

फागुन मसान्तसम्म कम्पनीको डाटा सेवाका प्रयोगकर्ता ९९ लाख ५४ हजार ७ सय २२ पुगेका छन् । डाटा सेवाका लागि कम्पनीले हाल ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा मासिक न्यूनतम ५ सय ८३ रुपैयाँ सम्मको मूल्यमा उपलब्ध गराइरहेको छ । चालु आर्थिक वर्षको फागुन महिनासम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार १८.१४ प्रतिशतले वृद्धि भएको हो ।

यसैगरी कम्पनीले मुलुकमै पहिलोपटक गत वर्ष देखि शुरु गरेको फोरजी सेवालाई देशैभर विस्तार गर्नका लागि आह्वान गरेको टेण्डर हाल मूल्याङ्कनको अन्तिम चरणमा पुगेको जनाएको छ । दूरसञ्चार सेवाको बजार प्रतिस्पर्धात्मक भइरहेको बर्तमान अवस्थामा कम्पनीले छिटोभन्दा छिटो फोरजी मोबाइल सेवालाई मुलुकभर विस्तार गर्न प्राथमिकताका साथ कार्य गरिरहेको कम्पनीले जनाएको छ ।

फोरजी मोबाइल सेवा कम्पनीको भविष्यसँग गाँसिएको विषय मात्र नभई मुलुककै आधुनिक दूरसञ्चार सेवाको विकासमा महत्वपूर्ण फड्को मार्ने विषयसमेत भएकाले कम्पनीले फोरजी सेवासम्बन्धी कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ । यससम्बन्धी सम्पूर्ण कार्यहरु कम्पनीको आर्थिक विनियमावली तथा सार्वजनिक खरिद ऐनको दायराभित्र रहेर नै भइरहेका छन् ।

टेलिकमका अनुसार कम्पनीको एक करोड जीएसएम आयोजना अन्तर्गत दुई प्याकेज मध्ये काठमाडौं उपत्यका तथा पश्चिमाञ्चल क्षेत्रको ४८ लाख क्षमताको नेटवर्क विस्तार कार्य सतप्रतिशत सम्पन्न भइसकेको र अर्को प्याकेज अन्तर्गत मध्यमाञ्चल क्षेत्र (काठमाडौं उपत्यका वाहेक), पूर्वाञ्चल क्षेत्र, मध्य पश्चिमाञ्चल क्षेत्र तथा सुदूर पश्चिमाञ्चल क्षेत्रको ५२ लाख क्षमताको नेटवर्क विस्तार कार्य ७२ प्रतिशत सम्पन्न भई बाँकी विस्तार कार्य तदारुकताका साथ जारी रहेको छ ।

आयोजना अन्तर्गत मुलुकका अति विकट तथा दुर्गम स्थानहरु मुगुको रारा क्षेत्र, सिन्धुपाल्चोकको चेपेडाँडा, बाग्लुङको तमान खोला, दोलखाको गौरीशंकर, च्छोरोल्पा क्षेत्रको बेदिङ, धादिङको लापा र तिप्लिङ लगायत गोर्खा, मनाङ र मुस्ताङ जिल्लाका अति विकट स्थानमा समेत टेलिकमले मोबाइल सेवा विस्तार गरिसकेको छ ।

प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै ती स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।
टेलिकमका अनुसार मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने कार्यका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग भएको सम्झौता पश्चात् आवश्यक सम्पूर्ण सर्भे कार्य सम्पन्न गरी कम्पनीले माइक्रोवेभ ट्रान्समिसन तथा टावरको छुट्टाछुट्टै बोलपत्र आह्वान गरी टावर निर्माण कार्य सुरु भइसकेको र माइक्रोवेभ ट्रान्समिसनको बोलपत्र मूल्यांकनको अन्तिम चरणमा रहेको छ ।

साथै प्रदेश १, २ र ३ मा अप्टिकल फाइबर बिछ्याउने कार्यको तीन वटा छुट्टाछुट्टै बोलपत्रहरु, ‘हाई क्यापसिटि डीडब्दूडीएम’ उपकरण र राउटर उपकरणको छुट्टाछुट्टै बोलपत्रहरु तयार गरी अन्तिम स्वीकृतिका लागि सञ्चालक समितिमा पेश भइसकेको टेलिकमले जनाएको छ ।

आइतबार एक विज्ञप्ती जारी गर्दै टेलिकमले हाल उपभोक्ताको रुचि डाटामार्फत प्राप्त हुने सेवातर्फ आकर्षित हुदै गएकोले विश्वव्यापी रुपमा नै अन्तर्राष्ट्रिय भ्वाइस सेवाबाट हुने आम्दानी घट्दै गएको उल्लेख गरेको छ । पीडब्लूसी नामक कम्पनीले गरेको अध्ययन प्रतिवेदन अनुसार सन् २०१७ मा अन्तर्राष्ट्रिय कलको आम्दानी विश्वव्यापी रुपमा करिब २० प्रतिशतले घटेको छ ।

नेपालको सन्दर्भमा नेपाल टेलिकम र अन्य सेवा प्रदायकको पनि २० प्रतिशतकै हाराहारीमा सो आम्दानी घटेको सेवा प्रदायकहरुको वार्षिक प्रतिवेदनबाट देखिन्छ । नेपाल टेलिकमले आम्दानी बृद्धिका लागि अन्य विभिन्न भ्यालु एडेड सेवाहरु (सीआरबीटी पुनः सञ्चालन, वोउ टाइम, म्युजिक नेपाल एप्स, नमस्ते क्रेडिट आदि) सञ्चालनमा ल्याइसकेको तथा थप सेवाहरु सञ्चालनमा ल्याई राजस्व वृद्धिको प्रयास गरिरहेको छ ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको पछिल्लो (माघ महिनाको) एमआईएस रिपोर्ट अनुसार नेपाल टेलिकमको भ्वाइस तर्फको बजार हिस्सा पहिले भन्दा बढ्दै गएको देखिन्छ । प्राधिकरणले प्रकाशित गरेको २०७४ माघको रिपोर्ट अनुसार कम्पनीको भ्वाइस तर्फको बजार हिस्सा क्रमिक रुपमा वृद्धि हुँदै हाल ५० प्रतिशत पुगेको छ ।

यो भन्दा पहिले २०७२ असोजमा ४६, कात्तिकमा ४७ र माघमा ४८ तथा २०७३ पुसमा ४९ प्रतिशत मात्र बजार हिस्सा रहेको थियो । प्राधिकरणले प्रकाशित गरेको रिपोर्टमा कम्पनीको हिस्सा ब्रोडब्यान्ड डाटामा कम देखिए तापनि कम्पनीका जीएसएम टुजी ग्राहक ५२ लाख ४ हजार ९ सय ३६ लाई समेत आधार मान्दा डाटा तर्फ कम्पनीको बजार हिस्सा अग्रस्थानमै रहेको छ ।

कम्पनीले सेवा विस्तारका लागि आवश्यक उपकरण जडान गर्ने कार्यलाई पनि तीव्रता दिएको छ । आर्थिक वर्ष २०७३÷७४ मा मात्रै १,४१५ नयाँ बीटीएस टावर सञ्चालन र ६८९ पुरानो बीटीएस टावर प्रतिस्थापन तथा ३८७ फोरजी बीटीएस समेत गरी कुल २,४९१ बीटीएस सञ्चालन भएका छन् ।

आर्थिक वर्ष २०७४÷७५ को अन्त्य सम्ममा थप २३५ स्थानमा बीटीएस सञ्चालन गर्ने लक्ष्य छ । सो मध्ये ४० बीटीएस सिराहा र सप्तरीमा मात्रै सञ्चालन गर्ने लक्ष्य रहेकोमा १२ वटा सञ्चालनमा आइसकेका छन् भने ३ वटा सञ्चालनको क्रममा रहेका छन् । ७ वटा बीटीएस जडानको क्रममा रहेका छन् ।

कम्पनीले टीडीएम प्रविधिमा आधारित आधारभूत टेलिफोन सेवालाई अत्याधुनिक आईपी प्रविधिको प्रणालीबाट विस्थापित गर्ने आयोजना आर्थिक वर्ष २०७३÷७४ मा कार्यान्वयन आरम्भ भएकोमा यस अवधिमा पुराना प्रविधिका एक्सचेन्जहरुलाई आईएमएस प्रविधिको उपकरणले प्रतिस्थापन गरी सबै ग्राहकलाई डाटा सेवा उपलब्ध गर्ने क्षमता सहित १ लाख २७ हजार ७ सय ४० लाइन सञ्चालनमा ल्याइसकिएको छ । प्रतिस्थापन कार्य हाल पनि चलिरहेको छ ।

यसै आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार सबै सेवाहरुको बिलिङ प्रणालीलाई एकीकृत रुपमा सीआरटीबीमा स्तरोन्नति गरिएको टेलिकमले जनाएको छ । साथै भूकम्पबाट अति प्रभावित चार जिल्लाहरु काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका ४ सय ४ स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको उल्लखे गरेको छ ।

कम्पनीले ती स्थानहरुमा वाइम्याक्स, इभीडीओ तथा थ्रिजी मार्फत इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो । नेपाल दूरसञ्चार प्राधिकरणसँग भएको सम्झौता बमोजिम यी चार जिल्लाका थप विभिन्न स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याउनका लागि प्राथमिकताका साथ आवश्यक कार्य भइरहेको छ ।

यस आर्थिक वर्षको हाल सम्मको डाटा सेवाको राजस्वको प्रवृत्ति हेर्दा आर्थिक वर्षको अन्त्यसम्ममा अघिल्लो आर्थिक वर्षको भन्दा वृद्धि हुने देखिएको छ । कम्पनीको सबैभन्दा ठूलो ग्राहक आधार रहेको जीएसएम मोबाइल सेवाको राजस्व पनि वृद्धि हुने देखिएको छ ।

कम्पनीका सेवा सुविधा सम्बन्धमा आम उपभोक्तालाई सहज जानकारी दिन राष्ट्रिय दैनिक पत्रिका, अनलाइन सञ्चार माध्यम, राष्ट्रिय तथा स्थानीय (विभिन्न भाषामा) एफएम रेडियो र टीभीका साथै कम्पनीको वेबसाइट एवं फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमार्फत समेत जानकारी प्रदान गर्ने कार्यलाई निरन्तरता दिइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि