• होमपेज
  • समाचार
  • चितवनमै पहिलो पटक ‘नारायणी साहित्य, कला, संगीत महोत्सव–२०७४’ हुँदै

चितवनमै पहिलो पटक ‘नारायणी साहित्य, कला, संगीत महोत्सव–२०७४’ हुँदै

  • मङ्लबार, अशोज ३१, २०७४
चितवनमै पहिलो पटक ‘नारायणी साहित्य, कला, संगीत महोत्सव–२०७४’ हुँदै

तुलमान गुरूङ,

चितवन, असोज ३१–

विगत केही वर्षदेखि चितवन पनि मेला महोत्सवको खानी जस्तै बन्न थालेको छ । हरेक वर्ष विभिन्न खालको मेला महोत्सव यहाँ भइरहन्छन् । यही सिलसिलामा यसवर्ष चितवनमा एक फरक खालको महोत्सव हुने भएको छ । चितवनमै पहिलो पटक हुन लागेको महोत्सवको लागि आयोजकले आजैदेखि तयारी थालिसकेको छ ।

आउँदो फागुन अन्तिम साता अथवा चैत महिनाको पहिलो साता महोत्सव आयोजना गर्ने गरी यहाँका साहित्यकारहरूले तयारी थालिसकेका छन् । यो महोत्सव भने कुनै संघसंस्था नभई चितवनका साहित्यकारहरूले आयोजना गर्न लागिएको हो । नेपाली साहित्य क्षेत्रका विभिन्न विधाका साथै कला र संगीतको उन्नयनको लागि साहित्यकारहरूले ‘नारायणी साहित्य, कला, संगीत महोत्सव–२०७४’ आयोजना गर्न लागेका हुन् ।

२०७० सालबाट अनौपचारिक छलफल भइरहे पनि २०७२ सालदेखि भने महोत्सवको लागि चितवनका साहित्यकारहरूको अभियान नै चलाएका थिए । जसको फलस्वरूप २०७४ सालमा आएर महोत्सवले मूर्त रूप लिन थालेको हो । यस विषयमा चितवनका साहित्यकारहरू तीव्ररूपमा तयारीमा जुटिसकेका छन् । दशैँअघि गैँडाकोटमा बसेको पहिलो बैठक र दशैँपछि गत शनिबार भरतपुरमा बसेको बैठकले महोत्सव सम्पन्न गर्नका लागि कवि एवम् निबन्धकार भूपिन खड्काको संयोजकत्वमा नौ सदस्यीय महोत्सव कार्य सम्पादन समिति पनि बनाइसकेको छ । समिति सदस्यहरूमा एलवी क्षेत्री, प्रभाकर पण्डित, डा बालकृष्ण थापा, सरिता तिवारी, सहनलाल प्रधान, ईश्वर कँडेल, रामकुमार तिवारी र सुमन घिमिरे रहेका छन् । यस्तै विभिन्न शीर्षकमा १५ उप–समिति समेत तोकिसकेको छ । उप–समिति संयोजकहरू केही दिनभित्रै सार्वजनिक गरिने कार्य सम्पादन समिति संयोजक भूपिन खड्काले जानकारी दिए ।

त्यसो त नेपाली साहित्य क्षेत्रको उन्नयनका लागि चितवन बाहिर भने विभिन्न जिल्लाहरूमा यस्तो खालको कार्यक्रम हुँदै आइरहेको छ । चितवनमा पनि बाहिरी जिल्लाका लेखक तथा साहित्यकारलाई पाठकसँग नजिक बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न खोजिएको संयोजक खड्काले बताए । ‘त्यति मात्रै होइन, हामीले आयोजना गर्न लागिएको यो महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन विकासका लागि पनि मह¤वपूर्ण भूमिका खेल्न सक्छ,’ उनले भने, ‘किनकी चितवनमा साहित्यिक महोत्सव समयको माग र आवश्यकता पनि हो ।’ महोत्सवमा नेपालसहित युरोप र अमेरिकाबाट पनि साहित्य, कला र संगीत क्षेत्रका व्यक्तित्वका साथै कला तथा साहित्यमा रूचि राख्ने व्यक्तित्वलाई उपस्थिति गराउने उनले बताए ।

चितवन जिल्ला साहित्यको लागि उर्वर भूमि भएकोले यहाँको साहित्यिक माहौल झनै बढ्दै गएको साहित्यकारहरू बताउँछन् । जसले गर्दा लेखक तथा पाठकहरूमा सिर्जनशील संवाद स्थापना गर्नको लागि पनि यो महोत्सव फलदायी हुने अपेक्षा लिएको छ । यसका लागि विभिन्न विषयमा विज्ञता हासिल गरेका र साहित्य, कला र संगीतलगायतका विधामा सक्रिय रहेका प्रभुत्व व्यक्तिहरूलाई महोत्सवमा सहभागी गराउनेसमेत आयोजकले तयारी गरेको छ । यो महोत्सव चितवनका सर्जकहरूको साझा सपना भएकोले महोत्सव गर्न लागिएको समितिकी सदस्य एवम् कवि सरिता तिवारीले बताइन् । उनकाअनुसार पहिलो चरणको तयारी सकिएकोले महोत्सवलाई वैधानिकता दिनका लागि साहित्यकारहरू अहिले प्रशासनिक कामका लागि व्यस्त छन् ।

अर्कोतर्फ महोत्सव सम्पन्न गर्नका लागि प्रायोजक खोज्ने काम भइरहेको समितिका सदस्य एवम् गजलकार प्रभाकर पण्डितले बताए । उनका अनुसार विभिन्न संघसंस्था महोत्सवको लागि सहयोग गर्ने तयारीमा रहेका छन् । ‘हामीले तीनदिने महोत्सव सञ्चालन गर्नका लागेका हौँ । जसका लागि करिब २० लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरेका छौँ,’ उनले भने, ‘जसका लागि प्रायोजक खोज्ने काम भइरहेको छ ।’ लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टुले साहित्य कला र संस्कृतिको प्रवद्र्धनको लागि एक लाख रूपैयाँभन्दा बढी रकम उपलब्ध गराउने पक्का भइसकेको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टुको साहित्य, कला र संस्कृति विभाग प्रमुखसमेत रहेका गजलकार पण्डितले जानकारी दिए ।

यस्तै सौराहका पर्यटन व्यवसायीहरूको तर्फबाट पनि महोत्सव सफल पार्नका लागि एक लाख ५० हजार रूपैयाँ उपलब्ध गराउने पक्का भइसकेको पर्यटन व्यवसायी सुमन घिमिरेको भनाइ उद्धृत गर्दै कार्यसम्पादन समिति सदस्य पण्डितले जनकारी दिए । अन्य संघसंस्थाहरूले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको उनले बताए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि